जिउँदो मान्छेको हातमा मृत्युको प्रमाणपत्र !

अजित तिवारी

जनकपुर — जिउँदो मान्छेको हातमा मृत्युको प्रमाणपत्र ! सुन्दै आश्चर्य लाग्ने घटना हो यो । त्यही प्रमाणपत्रले उनलाई आफू जीवित रहेको प्रमाणित गराउन मुस्किल परेको छ रामसेवक राय यादवलाई । महोत्तरी, औरही–६ खोपीबैरियाका ५९ वर्षीय यादव आफ्नो मृत्युको प्रमाणपत्र बोकेर जिउँदै रहेको प्रमाण जुटाउन जिल्ला प्रशासन कार्यालय, अदालत र जनप्रतिनिधिसम्म गुहार्न बाध्य छन् ।

तस्बिर : आफ्नो मृत्यु दर्ताको प्रमाणपत्र देखाउँदै महोत्तरीका रामसेवक । तस्बिर : कान्तिपुर

उनको नाममा रहेको करोडौंको जग्गा हत्याउन उनकी सौतेनी आमा र भाइको योजनामा २०६८ जेठ १ गते मृत्युको प्रमाणपत्र बनाइयो।

Yamaha

रामसेवकको नाममा रहेको जलेश्वर–बर्दिवास सडकछेउकै १० कठ्ठा खेत र ५ कठ्ठा घडेरीको मोहमा परेकी सौतेनी आमा शकुन्ती देवी र उनका छोरा रामपुकारको दबाबमा बुवा रामवृक्ष यादवले आफ्नै जिउँदो सन्तानको मृत्युको प्रमाणपत्र बनाइदिए। मृत्युको प्रमाणपत्र बनाइएका बेला रामसेवक भने भारतको पञ्जावमा थिए।

रामवृक्षकी पहिली श्रीमती कौशिल्यादेवीले एकमात्र छोरा रामसेवकको नाममा उक्त जग्गा पास गरिदिएकी थिइन्। कौशिल्यादेवीको मृत्युपछि रामवृक्षले शकुन्ती देवीसित अर्को विवाह गरे।

रामसेवक पनि २०४८ सालमा विवाह गरेर कमाउन पञ्जाव छिरे। उनी दुई दशक उतै बसे। रामसेवककी श्रीमती अन्तै लागिन्। सौतेनी आमा शकुन्तीदेवी र उनका छोरा रामपुकारलाई भने रामसेवकको नाउँमा रहेको करोडौंको जग्गाले अत्याइरहयो। अनि रचे प्रपञ्पच।

केही स्थानीयको सनाख्त जुटाएर तत्कालीन पञ्जिकाधिकारी गोपाल पाठकले रामसेवकको मृत्यु २०६७ कात्तिक १४ गते भएको भन्दै मृत्यु दर्ताको प्रमाणपत्रमा सरकारी मोहर लगाइदिए। मृत्युको प्रमाणपत्र बनेलगत्तै सौतेनी आमा र उनको छोराले रामसेवकको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याएर बिक्री गरिदिए।

एक वर्षअघि घर फर्किएका रामसेवकलाई सौतेनी आमा र भाइले चिन्न इन्कार गरे। बुवा रामवृक्ष यादवको देहान्त भइसकेकाले उनलाई फसाद् पर्‍यो।

‘गाउँ आउँदा त सबैले तिम्रो त मृत्यु भइसकेको छ भन्दा छक्क परें,’ रामसेवकले भने, ‘जिउँदो मान्छे आफैंले जिउँदो छु भनेर प्रमाणित गराउनुपर्ने स्थिति छ।’ उनी पञ्जाव बस्दा पनि छिमेकी र साथीहरूको सम्पर्कमा रहेको दाबी गर्छन्। पञ्जावबाट फर्किएदेखि गाउँकै मन्दिरमा आश्रय बनाएका छन्। यताउताबाट मागेर दुई छाक टार्छन्। अनि, आफू जिउँदो रहेको प्रमाणित गराउन सरकारी निकाय चार्हछन्।

‘अहँ, कहीं कतैबाट सुनुवाइ भएको छैन,’ रामसेवकले भने, ‘आफ्नै मृत्युको प्रमाणपत्र बोकेर १ वर्षदेखि सबैतिर गुहारिसकें। वकिलसँग सल्लाह गर्दा १० हजार रुपैयाँ मागे, जुन दिने मेरो हैसियत छैन।’ उनका छिमेकी रामनारायण यादव मृत्युको प्रमाणपत्र बनाएर रामसेवकलाई अन्याय गरिएको बताउँछन्।

‘जिउँदो मान्छेलाई सम्पत्ति हत्याउन मृत्यु भएको जालसाजी गरिएको छ,’ यादवले भने, ‘कानुनी रूपमा रामसेवकलाई जीवित प्रमाणित गरेर जालसाजी गर्नेमाथि कारबाही हुनुपर्छ।’
मृत्यु प्रमाणपत्र बनाएर घरजग्गा हत्याएका सौतेनी आमा र भाइले रामसेवकलाई चिन्नै इन्कार गरिरहेका बेला मृत्यु दर्ता बदर गर्न सीडीओलाई निवेदन दिन पनि औरही–६ का वडाध्यक्षसमेत तयार नरहेको स्थानीय राजकिशोर रायले बताए। कानुन व्यवसायी सुदीप कोइराला जिउँदो मानिसको मृत्यु दर्ता प्रमाणपत्र बनाएका व्यक्तिले मृत्यु दर्ता फिर्ता गर्न अस्वीकार गर्दा पनि व्यक्तिगत घटना दर्ता ऐनले सिडिओलाई मृत्यु दर्ता बदर गर्ने अधिकार रहेको बताउँछन्।

महोत्तरीका सिडिओ उमेशकुमार ढकालले संघीय मामिला मन्त्रालयको पञ्जीकरण विभागसँग जोडिएको समस्या भएकाले स्थानीय विकास अधिकारीसित कुराकानी भइरहेको बताए। ‘जिउँदो मान्छेको मृत्युको प्रमाणपत्र बनाएर अन्यायमा पार्नेलाई पनि कारबाही हुन्छ,’ ढकालले भने, ‘स्थानीय विकास अधिकारी काठमाडौं गएकाले उहाँ आएलगतै के भएको हो बुझेर करेक्सन गर्ने काम हुन्छ। र, दोषीलाई कारबाही पनि हुन्छ।’

अधिवक्ता कोइरालाका अनुसार जिउँदो व्यक्तिको नाममा मृत्यु दर्ता गराउनेविरुद्ध अदालतमा मृत्यु दर्ता खारेजसँगै जालसाजी मुद्दा दायर गर्न र अंश कायमको मुद्दा पनि चलाउन सकिन्छ। रामसेवककको मावाली वडा औरही–७ का वडा अध्यक्ष गणेश यादवले उनी जिउँदो रहेको सिफारिस गर्न आफू तयार रहेको बताउँछन्।

प्रकाशित : श्रावण २३, २०७५ १४:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

जनकपुर–जलेश्वर सडकमा पाइलैपिच्छे खाल्डाखुल्डी, जर्जर सडकमा गुड्ने बस पनि थोत्रै

अजित तिवारी

जलेश्वर (महोत्तरी) — जनकपुरबाट महोत्तरीको जलेश्वर पुग्ने सडक खण्डमा पाइलापिच्छे खाल्डाखुल्डी छन् । जर्जर सडकमा गुड्ने बस पनि थोत्रा छन् । जनकपुरबाट जलेश्वर १७ किलोमिटर सडक छिचोल्न बसलाई कम्तीमा १ घण्टाभन्दा बढी समय लाग्छ । वर्षौंदेखि जर्जर बनेको सडकको निर्माण सुरु भएको २ वर्ष बितेको छ ।

दुई खण्डमा फरक–फरक निर्माण कम्पनीले सकार गरेको सडक निर्माण सुस्त छ । जर्जर सडकमा थोत्रा बसको यात्राले सर्वसधारण आजित छन् । ‘सडकको अवस्था हर्दा पनि जलेश्वर जान मन मान्दैन,’ जनकपुर उद्योग वाणिज्य संघका सदस्य शंकर पासवानले भने, ‘एक त सडक जर्जर छ, त्यसमाथि थोत्रा बसको यात्रा ।’

जनकपुरदेखि जलेश्वरको रूटमा चल्ने बस २० वर्षभन्दा पनि पुराना छन् । धेरैजसो बसका सिट भाँचिएका छन् । थोत्रा बसको झरझरको आवाज झन् चर्को हुन्छ । ‘सडकको हालत खराब रहेकाले जनकपुर–जलेश्वर रूटमा नयाँ बस हाल्न मान्दैनन्,’ महोत्तरी मठिहानीस्थित संस्कृत विद्यापीठका प्राचार्य ईश्वरी पौडेलले भने, ‘कामले गर्दा जलेश्वर–जनकपुर ओहरदोहर गर्नुपर्ने बाध्यता छ । सडक र बसको हालत भने जर्जर छ ।’

सडक कार्यालयले जलेश्वर–जनकपुर सडक निर्माणका लागि रोशन कन्स्ट्रक्सन र हिरा भगतको निर्माण कम्पनीलाई ठेक्का दिएको छ । कतै ६ र कतै ४ लेनमा निर्माण ठेक्का लागेको जनकपुर–जलेश्वर खण्डको काम अहिले ठप्प छ । सडक कार्यालयले पटक–पटक म्याद थपे पनि सुधारको कुनै संकेत देखिएको छैन । सानो पानी पर्दा पनि सडक खण्ड हिलाम्मे हुन्छ ।

‘मोटरसाइकल हाँकेर जलेश्वर पुग्नु ठूलै युद्ध जितेजस्तो हुन्छ,’ व्यापारी पासवानले भने, ‘हिलाम्मे सडक हुँदा मोटरसाइकल चिप्लने खतरा पनि उत्तिकै हुन्छ ।’

महोत्तरीको पिपराभन्दा दक्षिण सडकमा बनाउने पर्ने पुलको काम त्यतिकै थन्किएको छ । जलेश्वर हुँदै बर्दिवास पुग्ने ४२ किलोमिटर अर्को सडकको दुरावास्था जनकपुर–जलेश्वर सडकभन्दा पनि जर्जर छ । जलेश्वर आवत–जावत गर्ने धेरैजस्तो यात्रुहरू सडकको दुरावस्थाले मिठामोड हुँदै भारतीय बाटो प्रयोग गर्न बाध्य छन् ।

महोत्तरी, मटिहानी नगरपालिकाको मेयर हरिप्रसाद मण्डलले जनकपुर–जलेश्वर सडकको अवस्था दयनीय भएकाले महोत्तरीमा बाहिरबाट आउनेको संख्यामा कमी आएको बताए । ‘जलेश्वरमा काम पर्दा पनि सकभर नआउने र अरु माध्यमले नै काम गराउन खोज्नुमा सडकको अवस्थाले पनि हो,’ मेयर मण्डलले भने ।

प्रकाशित : श्रावण २२, २०७५ १२:५५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT