कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अछाममा अटो रिक्सा

मेनुका ढुंगाना

अछाम — तुर्माखाद गाउँपालिका–३ भैरवस्थानका ३४ वर्षीय चन्द्रबहादुर बुढा जिल्लामै अटो रिक्सा चलाउन थालेका छन् । उनको अटो रिक्साले स्थानीयलाई यातायात सुविधा त दिएकै छ, बेलाबेला एम्बुलेन्सको समेत काम गर्दै आएको छ ।

अछाममा अटो रिक्सा

भारतमा सोचेजस्तो काम नपाएपछि दिक्क भएर फर्केका उनले जिल्लामै पहिलोपटक अटो रिक्सा भित्र्याएका हुन् । जेठयता सदरमुकाम मंगलसैनदेखि ठूलासैन, ठाटिखाद, गैरिटाड र कैलाश खोला रुटमा उनको अटो चल्छ । ‘सडक राम्रो भएका प्रत्येक गाउँ पुगेर आपतकालीन अवस्थाका बिरामी, सुत्केरी, वृद्ध, बालबालिकालाई अस्पताल ल्याउन दिनरात नभनी कुदेको छु,’ बुढाले भने, ‘कमाइसँगै समाज सेवा पनि गरेको छु ।’


१२ लाख ८० हजारमा दुइटा अटो रिक्सा किनेका बुढा मासिक ४५ हजारसम्म कमाउन थालेका छन् । ‘तुर्माखाद नेपालगन्ज र सुर्खेतसँग नजिक छ, अछाममा अटो ल्याउनुपर्छ भन्ने प्रभाव पनि त्यतैबाट परेको हो,’ उनले भने । विदेशमा जस्तोसुकै काम गर्न तयार हुने युवा स्वदेशमा भने हिचकिचाउने गरेको बुढाको बुझाइ छ । अटो रिक्सा व्यवसाय गर्न चाहने अरूलाई पनि उनी प्रेरणा दिन थालेका छन् । ‘स्थानीय तहले सहकार्य गरे अरू अटो थपेर युवालाई आत्मनिर्भर बनाउन चाहन्छु,’ उनले भने ।


महिलालाई राहत
लामो यात्रा गर्दा मात्रै गाडी चढ्न पाउने यहाँका महिला छोटो दूरीमा अटो रिक्सा चल्दा निकै खुसी छन् । ‘चामल, नुनतेलजस्ता घरायसी सामान ल्याउन मंगलसैन बजारै पुग्नुपर्छ,’ मंगलसैन–६ की ६७ वर्षीया रत्ना विकले भनिन्, ‘भारी बोकेर उकालो बाटो वर्षौं हिँडियो । अहिले घरसम्मै अटोमा जान पाउँदा खुसी लागेको छ ।’ बुढाले अटो जान सक्नेसम्मका स्थानमा आफ्नो मोबाइल नम्बर छाडेका छन् । फोन आउनासाथ पुगिहाल्छन् । आपतकालीन अवस्थामा बिरामीको उद्धार गर्ने व्यक्ति बनेका छन् उनी । ‘ठूलासैनबाट प्रसूति गराउन मंगलसैन अस्पताल ल्याउनुपर्ने थियो’ मंगलसैन–७ का उपेन्द्र जैशीले भने, ‘गाडी पाइएन, अटो चालकलाई फोन गर्दा तुरुन्त पुगे, मेरी श्रीमतीको ज्यान बच्यो ।’


२०२४ चैत २४ गते मंगलसैनमा पहिलोपटक गाडी पुगे पनि अहिलेसम्म स्थानीयले पूर्णरूपमा यातायात सेवा पाउन सकेनन् । त्यति बेला पूर्वी अछामको तुर्माखाँद–जंगलघाट–कालिमोरादेखि मंगलसैनसम्म सडक विस्तार गर्न स्थानीयले श्रमदान गरेका थिए । अहिले मंगलसैन जिल्लाका विभिन्न ग्रामीण सडकसँग जोडिन थालेको छ । मध्यपहाडी लोकमार्ग पनि अछाम भएरै निर्माण भइरहेको छ ।


सडक विस्तारसँगै आपतविपतका बखत सदरमुकाम आसपासका क्षेत्रमा सवारीसाधन उपलब्ध हुन थालेको छ । तिनैमध्येको हो चन्द्रबहादुर बुढाको अटो । घरायसी सामान किन्न पुरुषकै भर पर्ने महिलाहरू अटो चल्न थालेपछि आफैं किनमेलका लागि मंगलसैन पुग्न थालेका छन् । ‘बिरामी हुँदा अस्पताल जानेदेखि आफूलाई चाहिने सामान किन्न मंगलसेन पुग्न अटोले सजिलो बनायो,’ ६७ वर्षीया रत्नाले भनिन् ।

प्रकाशित : श्रावण १८, २०७५ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?