कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिन्दीमा भाषण गर्दै दाहालले भने, ‘जन्मसिद्धका सन्तानले नागरिकता नपाउनु अजुबा’

पवन यादव

निजगढ — नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जन्मसिद्ध नागरिकता पाएकाहरुको सन्तानले त्यही आधारमा नागरिकता नपाउनु ‘अजुबा’(आश्चर्य) भएको बताएका छन् ।

हिन्दीमा भाषण गर्दै दाहालले भने, ‘जन्मसिद्धका सन्तानले नागरिकता नपाउनु अजुबा’

‘जसको आमाबुवा जन्मसिद्ध नागरिक हुन् तिनका छोराछोरीलाई नागरिकता नपाउनु अजुबाजस्तै भएको छ,’ नेता दाहालले बाराको कलैया–२३ को भतौडामा आइतबार आयोजित कार्यक्रममा भने, ‘यसलाई अल्झाउनु राम्रो कुरा होइन, यो कुनै मुद्दा पनि होइन् ।’


नेता दाहालले बरेवा बोरिङ–सिसहनिया–पतौरा र ड्रेन बाईपास–लहेरवाटोला लगायतका गरी ८ वटा सडकको आइतबार बारामा शिलान्यास गर्दा हिन्दी भाषामै भाषण गरेका थिए । ‘जन्मसिद्ध नागरिकता पाइसकेकाहरुको सन्तानले नागरिकता पाउनै पर्छ,’ उनले भने, ‘उनीहरुले नागरिकता नपाउने कुरै छैन ।’ जन्मसिद्ध नागरिकता पाइसकेकाहरुको सन्तानले नागरिकता नपाउने दुनियाँमा कहीं यस्तो नभएको उनले बताए ।

एक साताअघि प्रधानमन्त्री, गृहमन्त्री र म स्वयम् सँगै बसेर गृहमन्त्रीलाई तुरुन्तै प्रक्रिया सुरु गर्न र नागरिकता बन्न नदिन वाहियात अड्चनलाई फुकाउन भनिसकेको उनले जानकारी दिए । नागरिकता उपलब्ध गराउन गृहमन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको विश्वास उनले व्यक्त गरे । नागरिकताको समस्याको समाधान यो सरकारले गर्छ । यसमा कुनै दुविधा नरहेको उनले प्रस्ट पारे ।


पहिलो पटक स्थानीय तहको माध्यमले जनताको अधिकार जनताको घरदैलोमा पुगेको उनले दाबी गरे । ‘सिंहदरबार जनताको घरघरमै पुगेको छ,’ उनले भने, ‘स्थानीय तहमै न्यायपालिका, व्यवस्थापिकाको भूमिका रहने छ ।’ नेपालको इतिहासमा पहिलोपटक शक्तिसम्पन्न स्थानीय सरकारको स्थापना भइसकेको उनले स्पष्ट पारे ।


मधेस आन्दोलनको क्रममा मधेसी दलले अघि सारेको मधेस मुद्दाको मागलाई संशोधनमार्फत संविधानमा समावेश गर्न सरकार अघि बढिसकेको उनले जानकारी दिए । ‘संविधान संशोधनको प्रक्रिया अगाडि बढाइसकेका छौं,’ उनले भने, ‘यसमा शंका गर्ने अवस्था रहेन अब ।’ अहिलेको संविधानलाई हामीले पूर्ण संविधान मानेकै छैनौं । यो संविधान अगाडि बढेसँगै आवश्यकता अनुसार संशोधन भइरहने उनले बताए ।


कार्यक्रममा संघीय समाजवादी फोरमका सांसद रामबाबु यादव, माओवादीकी महिला नेता एवम् प्रदेश सांसद ज्वाला साह लगायतले कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको मुख्य प्राथमिकता विकास निर्माण रहेको बताए ।


यसैगरी बाराको विश्रामपुर गाउँपालिकाको गाउँसभाबाट पारित ऐन नियम सार्वजनिकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संविधान परिमार्जनको आवश्यकता रहेको बताए । संविधान एक परिवर्तनशील दस्तावेज हो, यसलाई समयानुकूल जनताको माग अनुसार यसलाई परिवर्तन गर्न सकिने उनले स्पष्ट पारे ।


मधेसको माग पूरा गर्न उपेन्द्र यादव, प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीच सहमति भएको बताउँदै राष्ट्रिय जनता पार्टीलाई विश्वासमा लिएर संविधान संशोधनको प्रक्रिया अघि बढाइने जानकारी उनले दिए । संविधान संशोधनका लागि राजपालाई विश्वासमा लिने प्रयास जारी रहेको उनले बताए ।


आफूले चाँडै नै भारत र चीन भ्रमण गरी विगतमा भएको सम्झौताहरु कार्यान्वयनका लागि पहल गर्ने आश्वासन पनि उनले दिए । हुलाकी सडक मधेसको जीवनरेखा भएको उनले बताए ।

प्रकाशित : श्रावण २०, २०७५ २१:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?