कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोफसलमा पनि फुटसल खचाखच

काठमाडाैं, पोखरा र विराटनगरपछि तीन वर्षयता पूर्वका विभिन्न सहरमा फुटसलको लहर चलेको छ

पोखरा/धरान — टेलिभिजनमा अन्तर्राष्ट्रिय फुटसल लिग आउँदा पोखरा शीतलदेवीका निरज गुरुङ चासो दिएर हेर्थे । कार्पेटमाथि पाँच/पाँच खेलाडीबीचको प्रतिस्पर्धा उनलाई रोचक लाग्थ्यो । काठमाडौंमा भित्रिसके पनि पोखरामा फुटसल कोर्ट थिएन ।

मोफसलमा पनि फुटसल खचाखच

खुला चौरमा सानो मैदान बनाएर फुटसल खेलेको उनलाई सम्झना छ । २०७० मा लेकसाइडमा पहिलोपल्ट सुविधासम्पन्न फुटसल खुल्यो । त्यसयता पोखरामा १४ फुटसल खुलिसकेका छन् । तर, अहिले ती फुटसलमा समय पाउनै गाह्रो छ । खेल्ने समय मिलाउन पालो कुर्नुपर्छ । पोखराको लेकसाइड, अधिकारीटोल, रानीपौवा, अमरसिंहचोक, गणेशटोल, गैह्रापाटन, रामबजार, काजीपोखरी, डयामसाइड, फूलबारी, मालेपाटन, आलुमाइलाचोकमा फुटसल छन् । हेमजामा अर्को निर्माण भइरहेको छ । चर्को घाम होस् वा घनघोर वर्षा, हरेक समयमा खेल्न मिल्ने भएकाले पोखरामा फुटसलको क्रेज बढदो छ । बिहान ६ देखि बेलुका ८ बजेसम्म फुटसल ‘हाउसफुल’ हुन्छन् ।

स्नातक पहिलो वर्षमा अध्ययनरत गुरुङ फुर्सद पाउनेबित्तिकै फुटसल खेल्न पुग्छन् । उनी पोखराका सबै फुटसल कोर्टमा खेल्न पुगेका छन् । ‘अहिले फुटसलको क्रेज यति बढेको छ कि आउनेबित्तिकै खेल्न पाइँदैन, पालो पर्खिनुपर्छ,’ उनी भन्छन् । खेल कौशलको विकास हुने भएकाले फुटसलप्रति आकर्षित भएको उनी बताउँछन् । ‘थोरै जनामा फास्ट गेम हुने भएकाले फुटसल मन पर्छ,’ उनी भन्छन्, ‘फुटसल खेलेर फुटबल खेल्दा गति मिल्दैन ।’

पुरुष मात्र नभई महिलामा पनि यसको क्रेज बढदो छ । पोखरा फूलबारीकी उमा थापा पेसाले बैंकर हुन् । उनी बिदाको दिन साथी बटुलेर घर नजिकैको फुटसल कोर्ट पुग्छिन् । ‘हप्ताभरिको कामको थकान हुन्छ,’ उनी भन्छिन्, ‘रिफ्रेस पनि हुने, व्यायाम पनि हुने भएर फुटसल आउँछु ।’ बेलाबेलामा हुने कर्पोरेट फुटसल टुर्नामेन्टमा पनि उनी सहभागी हुन्छिन् ।

विभिन्न बैंक, वित्तीय संघसंस्था, शिक्षण संस्था, पेसाकर्मीबीच टुर्नामेन्ट हुने भएकाले पनि फुटसल कोर्ट खाली हुने गरेका छैनन् । रानीपौवा स्पोटर्स सेन्टरका सञ्चालक दीपक बाँस्तोला पछिल्लो समय फुटसल टुर्नामेन्टको लहर चलेको बताउँछन् । उनले ३० वर्षमुनिका खेलाडीमा बढी फुटसलको क्रेज देखेको बताए । ३० माथिकाले भने व्यायाम र मनोरन्जनका रूपमा फुटसललाई लिएको उनको उनको अनुभव छ । ‘सहरमा अहिले खेल्ने खुला ठाउँ छैन,’ उनले भने, ‘जुनसुकै बेला खेल्न सकिने भएकाले यो रोजाइमा परेको छ ।’ कास्की जिल्ला फुटसल संघका सदस्यसमेत रहेका उनले खुला फुटसल टुर्नामेन्ट पनि सञ्चालन गर्छन् ।

फुटसल कोर्टको आकार न्यूनतम चौडाइ १८ मिटर र लम्बाइ ३८ मिटरदेखि अधिकतम चौडाइ २१ मिटर र लम्बाइ ४१ मिटरसम्म हुनुपर्छ । पोखरामा उक्त मापदण्डभित्रको कोर्ट रानीपौवा स्पोटर््स सेन्टरसँग मात्रै छ । रानीपौवामा १९ मिटर चौडाइ र ३९ मिटर लम्बाइ भएको फुटसल छ । यो नै पोखराको ठूलो फुटसल हो ।

पोखराका फुटसलले कोर्टको आकारअनुसार खेलाडीसँग रकम लिन्छन् । खेलाडीले सानो कोर्टमा थोरै र ठूलो कोर्टमा खेलेको धेरै रकम लिन्छन् । कोर्टअनुसार बिहान ६ देखि ११ बजेसम्म र दिउँसो ३ देखि ५ बजेसम्म १ हजार २ सयदेखि १ हजार ५ सय रुपैयाँसम्म तिर्नुपर्छ । ११ देखि ३ बजेसम्म एक हजारदेखि एक हजार ३ सयसम्म तिरे पुग्छ । बेलुका ५ देखि ८ बजेसम्म धेरैको फुर्सदिलो समय हुने भएकाले केही महँगो छ । उक्त समयमा १ हजार ५ सयदेखि १ हजार ८ सय रुपैयाँसम्म बुझाउनुपर्छ ।

जिल्ला फुटसल संघका अध्यक्ष सञ्जय लिगल एक फुटसल कोर्ट निर्माण गर्न एक करोड रुपैयाँ लाग्ने बताउँछन् । गणेशटोलमा रहेको बी फिट फुटसलका सञ्चालक उनले फुटसलले रोजगारी पनि सिर्जना गरेको बताए । उनका अनुसार एक फुटसलमा न्यूनतम चार कर्मचारी आवश्यक पर्छ ।

धरानमा पनि माहोल
सुनसरी– धरानमा सञ्चालित एक आयोजनाका सबइन्जिनियर सुमन तामाङ र उनका साथीहरू अचेल धरानका दुई फुटसलमा नियमित खेल्छन् । फुटबल खेल्न ठूलो मैदान, २२ जना खेलाडी चाहिन्छ तर फुटसलमा साना इन्डोर मैदानमा एकातिर पाँच र अर्काेतिर पाँच जनाको ‘फाइभ ए साइड’ मिलेर खेलिन्छ ।

तामाङले आफ्ना टिममा जेकी लिम्बु, सरोज राई, देव सुनुवार, नरेन लिम्बूलगायत समेटेर धरान–१९ स्थित धनकुटे मार्गको बुढासुब्बा फुटसल र धरान–१५ दशरथ मार्गस्थित बिग फुटसलमा नियमित खेल्ने गरेका छन् ।

तामाङले भने, ‘बढदो सहरीकरणले खुला मैदान अभाव भएसँगै धरानमा फुटसलप्रेमी पनि बढेका छन् । ‘इन्डोर गेम’ मानिने फुटसलप्रति बालबालिकादेखि प्रौढ उमेरका महिला पुरुष पनि आकर्षित हुन थालेका छन् । शारीरिक कसरतका लागि यो खेलको आकर्षण बढेको छ ।’ धरानमा एन्फा एकेडेमी र रंगशालाको मैदान छन् । तर ती मैदानमा फुटसल खेल्न नमिल्ने भएकाले इन्डोर गेममा समूह मिलेर रमाइलो गर्दै कसरत गर्ने गरेको तामाङले बताए ।

धरान–१६ समीचोक बस्ने कुमार तामाङ आफ्नो ट्रेनिङ सेन्टरमा लाहुरे बन्न आउने युवालाई लिएर फुटसलमा नियमित कसरत गर्ने गरेको बताए । काठमाडाैं, पोखरा र विराटनगरपछि तीन वर्षयता पूर्वका विभिन्न सहरमा फुटसलको लहर चलेको छ । उनले भने, ‘आखिर जसरी पनि शारीरिक तन्दुरुस्तीका लागि कसरत गर्ने हो । फुटसल घामपानी र रातको समयमा पनि उपयुक्त हुने भएकाले युवायुवतीदेखि ४५ वर्ष कटेका प्रौढ पनि खेल्न आउने गरेका छन् ।’

प्रकाशित : श्रावण २६, २०७५ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?