कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तोकिएन भर्नाको मापदण्ड

कक्षा १२ को नतिजा गत साता प्रकाशित भइसकेको तर विश्वविद्यालयहरूले कति जीपीए ल्याउनेलाई भर्ना लिने भन्ने मापदण्ड नबनाउँदा विद्यार्थी अन्योलमा छन् । 
मकर श्रेष्ठ

काठमाडौँ — ललितपुरको एक विद्यालयबाट १२ कक्षा पास गरेका विद्यार्थीको फिजिक्स विषयको सैद्धान्तिकमा डी प्लस आयो ।

तोकिएन भर्नाको मापदण्ड

प्रयोगात्मकमा ए प्लस । उनी इन्जिनियरिङ अध्ययन गर्न चाहन्छन् ।


‘अब मैले इन्जिनियरिङ पढ्न पाउँछु कि पाउँदिनँ ?’ उनले आफन्त र शिक्षकलाई बारम्बार सोधे । तर, कसैले प्रस्ट जवाफ दिन सकेनन् । भक्तपुरको सामुदायिक विद्यालयकी छात्राले अंग्रेजीमा डी प्लस ल्याइन् । अन्य विषयमा सीभन्दा बढी ग्रेड छ ।


समग्रमा जीपीए २.८६ छ । अब उनी उच्च शिक्षा अध्ययन गर्न पाउने–नपाउने अन्योलमा छिन् । अरू विषयमा सीभन्दा बढी र एउटामा मात्रै डी प्लस वा त्योभन्दा कम भए ग्रेड वृद्धि परीक्षा दिन सकिन्छ ।


अंग्रेजीमा डी प्लस ल्याउँदैमा उच्च शिक्षा अध्ययन गर्न पाइने भए उनी ग्रेड वृद्धि परीक्षा नदिन चाहन्छिन् ।


राष्ट्रिय परीक्षा बोर्डले बिहीबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । तर, विश्वविद्यालयहरूले समग्रमा कति जीपीए ल्याउनेलाई भर्ना लिने भन्ने निर्णय नगर्दा विद्यार्थी अन्योलमा छन् ।


सबभन्दा बढी विद्यार्थी भर्ना हुने त्रिभुवन विश्वविद्यालयले समेत भर्ना आधार तय गरेको छैन । ‘यस विषयमा निर्णय हुन बाँकी छ,’ त्रिविकी रेक्टर सुधा त्रिपाठीले भनिन्, ‘हाम्रोमा इन्ट्रान्स दिँदा मेरिटका आधारमा भर्ना हुन्छन् । कति जीपीएसम्मलाई भर्ना लिने भन्नेचाहिँ टुंगिएको छैन ।’


१२ कक्षा उत्तीर्ण ५० प्रतिशत बढी विद्यार्थी त्रिविमा भर्ना हुने गरेका छन् । बोर्डका अनुसार नियमिततर्फ मात्रै २ लाख ९९ हजार विद्यार्थी उत्तीर्ण भएका छन् भने आंशिकतर्फ ४१ हजार । बोर्डले यस वर्ष सबै समूहको नतिजा एकैपटक सार्वजनिक गरेको छ ।


भर्ना आधार तय गरेका विश्वविद्यालयले पनि समग्रमा ग्रेड निर्धारण गरेका छन् । कक्षा ११ र १२ को समग्र जीपीए र ग्रेडका आधारमा निर्धारण गर्नुपर्ने हुन्छ ।


बोर्डले नतिजामा जीपीए निर्धारण गरेको भए पनि विश्वविद्यालयले समग्रमा यति ग्रेड ल्याएको हुनुपर्ने भनी सूचना सार्वजनिक गरेका छन् ।


पोखरा विश्वविद्यालयले समग्रमा सी ग्रेड ल्याएको हुनुपर्ने प्रावधान राखेको छ । पूर्वाञ्चल विश्वविद्यालयले सी प्लस ग्रेड ल्याएको हुनुपर्ने जनाएको छ । ५० प्रतिशतभन्दा बढी नम्बर ल्याउने विद्यार्थीको मात्रै सी प्लस मानिन्छ ।


बोर्डले सार्वजनिक गर्ने नतिजामा समग्र ग्रेड उल्लेख हुँदैन । तर, विश्वविद्यालयले ग्रेड तोक्दा थप अन्योल सिर्जना भएको हो । विद्यार्थीको ग्रेड सिटमा विषयगत ग्रेड मात्रै हुन्छ ।


सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी उपकुलपति भूषण श्रेष्ठले ११ र १२ मा कति जीपीए ल्याउने विद्यार्थी विश्वविद्यालयमा भर्ना लिने भन्ने निर्णय हुन बाँकी रहेको बताइन् ।


‘डिन कार्यालयले गृहकार्य गरिरहेको छ,’ उनले भनिन् । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार महेन्द्रकुमार मल्लले पनि निर्णय हुन बाँकी रहेको बताए ।


‘तीन/चार दिनभित्रै यो विषय टुंग्याउँछौँ ’ उनले भने । वैशाखमा परीक्षा हुनुअघि नै बोर्डले विश्वविद्यालयका पदाधिकारी बोलाएर बेलैमा भर्ना आधार तय गर्न आग्रह गरेको थियो ।

प्रकाशित : श्रावण २०, २०७५ २०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?