कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीयद्वारा नेपाली भूभागमा बाटो निर्माण

स्थानीय प्रशासनलाई समेत कुनै जानकारी छैन
भवानी भट्ट

कञ्चनपुर — माथिल्लो तहको सहमति भन्दै भारतीय पक्षले नेपाली भूभागसम्मै सडक निर्माणको काम सुरु गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रह्मदेव बजार नजिक टनकपुर बाँधको छेउमा उक्त सडक निर्माण भइरहेको हो । 

भारतीयद्वारा नेपाली भूभागमा बाटो निर्माण

भारतीय पक्षले ब्रह्मदेव बजारसम्मै सडक निर्माणको काम थालेको छ । साउन दोस्रो सातादेखि उक्त क्षेत्रमा डोजर लगाएर सडक सम्याउने काम सुरु गरिएको हो । टनकपुर ब्यारेजदेखि ब्रह्मदेव बजारसम्म १ हजार २५८ मिटर सडक निर्माणका लागि भारतको लोक निर्माण विभागले काम थालेको हो ।


निर्माण कम्पनीका इन्जिनियर सिपि शर्माको टोलीले सडक सम्याउने र सर्भेको काम गरिरहेको छ । उनका अनुसार टनकपुर बाँधको माथिल्लो र फेदीको सडक दुवै कालोपत्रे हुनेछ । टोलीले करिब डेढ सय मिटर नेपाली भूभागसम्मै सडक निर्माणको काम गरिरहेको छ । ‘यो हाइ लेभलको सहमति हो’ शर्माले भने, ‘त्यही अनुसार हामीले काम गरिरहेका हौं ।’


उक्त सडक निर्माणका लागि लोक निर्माण विभागले ५ करोड ८४ लाखमा ठेक्का दिएको भारतिय अखबार अमर उजालाले लेखेको छ । गत सातामात्रै भारत उत्तराखण्डको चम्पावत जिल्लाका डिएम सत्यनारायण पाण्डेयसहितको टोलीले निर्माणाधीन सडकको निरीक्षण गरेका थिए । ब्रह्मदेवका स्थानीयसमेत माथिल्लो सहमति भन्नेवित्तिक्कै अलमलमा परेका छन् । उनीहरु भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गस्ती गर्ने बाटो बनाउने काम भइरहेको हुन सक्ने आशंकामा छन् ।


नेपाली भूभागमै निर्माण भइरहेको सडकका विषयमा भने यहाँको स्थानीय प्रशासन र सुरक्षा निकायलाई भने कुनै जानकारी नै छैन । कुन सहमतिअनुसार कसले निर्माण गरिरहेको हो भन्ने विषयमा समेत जानकारी नभएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडाले बताए । उनले भारतीय पक्षले कुनै किसिमका समन्वय वा जानकारीबिना नै काम गरिरहेका बताए ।


‘हामीले तत्काल उक्त क्षेत्रमा भइरहेको काम रोक्न भनेका छौं’ प्रजिअ खडाले भने, ‘कुन सहमति हो कसले काम गरिरहेको हो यस विषयमा जानकारी आएपछि मात्रै काम गर्न भनेका छौं ।’ तर भारतीय पक्षले भने नियमित काम गरिरहेको स्थानीयले जनाएका छन् ।


भीमदत्त नगरपालिका वडा नं. ९ का अध्यक्ष राम नाथका अनुसार भारतीय पक्षले पुरानो सहमति भन्दै धमाधम काम गरिरहेको छ । यस विषयमा नगर कार्यपालिकाको बैठकमा समेत आफूले कुरा राखेको उनले जानकारी दिए । ‘यो भारतको हेपाहा प्रवृत्ति हो’ उनले भने, ‘माथिल्लो तहमा सहमति भएको हो भने पनि स्थानीयस्तरमा समन्वय गरेर मात्रै काम सुरु गरिनुपर्थ्यो, तर कुन सहमति हो कहिले भएको हो त्यसको कुनै पनि जानकारी छैन ।’


उक्त क्षेत्रमा भारतीय भूभागमा पर्ने टनकपुर लिंक रोड र महाकाली सिँचाई आयोजना तेस्रो चरणको नहर भारतीय पक्षले निर्माण गर्नुपर्ने महाकाली सन्धिमा उल्लेख छ । तर, अहिले निर्माण भइरहेको सडक भने लिंक रोडतर्फ नभई ब्रह्मदेव बजारतर्फ जोडिन्छ । उक्त क्षेत्रमा वर्षौं‌देखिको सीमा विवादसमेत यथावत छ । ३ नम्बर सीमा स्तम्भ महाकाली नदीको बीच भागमा रहेको नेपाली पक्षको दाबी छ । भारतीय पक्षले ब्रह्मदेव बजारको आधा भाग सीमामा पर्ने दाबी गर्दै आएको छ ।


‘यो विषय अव संयुक्त सर्भे टोलीले टुंग्याउने छ’ सशस्त्र प्रहरी बल ३५ नं. गण मझगाउँका गणपति एसपी विनोदराज श्रेष्ठले भने, ‘अहिले वर्षातको सिजन भएकाले सीमा सर्भेको काम रोकिएको छ, असोज/कार्तिकदेखि फेरि सुरु हुनेछ ।’ ब्रह्मदेवमा निर्माण भइरहेको सडकका विषयमा सशस्त्र प्रहरीसँग पनि कुनै समन्वय र जानकारी नभएको एसपी श्रेष्ठले बताए ।

प्रकाशित : श्रावण २०, २०७५ २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?