चुडियो एउटा कोपिला

स्वरूप आचार्य

काठमाडौँ — पूरानो सिनामंगल-३२, खहरेस्थित हाईल्याण्ड ईंग्लिस स्कुल सोमबार अन्य दिनभन्दा एक घण्टाअगाडि छुट्टी भइसकेको थियो ।

अपहरणपछि हत्या गरिएका निशान खड्काको शव । तस्बिरः स्वरुप आचार्य

केही विद्यार्थी छिटो स्कुल छुट्टी भएकोमा खुशी हुँदै घर लम्किरहेका थिए। केही भने रुन्चे र आतंकित अनुहार बनाएर घर जाने कि स्कुलमै बस्ने दोधारमा देखिन्थे। सहपाठी निशान खडकालाई के भएको हो भन्ने जिज्ञासा उनीहरुको अनुहारमा झल्किन्थ्यो ।

Yamaha

अरु दिन ४ बजे छुट्टी हुने स्कुल सोमबार ३ बजे नै बिदा गरिएकाले उनीहरुको मनमा अनेक शंका–उपशंका थियो। स्कुल ग्राउण्डमा पनि शिक्षक तथा शिक्षिकाहरु निन्याउरो अनुहार बनाएर सत्यतथ्य थाहा पाउन प्रतिक्षारत देखिन्थे। उनीहरु आफ्नो मोबाइलको स्क्रिनमा फ्ल्यास भइरहेको ब्रेकिङ न्यूज सही हो वा होइन खुट्याउन व्यस्त थिए। एक छेउमा स्कुलका प्रिन्सिपल प्रल्हाद खनाल आफ्ना एक शिक्षकसँग घटनाबारे छलफल गर्दै थिए।

मुसलधारे साउने झरी रोकिएर आकाश केही खुले पनि पानी छिट्याउन बन्द भएको थिएन। सिमसिमे पानीमा रुझै मैदानमा कल्याङमल्याङ गरिरहेका विद्यार्थी र शिक्षकहरुको अनुहारमा शंका र उपशंका सहितको प्रश्न देखिन्थ्यो।

‘हाम्रै स्कुलमा पढ्ने एकजना नानीले भनेपछि हामीले निशान अपहरणमा परेको थाहा पायौं।। त्यसपछि मैले घटनाबारे बुझ्न धेरै प्रयास गरें,’ स्कुलका प्रिन्सिपल खनालले भने, ‘निशानको घरको फोन नम्बर पनि उठेन। पछि नानीको बुवालाई फोन गरेपछि थाहा भयो। निर्दयीहरुले उसलाई मारेछन्।’

प्रिन्सिपल खनाल हतास देखिन्थे। उनलाई अन्तिमपटक आफ्नो विद्यार्थीको अनुहार हेर्ने इच्छा रहेछ। त्यसैले उनी हतारिँदै घटनास्थल पनि पुगेका रहेछन्। उनी पुग्दा निशानको शव प्रहरीले घटनास्थलबाट उठाएर प्रहरी कार्यालय अगाडि रहेको शव बाहनमा राखिसकेको थियो। उनले शवबाहनको झ्यालबाट नियाले। निलो त्रिपालमा बेरिएको शव त देखे, अनुहार देख्न सकेनन्। उनले गाडीको ढोकै खोलेर निशानलाई हेर्न खोजे तर प्रहरीले दिएन।

प्रहरी कार्यालयमा उनले निशानको अपहरण र हत्यामा संग्लन दुई जना प्रहरी इन्काउन्टरमा मारेको खबर पाए। त्यहाँबाट उनी सोझै स्कुल फर्किए र अन्य शिक्षक शिक्षिकालाई आफूले थाहा पाएका घटना विवरण सुनाए । कक्षा ६ मा अध्ययनरत निशान ३ कक्षादेख त्यहाँ पढन थालेका थिए। उनले निशान पढाईमा सामान्य भएपनि अन्य अतिरिक्त क्रियाकलापमा तगडा भएको कुरा सुनाए।

कक्षा शिक्षक जानकी जोशीका अनुसार कक्षामा सबैसँग मिलनसार निशान विरलै मात्र कक्षा छुटाउँथे। ‘एकदमै राम्रो बच्चा थियो। हेर्दा पनि राम्रो थियो र बोली व्यवहार पनि राम्रो थियो,’ उनले भनिन्, ‘मैले प्रिन्सिपल सरले भनेपछि मात्रै थाहा पाएँ।’ यति भनेपछि उनले केही भन्नै सकिनन्।

‘निशान स्काउटमा खुब राम्रो थियो,’ प्रिन्सिपल खनालले निशानको बारेमा थप जानकारी दिँदै भने, ‘हामीले केही साता अघि स्काउटमा सहभागी विद्यार्थीलाई तालिमका लागि २ रात सुन्दरीजल लिएर गएका थियौं। त्यहाँ निशान पनि थियो।’

प्रिन्सिपल खनालका अनुसार निशान स्काउटमा मात्र नभई फुटबल पनि राम्रो खेल्थे। स्कुलको जुनियर टिमका सदस्य पनि थिए। ‘सुरुमा स्कुल भर्ना गर्दा निशानको आमाले आर्थिक समस्या छ। केही दिन स्कुलको फी तिर्न तलमाथि हुन सक्छ भन्नुभएको थियो,’ उनले भने, ‘सामान्य चियापसल गरेर गुजारा चलाइरहेको परिवारको छोरालाई अपहरण गरेर त्यत्रो रकम मागेको सुन्दा पत्यार नै लाग्दैन।’

विद्यालय प्रांगणमा भेटिएका एक विधार्थी आफ्ना सहपाठीलाई सुनाइरहेका थिए,। ‘बन्दर हिजो ट्युसन सकेर, पानी पुरी खाएर गएको थियो। अब कहिल्यै आउँदैन रे।’ निशानलाई साथीहरुले बलाउने नाम रहेछ ‘बन्दर’। ‘फुटबल खेल्न नपाए बन्दर साह्रै रिसाउँथ्यो,’ ती बालकले रुन्चे स्वरमा पुरानो घटना सम्झिदै भने, ‘हामीले जिस्काएर टिम पुगिसक्यो भन्यौं भने रिसाउँदै कहिल्यै बोल्दिन भनेर घर जान्थ्यो।’

निशानको साथीले भने झैं उनको फुटबल मोह उनको कापीमा स्पष्ट देखिन्थ्यो। उनको डेरामा रहेको कपीमा भर्खरै सकिएको विश्वकपको चित्र थियो र हत्या हुँदाको बखत उनको जिउँमा अर्जेन्टिनाको जर्सी। निसानको डेरामा पुग्दा उनको मावली पट्टीका हजुरबुवा मिनप्रसाद सापकोटा भक्कानिएर बसीरहेका थिए। उमेरले ६० कटिसकेका उनी नातीको मृत्युले विक्षिप्त थिए। नातीको ब्याग खोतलेर कपीमा लेखिएका अक्षर हेर्दै आँशु खसालिरहेका थिए।

‘मेरो छोरीको एक्लो छोरो। असत्ती मुर्दारहरुले मारे,’ उनी भक्कानिए, ‘नाती त मरिहाल्यो। अब आमा नि मर्ली भन्ने पीर भो। प्रेसर छ। बुढा देश बाहिर छ। दुई छोरी अर्काको घरमा काम गर्दै पढदैछन्। किन यस्तो गरेका रैछन्?’ उनले एकै सासमा आफ्नो अवस्था सुनाइभ्याए र लामो खुईयया काडे।

घटनास्थलमा शवको सनाखत गराएपछि प्रहरीले निशानको आमालाई डेरामा छोड्न ल्यायो। मिनले छोरीलाई आफ्नै घर लैजान अनुरोध गरे। ‘यहाँ एक्लै बसी भने त मरिहाल्छे नी,’ घरबाहिरको पेटीमा उनी भक्कानिन थाले। वरपरका केही छिमेकी उनलाई सम्झाउन आए। ‘मेरो घर अलि माथि छ। त्यहाँ छोरा(नाती, बुहारीहरु छन्। त्यहाँ भए हेर्ने मान्छे हुन्छ। त्यसैले उता पठाइदिएको,’ उनले भने।

नातीको हत्याले विक्षिप्त बनेका मिनप्रसाद अघिल्लो दिनका कुरा सकी नसकी सुनाईरहेका थिए। ‘हिजो साँझसम्म यतै थियो केटो। राती नौ बजे फोन गरेर पैसा मागेपछि मात्रै थाहा पायौं, अपहरणमा परेको भन्ने,’ उनले थकथकीको स्वरमा सुनाए, ‘केटो खेल्न यताउति गइरहन्थ्यो। त्यसैले यतै होला भन्ने ठानेका रहेछन्। फोन आएपछि पो ओठतालु सुक्यो।’

उनले भक्कानो छुटाउँदै भने, ‘अपहरणकारीलाई अपांग बनाएर छाडिदिनुपर्ने, तिनलाई नि पुलिसले मार्‍यो भन्ने सुन्छु।’

प्रकाशित : श्रावण २१, २०७५ २१:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

अपहरण, फिरौती माग अनि हत्या : किन बचाउन सकेन प्रहरीले ?

जनकराज सापकोटा

काठमाडौँ — प्रहरीले समयमै सूचना पाए पनि प्रभावकारी अनुसन्धान गर्न नसक्दा राजधानीमा आइतबार अपहरित एक बालकको ज्यान गुमेको छ । पेप्सीकोला टाउन प्लानिङस्थित डेराबाट अपहरित ११ वर्षीय निसान खड्कालाई प्रहरीले सोमबार मध्याह्न १२ बजेतिर मात्रै मृत अवस्थामा फेला पारेको थियो । 

अपहरणपछि हत्या गरिएका निशान खड्काको शव । तस्बिरः स्वरुप आचार्य

अपहरणकारीले आइतबार राति ९ बजे निसानकी आमा चमेलीलाई फोन गरेर ४० लाख रुपैयाँ फिरौती मागेलगत्तै परिवारले प्रहरीलाई जानकारी गराएको थियो । निसानको डेराबाट उनको हत्या भएको ठाउँ केही किलोमिटर मात्रै टाढा पर्छ । बाक्लो बसोबास क्षेत्रमै लगेर निसानलाई लुकाए पनि फिरौती असुल्न नसकिने र घटना सार्वजनिक हुने डरले हत्या गरिएको प्रहरीको अनुमान छ । सूचना पाएको १५ घण्टापछि मात्रै प्रहरीले बालकलाई मध्यपुर थिमिको नगदेशस्थित श्याम लवटको घरसँगैको खाल्डोमा मृत फेला पारेको थियो ।

अदालतबाट अनुमति लिएर मात्रै फोन कल लोकेसन हेर्न मिल्ने प्रावधानविपरीत प्रहरीले आपतकालीन स्थिति भन्दै राति ११ नबज्दै अपहरणकारीको लोकेसन टेलिकम स्रोतबाट लिइसकेको थियो । अपहरणकारीको लोकेसन मध्यपुर थिमि देखिएलगत्तै प्रहरी टोली उक्त क्षेत्रमा परिचालित भएको थियो । समयमै परिचालित भए पनि प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखाबीच समन्वय हुन नसक्दा खोजतलास प्रभावकारी हुन नसकेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

‘महाशाखाले पाएको सूचना आफैंसँग राख्ने र परिसरले पनि त्यस्तै गर्ने समस्या देखियो,’ उनले भने, ‘सकेसम्म आफैं अपहरणकारी पत्ता लगाउँ भन्ने प्रतिस्पर्धाले अनुसन्धान कमजोर भएको हो ।’ प्रहरी परिसर काठमाडौं र भक्तपुरबाट झन्डै दुई सय प्रहरी परिचालित थिए भने महाशाखाले पाँच/पाँच जनाको चार टोली परिचालन गरेको थियो । अपहरणकारीलाई प्रहरी गतिविधिबारे थाहा नहोस् भनेर सामान्यत: कोभर्ट (भेस बदलेर गरिने गोप्य कारबाही) गरिन्छ । तर आइतबार परिसर र महाशाखा दुवैले त्यसो गरेनन् ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख धिरजप्रताप सिंहका अनुसार पेसेवर अपहरणकारीभन्दा आफन्त र चिनेजानेकाबाट हुने अपहरणमा अपहरितको हत्या गरिने सम्भावना बढी हुन्छ । ‘अपहरितले अपहरणकारीलाई चिनेको हुनाले घटना सार्वजनिक हुने डरले हत्या गर्ने गरेको देखिन्छ,’ उनले भने, ‘परिचितबाट हुने अपहरणका अधिकांश घटनामा अपहरितलाई बचाउन सकिन्न ।’

यसरी भयो हत्या
पेन्टरको काम गर्ने गोपाल तामाङ र अजय तामाङ निसानकी आमा चमेलीले चलाएको रेस्टुराँमा लामो समयदेखिका ग्राहक थिए । नियमित आउजाउमा यी दुवैले निसानलाई चिनेका मात्रै थिएनन्, चमेलीका श्रीमान्ले विदेशबाट पैसा पठाउने कुरा पनि थाहा पाएका थिए । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार श्रीमान्ले पठाएको पैसा जम्मा पारेको थाहा पाएरै उनीहरूले अपहरण गरेको प्रहरी अनुमान छ ।

सधैं होटलमा आउने, खाने र कहिलेकाहीं बस्ने भएकाले निसान सजिलै अपहरणकारीको पछि लागेर गएको प्रहरी अनुसन्धानमा देखिन्छ । अपहरणकारीले निसानलाई नगदेशस्थित आफू बस्ने डेरामा पुर्‍याएपछि उनकै अघि चमेलीलाई फोन गरेर फिरौती मागेका थिए । त्यसपछि अपहरणकारीले ८:५७ मा मोबाइल बन्द गरेको प्रहरीले जनायो । लगत्तै उनीहरूले अर्को सिमबाट चमेलीसँग कुरा गरेका थिए । फिरौती मागेको थाहा पाएलगत्तै निसान आत्तिएर कराएकाले अरुले थाहा पाउने डरले कोठामै हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । हत्यालगत्तै शव सोही घर नजिकैको खाडलमा हालेका थिए । राति १२ बजे अगाडि नै हत्या भइसकेको हुन सक्ने अनुसन्धानमा संलग्न प्रहरीले जनाए ।

महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंको टोली आ–आफ्नै शैलीमा निसानको खोजीमा जुटेका थिए । परिसर टोलीले निसानलाई धुलिखेलतिर पुर्‍याएको सूचना पाएको थियो । महाशाखाको टोली अपहरणकारीको लोकेसन खोज्न केन्द्रित भएको थियो ।

शव फेला परेलगत्तै महानगरीय प्रहरी अपराध महाशाखाले अपहरणपछि बालकको हत्या गरेर भागेका दुई जना मुठभेडमा मारिएको विज्ञप्ति जारी गरेको थियो । एसएसपी सिंहले सूर्यविनायक नगरपालिका–८ स्थित पाइलट बाबाको आश्रम नजिकको जंगल हुँदै भागिरहेका अपहरणकारीलाई पक्राउ गर्ने क्रममा भएको मुठभेडमा अपहरणकारी मारिएको दाबी गरे । महाशाखाका अनुसार मारिनेमा नुवाकोट समरी स्थायी घर भएका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोक कर्थलीका २३ वर्षीय अजय तामाङ छन् । प्रहरीले उनीहरूको साथबाट एक थान पेस्तोल, दुई थान गोली र अपहरणमा धम्क्याउन प्रयोग भएको सिम बरामद गरेको जनाएको छ । प्रहरीले मुठभेडबारे विस्तृत बताएको छैन । स्रोतका अनुसार अपहरणकारीलाई प्रहरीको ७ गोली लागेको छ । महाशाखाको टोलीले १९ राउन्ड फायर गरेको तर अपहरणकारीका तर्फबाट कुनै फायर नभएको स्रोतको दावी छ ।

झरीसँगै आँसुको वर्षा
खहरेस्थित हाइल्यान्ड इङलिस स्कुलको कक्षा ६ मा सोमबार निसान खड्का गएनन् । उनी बस्ने बेन्च खाली थियो । रातभर झरी परेकाले निसान स्कुल नआएका होलान् भन्ने उनका साथीको अन्दाज थियो । तर अनुमान पनि गरेका थिएनन् कि साथीसँग अब कहिल्यै भेट हुँदैन भनेर ।

सिन्धुपाल्चोकको मेलम्चीबाट बसाइँ सरेर पेप्सीकोला टाउन प्लानिङमा खाना र चिया बेच्ने सानो रेस्टुराँ चलाएर दुई छोरी र कान्छो छोराको हेरचाह गरेर बसेकी थिइन्, चमेली खडका । उनको सानो रेस्टुराँमा खाना खान कुल्लीदेखि घर निर्माणमा संलग्न मजदुर र पेन्टरसम्म आउँथे । सधैं झैं आइतबार निसान घर आए । आफ्नै शैलीमा फ्यात्त झोला फाले र खाजा खाएर खेल्न निस्के । ११ वर्षीय निसान साँझ झमक्कै भइसक्दा पनि फर्किएनन् । रात ढल्किँदै जाँदा निसानको फिक्रीले चमेली छट्पटाउन थालिन् । रातको ९ बज्यो । चमेलीको मोबाइल लगातार बज्न थाल्यो । उनले मोबाइल त उठाइन् तर उताबाट बोल्नेको कुरा प्रस्ट बुझिएन । एकैछिनमा फेरि सोही नम्बरबाट फोन आयो ।

फोन गर्नेले धम्कीको स्वरमा सोझै भन्यो, ‘तपाईंको छोरा हाम्रो कब्जामा छ । ४० लाख लिएर आउनु । प्रहरीलाई खबर नगर्नु,’ सोमबार बिहान अपहरणकारीको खोजी भइरहेका बेला कान्तिपुरसँगको कुराकानीमा चमेलीले अघिल्लो साँझको घटना सुनाइन् । उनको स्वर रुँदारुँदै थाकेर भास्सिएको थियो । ‘खै के पो हुन्छ होला,’ उनले आत्तिएको स्वरमा सोधिन्, ‘के हुन्छ होला ?’

नाति अपहरण भएको खबर सुनेर नजिकै बस्ने मावली हजुरबा मीनप्रसाद सापकोटा र मामा रामकाजी सापकोटा चमेलीको डेरामै राति नै आए । उनीहरू तत्काल प्रहरी परिसर टेकु पुगेर खबर गरे । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि खोजी अगाडि बढायो । चमेली र रामकाजी प्रहरीसँगै राति १२ बजेसम्म खोजीमा जुटे । निसानको केही पत्तो नभएपछि कोठामा आए । रामकाजीले रातिको घटना सुनाउँदै भने, ‘भान्जाको चिन्तामा रातभरि कसैले झिमिक्क गरेनौं । दिदी रोइरहिन् ।’

चमेली मिनेटमिनेटको हिसाब गरेर छटपटीमा समय कटाइरहेकी थिइन् । सोमबार बिहानको कुराकानीमा चमेलीले छोरा अपहरणको कुरा मलेसिया रहेका श्रीमान्लाई नभनेको बताउँदै थिइन् । उनले दबेको स्वरमा भनिन्, ‘कसरी पो भन्नु । थाहा पाउनुभो भने के होला ?’

दिउँसो चमेलीको डेरामा पुग्दा सिमसिम पानी परिरहेको थियो । डेरामा निसानका हजुरबा मीनप्रसाद आँखाको डिलभरि आँसु बनाएर बसिरहेका थिए । उनी केही बोल्न खोज्थे तर शब्द किलकिलेमै अडकिन्थ्यो । एकैछिन अघि आएर प्रहरीले चमेलीलाई लिएर गएको उनैले बताएपछि थाहा भयो । चमेलीलाई लिएर जानेबित्तिकै दर्के झरी परेको थियो । मीनको फोन किर्रकिर्र बजिरहेको थियो । उनी फोनमा अडकलेर बोलिरहेका थिए । उनी फोनमै कसैलाई सम्झाइरहेका थिए, ‘नरो त । पीर नगर भन्या ।’ यति भनेर फोन राखेपछि उनले आँखाको डिलमै आएर अडिएको आँसु हर्थ‘ङ्गोले पुछे ।

हामी निस्कने बेलामा मीनले भने, ‘नाति केटोलाई केही नहोस् । त्यसलाई केही भो भने त चमेली मर्छे रोएर ।’ पानी रोकिन थालेपछि हामी प्रहरीले चमेलीलाई लिएर गएको ठाउँ खोज्दै हिँड्यौं । तरकारी खेतीका कारण प्रसिद्धी कमाएको भक्तपुरको नगदेशमा एउटा विहार छ । त्यसैको तल्लो पाखामा तरकारी खेती छ । वडा नम्बर–९ स्थित श्याम लवटको भर्खरै खनेको जग वरिपरि झरीको पर्वाह नगरी सयौं स्थानीय भेला भएका थिए । पानी जमेको जगको खाल्डोबाट प्रहरीहरू घोप्टो परेका निसानलाई तानेर निकाल्दै थिए । अर्जेन्टिनाको जर्सी लगाएका निसानको आँतमा धुकधुकी थिएन । उनको मुखमा केही कोचिएजस्तो देखिन्थ्यो भने घाँटीमा सलजस्तो कपडा कसिएको देखिन्थ्यो । भेला भएका स्थानीयको मुखमा आश्चर्य र पीडा मिश्रित आवाज आइरहेको थियो । छोराको मृत देह देखेपछि चमेली आकाश फाट्ला झंै गरेर चिच्याइन् । उनको आँखाबाट घोप्टिएका आँसु आकाशबाट परेको पानीमा मिसिइरहेको थियो । उनलाई आफन्तले दुई पाखुरामा टेको दिएर उभ्याइरहेका थिए । तर चमेली आफूलाई धान्न सक्ने हालतमा थिइनन् ।

अपहरणको शृंखला
अपहरणपछि फिरौती माग गर्ने र घटना सार्वजनिक हुने डरले अपहरितको हत्या गर्ने आपराधिक प्रवृत्ति काठमाडौंमा देखिने गरेको छ । प्रहरी सक्रियता र सीसीटीभीको व्यापकताका पछि राजधानीमा अपहरणका घटना न्यून भइरहेका थिए । आर्थिक वर्ष २०७०/७१ मा अपहरण तथा शरीर बन्धकसम्बन्धी ९ घटना भएका थिए । काठमाडौंका निम्ति आर्थिक वर्ष २०७१/७२ अपहरण शून्य वर्ष थियो । आर्थिक वर्ष २०७२/७३ मा चार अपहरण भएका थिए भने २०७३/७४ मा दुई अपहरणका घटना भए । पछिल्लो आर्थिक वर्ष २०७४/७५ मा भने अपहरणको एउटा मात्रै घटना भएको देखिन्छ ।

सोमबार भएको अपहरण र हत्याको घटनाले भने प्रहरीलाई पनि झस्काइदिएको छ । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार अपहरणको घटना व्यावसायिक आपराधिक समूहबाट भएको देखिन्न । नितान्त छिटो पैसा कमाउने र धनी बन्ने सपनाबाट प्रेरित भएर अपहरण गरेको देखिन्छ ।

प्रकाशित : श्रावण २१, २०७५ २१:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT