कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटबल र फुटसलको भिन्नता

कान्तिपुर संवाददाता

काठमाडौँ — फुटबल र फुटसल खेल्ने प्रकृति उस्तै भए पनि यसका नियम, खेल्ने मैदान र खेलाडी संख्या फरक छन् । फुटबलमा प्रत्येक टोलीमा ११ खेलाडी हुन्छन् भने फुटसलमा ५–५ खेलाडी सम्मिलित टोली हुन्छन् ।

फुटबल र फुटसलको भिन्नता

अन्तर्राष्ट्रिय मापदण्डअनुसार फुटबल खेल्ने औसत मैदान १०५/६८ मिटरको हुन्छ तर स्थानअनुसार मैदानको लम्बाइ र चौडाइ ५ मिटरसम्म तलमाथि गर्न पाइन्छ । फुटसलको हकमा भने अन्तर्राष्ट्रिय प्रतियोगितामा कोर्ट ४०/२० मिटरको हुनुपर्छ ।

फुटबल खेल्न प्राकृतिक घाँसे मैदान हुन्छ । कुनै स्थानमा भने एस्ट्रो टर्फ (कृत्रिम घाँस) प्रयोग गरिएको मैदानमा पनि अन्तर्राष्ट्रिय खेल हुन्छ । यसका लागि फिफाले बर्सेनि मैदान निरीक्षण गरेर स्तर निर्धारण गर्ने प्रावधान छ । अन्तर्राष्ट्रिय स्तरको फुटसलको इन्डोर कोर्ट सिन्थेटिक फ्याब्रिक अथवा काठले बनेको हुन्छ । नेपालमा रहेका लगभग सबै फुटसलमा टर्फको प्रयोग गरिएको छ । हालसम्म नेपालमा तीन फुटसल कोर्टमात्र सिन्थेटिक राखेर निर्माण गरिएको छ । आर्थिक रूपमा टर्फ सस्तो हुने भएकाले धेरैले यो रोजेका छन् । टर्फमा रबर प्रयोग गरेर नियमित व्यवस्थापन गरे यसको आयु लम्बिन्छ ।

फुटबल खेल २ हाफमा विभाजन गरी ९० मिनेट खेलिन्छ भने फुटसलको आधिकारिक खेल २०/२० मिनेटको २ हाफमा खेलिन्छ । फुटसल बल तुलनात्मक रूपमा कम उफ्रन्छ र आकार पनि सानो हुन्छ । गोल्पोस्टको आकार पनि कोर्टकै हिसाबमा फुटसलमा सानो हुन्छ । फुटबलमा मैदानको रेखाबाहिर बल जाँदा हातले बल थ्रो गरिन्छ भने फुटसलमा खुट्टाले किक–इन हुन्छ ।

फुटबलमा ३ खेलाडीमात्र परिवर्तन गर्न पाइन्छ र परिवर्तित खेलाडी पुन: मैदान प्रवेश गर्न पाउँदैनन् । फुटसलमा भने खेलाडी परिवर्तन संख्यामा कुनै रोक हुँदैन । टोलीमा समावेश रहेका दुई खेलाडी जतिबेला पनि परिवर्तन गर्न सकिन्छ । रेफ्रीले अनुशासनको कारबाही गर्दै रातो कार्ड दिएको खण्डमा उक्त खेलाडीले मैदान छाड्नुपर्छ र टोलीले खेलको बाँकी समय एक खेलाडी कम रहेर खेल्नुपर्छ ।

प्रकाशित : श्रावण २६, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?