कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

घनश्याम खड्का

म्याग्दी — बेनी–जोमसोम सडकको रघुगंगा गाउँपालिका २ र ३ वडामा पर्ने चमेरे र बैंसरीमा पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । रघुगंगा गाउँपालिका, २ बैंसरीमा पहिरोले ३३/११ केभिए हाईटेन्सन लाईनका खम्बा समेत खसालेकोले जिल्लाको उत्तरी भेगमा विद्युत आपूर्ति पनि बन्द भएको छ ।

पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध
सोही गाउँपालिकाको चमेरेमा पनि माथीबाट झरेको लेदोको थुप्रोका कारण सवारी अवरुद्ध छ ।

यसैगरी जिल्लाको पश्चिम भेगका मंगला, मालिका र धौलागिरी गाउँपालिका हुँदै ढोरपाटन जोड्ने बेनी–दरवाङ सडकमा पनि पहिरोले यातायात अवरुद्ध छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमास्थ फापरखेत र मंगला गापाको लाम्पाटा स्थित सडकमा पहिरो झरेकोले यातायात अवरुद्ध भएको छ ।

‘जिल्लाका मुख्य सडक बेनी–जोमसोम र बेनी–दरवाङ्ग दुवै सडकमा पहिरोले यातायात अवरुद्ध भएको छ । पहिरो पन्छ्याउने प्रयास भएपनि झरी निरन्तर रहेकोले बाधा पुगेको छ,’ प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले भने, ‘देशभरीमै बाढीपहिरोको उच्च जोखिम क्षेत्रमा पर्ने भएकोले मनसुन नरोकिँदासम्म यी सडकमा दैनिक समस्या आई रहन्छ ।’

बेनी–जोमसोम सडकको गलेश्वर–तातोपानी खण्डको २० किमी खण्डमा पहिरोले खसालेका र कालीगण्डकी नदी कटानले पोल ढाल्न थालेपछि ३३/११ केभिए हाईटेन्सन लाईनका खम्बा ढलेर कतिबेला यात्रु वा यात्रुबाहक बसमा खस्ने त्रास बढेको छ ।

बेनी–जोमसोम–कोरला सडक विस्तारको काममा मापदण्ड भित्र परेका बिजुलीका ३३/११ केभिए हाईटेन्सन लाईनका खम्बा मात्र छोडेर सडक विस्तार गरिएकोले बर्खासँगै यी पोल ढलेका हुन् । बेनी–जोमसोम सडक विस्तार काम तिव्र भैरहेकोले तल्लो भाग सडकले खनेपछि पहिरो जाँदा सडक मापदण्डबाहिरका बिजुलीका पोलहरु ढल्दै सडकमा झरेका हुन् ।

बेनी–जोमसोम सडकमा बाढी पहिरोको जोखिम उच्च भएपछि प्रशासन कार्यालयले साँझ ६ बजेदेखी बिहान ६ बजेसम्म १२ घन्टा आपतकालिन अवस्थामा बाहेक यातायात संञ्चालनमा रोक लगाएको छ ।

प्रकाशित : श्रावण २०, २०७५ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?