कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भर्ना नपाउँदा बिरामीको मृत्यु

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — जाजरकोटको भेरी नगरपालिका–४ का ४२ वर्षीय शेरबहादुर विकलाई दमको व्यथाले च्याप्यो । आफन्तले उपचारका लागि चौरजहारी अस्पताल ल्याए । बिरामीको मृत्युले चौरजहारी अस्पतालमा तनाव थियो । अस्पतालले भर्ना लिएन । नेपालगन्ज लैजाने गरी आफन्तले खर्चको जोहो गरे पनि उनको मृत्यु भयो ।

भर्ना नपाउँदा बिरामीको मृत्यु

अस्पताल प्रशासनले भर्ना लिन नसक्ने भन्दै विकलाई नेपालगन्ज जान भनेको थियो । तर नेपालगन्ज जाने मेसो मिलाई नसक्दै उनको मृत्यु भयो । नेपालगन्ज जानका लागि रकमको व्यवस्था गर्दागर्दै मृत्यु भएको आफन्तले बताएका छन् । ‘नजिक अस्पताल भएर पनि अकालमै ज्यान गयो,’ ज्वाइँ अमृत विकले भने, ‘अस्पतालको समस्याका कारण उहाँ जस्तै अरूले पनि ज्यान गुमाउनु नपर्ला भन्न सकिन्न ।’ उनले तत्कालै समस्या समाधान गरेर सेवा सुचारु गर्न
माग गरे ।


विक जस्ता अन्य थुप्रै जटिल रोगका बिरामीलाई फर्काउन थालिएको छ । पाँच दिनदेखि बिरामीले उपचार पाएका छैनन् । अस्पतालको कामकाज ठप्प छ । स्थानीयका अनुसार वर्षाका कारण सजिलै गाडी पाइँदैन । अस्पताल भर्ना नभएपछि गाडी चढ्न जाजरकोट पुग्नुपर्छ । चौरजहारीबाट सोझै दाङ, नेपालगन्ज वा जिल्ला सदरमुकामसम्म गाडी चल्दैनन् । सबै सडक अवरुद्ध छन् । अस्पतालमा देखिएको समस्या समाधान नहुँदा हरेक दिन दु:ख पाउनेहरूको संख्या बढ्दै गएको छ ।


उपचार क्रममा अस्पतालमै जाजरकोटको भेरी नगरपालिका–१३, कुदुकी २९ वर्षीया यशोदा मल्ल आरसीको मृत्यु भएपछि अस्पतालमा तनाव सुरु भएको थियो । उनी मृगौलाको संक्रमण भएर अस्पताल भर्ना भएकी थिइन् । स्वास्थ्यकर्मीको लापरबाहीले बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तले अस्पताल तोडफोड गरेका थिए ।

प्रकाशित : श्रावण २५, २०७५ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?