कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फुटसलमा धेरै घाइते हुने ‘विकेन्ड वारियर्स’

स्वरूप आचार्य

काठमाडौँ — फुटसलको प्राविधिक पक्ष र तीब्रताबारे थाहा नभई सिधै मैदानमा उत्रिँदा घाइते हुनेको संख्या बढेको छ । सानो स्थानमा बढीमा ७/७ जनाको टिम बनाएर खेलिने यो ‘क्लोज कन्ट्याक्ट’ खेलमा तीब्रता यति बढी हुन्छ कि शरीरको कुनै पनि भागमा चोट लाग्न सक्ने सम्बद्ध चिकित्सकहरू बताउँछन् ।

फुटसलमा धेरै घाइते हुने ‘विकेन्ड वारियर्स’

सामान्यतया खुट्टा मर्किनु, औंला भाँचिनु, काट्नु, फर्कनुदेखि घुँडासम्मको लिगामेन्ट इन्जुरी हुनेजस्ता ठूला समस्या पनि फुटसलका कारण बढेको हाडजोर्नी विशेषज्ञहरू बताउँछन् । उनीहरूका अनुसार असुरक्षित रूपमा खोलिएका फुटसलमा लडेर टाउको वा मेरुदण्डमै गम्भीर चोट लाग्ने सम्भावना पनि हुन्छ । काठमाडौं मेडिकल कलेजका हाडजोर्नी सर्जरीका सहायक प्राध्यापक तथा आथ्रोस्कोपी र स्पोर्टस मेडिसिनका विशेषज्ञ डा. राजिवराज मानन्धरका अनुसार हप्ताभर अफिस कोठाभित्र काम गर्नेहरू बिदाको दिनमा सिधै गएर ‘विकेन्ड वारियर्स’ भएर गेम खेल्दा इन्जुरी हुनेको संख्या बढेको हो ।

‘फुटसल भनेको क्लोज कन्ट्याक्टमा खेलिने खेल हो । यो खेल्नका लागि एक लेभलको फिटनेस जरुरी हुन्छ,’ उनले भने, ‘साता दिनभर केही नगरी बसेको ग्लानि शनिबार एकदिन मैदानमा छिरेर निकाल्न खोजे पछि त इन्जुरी भइहाल्छ नि ।’

डा. राजीवको तर्कसँग महालक्ष्मी स्थानस्थित द बेस्ट फुटसलका सञ्चालक नवीन बस्न्यातसमेत सहमत छन् । ‘धेरैजसो इन्जुरी हुने भनेकै अति उत्साहित भएर गेम खेल्ने, तर तयारी नगर्नेहरू नै हुन्,’ उनले भने ।

फुटसल खेलेर घाइते भई अस्पताल नै जानेको संख्या बढे पनि फुटसल एरिना र खेलाडी आफैंले अपनाउनुपर्ने सुरक्षाका उपायमा भने ध्यान नदिइएको सम्बद्ध चिकित्सकहरूको दाबी छ ।

दुई वर्षदेखि लगातार फुटसल खेलिरहेका ह्याम्स अस्पतालका जोइन्ट रिप्लेसमेन्ट तथा आर्थोस्कोपी र स्पोर्टस मेडिसिनका विशेषज्ञ डा. सन्दीप भण्डारीका अनुसार फुटसललाई सुरक्षित खेल बनाउन एरिना सञ्चालक र खेलाडी दुवै सचेत हुन जरुरी छ ।

‘सबभन्दा पहिलो कुरा त एरिना सञ्चालकले फुटसलमा बिछ्याइएको टर्फको मेन्टिनेन्स राम्रो गर्नुपर्छ । सबभन्दा पहिला इन्जुरी हुने सम्भावना बढाउने त्यसैले हो,’ उनले भने, ‘हामी जहाँ जे खेल्नकै लागि भनेर गएका हुन्छौं त्यो राम्रो हुनुपर्‍यो नि ।’

डा. भण्डारीका अनुसार अहिले विश्वबजारमा धेरै राम्रा टर्फहरू आइसकेका छन् । जसको प्रयोगबाट इन्जुरी घटाउन सकिन्छ । ‘नेपालमा आधुनिक भनिएका टर्फहरू ल्याउन कति सजिलो र आर्थिक रूपले पनि सहज हुन्छ त्यो त थाहा छैन । तर, त्यस्ता टर्फ प्रयोगमा ल्याउन सके धेरै हदसम्म समस्या कम गर्न सकिन्छ,’ उनले भने, ‘यदि नयाँ टर्फ ल्याउन नसक्ने हो भने पनि भएका टर्फको राम्रोसँग मेन्टिनेन्स गर्ने, वरिपरिका बारहरूमा पनि प्याड वा स्पोन्ज राखेर कभर गर्ने र समयसमयमा सफा गर्ने गर्नुपर्छ ।’

विशेषज्ञ चिकित्सक, फुटसल सञ्चालक तथा खेलाडीका अनुसार पनि फुटसलमा हुने सबभन्दा सामान्य इन्जुरी भनेको खुट्टा मर्किनु (एंकल स्प्रेन) नै हो । खुट्टा मर्किएर अस्पतालमा जचाउन पुगेका अधिकांशलाई केही दिनको आराम गरे पुग्छ । तर, केहीले बेवास्ता गर्दा निको हुन महिना दिनसम्म पनि लाग्न सक्छ । यस्तै स्लोल्डर र एल्बो डिस्लोकेसन अर्को सामान्य समस्या हुन् ।

डा. राजिवराज मानन्धरका अनुसार साताको एक दिनमात्रै खेल्ने ‘विकेन्ड वारियर्स’ हरूको मसल्स (मासु), लिगामेन्ट (दुई हड्डी जोड्ने तन्तु) र जोइन्ट (जोर्नी) कमजोर हुन्छन् । ‘साताभर कार्यालयमा काम गरेर एक दिन मैदानमा उत्रिनु ठिक होइन,’ उनले भने ।

डा. मानन्धरले भने, ‘कुनै पनि गेम खेल्नु अघि वार्म–अप र स्ट्रेचिङ त गर्नै पर्छ, वार्म–अप गर्दा शरिरका विभिन्न अंग तयारी अवस्थामा आउँछन् र स्ट्रेचिङले लिगामेन्ट र ज्वाइन्टलाई तन्काउँछ ।’ फिजियोथेरापिस्ट सामिद कातिलाका अनुसार क्लोज कन्ट्याक्ट खेल खेल्दा इन्जुरी हुनु नौलो कुरा नै होइन । तर, इन्जुरी भइसकेपछि के गर्ने वा के नगर्ने भन्ने थाहा नपाउँदा सामान्य चोटले पनि धेरै नै समस्या दिने गरेको देखिन्छ ।

‘फुटसलजस्तो क्लोज कन्ट्याक्ट गेम खेल्नेले प्राइस (पीआरआईसीई) को बारे थाहा पाउन जरुरी हुन्छ,’ उनले भने, ‘पी भनेको प्रिभेन्सन (रोकथाम), आर भनेको रेस्ट (आराम), आई भनेको आइसिङ (आइस लगाउने), सी भनेको कम्प्रेस (ब्यान्डेज गर्ने) र ई भनेको एलिभेसन (उचालेर राख्ने) हो ।’

चिकित्सकहरूको अनुसार पनि सबभन्दा पहिला त इन्जुरी हुन नदिन प्रिभेन्सन (रोकथाम) मै ध्यान दिनुपर्छ । त्यसपछि मात्र आरआईसीईको कुरा आउँछ । इन्जुरी भएपछि खेल्न छाडिहाल्न चिकित्सकहरूको सल्लाह छ ।

प्रकाशित : श्रावण २६, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?