१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

प्रहरी हत्या प्रकरणः राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

जनकपुर — सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपी प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा रिहा भएका छन् ।

प्रहरी हत्या प्रकरणः राज्यमन्त्री शर्मा साधारण तारेखमा रिहा

सोमबार महोत्तरी जिल्ला अदालतमा आत्मसमपर्ण गरेका राज्यमन्त्री शर्माको बयान झन्डै ३ घण्टा लगाएर लिइएको थियाे ।


११ बजेदेखि लिइएको बयान २ बजे सकिएको थियाे । बयान सकिएलगत्तै महोत्तरी जिल्ला अदालतका मुख्यन्यायधीश ब्रजेश प्याकुरेलको इजलासमा थुनछेकको बहस भएकाे थियाे ।

थुनछेकमा राज्यमन्त्री शर्माको तर्फबाट कानुन व्यवसायी ज्ञानेन्द्र लाल कर्ण, रमेश पाण्डे र देवेन्द्र ठाकुरले बहस गरेका थिए ।


उच्च अदालत जनकपुरले साउन १५ गते असई थमन विकको हत्या आरोपीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेश जारी गरेको १३ दिनपछि राज्यमन्त्री शर्मा अदालतसमक्ष आत्मसम्पर्ण गरेका हुन् ।

राज्यमन्त्री शर्मा सोमबार करिब १० बजे आफ्ना अंगरक्षक सशस्त्र प्रहरीका हवल्दार र कानून व्यवसायीसहित अदालत पुगेका थिए ।


राज्यमन्त्री शर्माको विपक्षमा सरकारी वकिल सुदिप दंगालले बहस गरेका छन् । सशस्त्र प्रहरीका असई विकको हत्यामा राज्यमन्त्री शर्मासहित जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र(शंकर शाही), महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४(क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित कौशल राय पनि आरोपी बनाइएको छ ।

राज्यमन्त्री शर्मा र मेयर मिश्र राष्ट्रिय जनता पार्टीबाट निर्वाचित हुन् । राय, संघीय समाजवादी फोरमका नेता हुन् । असई विक हत्यामा २८ जनालाई आरोपी बनाइएको छ । जसमध्ये अधिकांश प्रहरीको सूचीमा फरार देखिन्छन् ।


तेस्रो मधेस आन्दोलन चलिरहँदा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई विकको २०७२ भदौ २५ गते हत्या गरिएको थियो । आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर बनेका विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुँतेर हत्या गरिएको थियो ।


विकको हत्या अभियोगमा आरोपी बनाइएका २८ जनामध्ये राज्यमन्त्री शर्मा, मेयर मिश्र र सांसद रायसहित सबै फरारलाई पक्राउ गर्न उच्च अदालतले परमादेश जारी गरेको थियो ।


विक हत्याका २८ जना आरोपीमध्ये महोत्तरीका सञ्जय साह र प्रदिप साह पूर्पक्षका लागि कारागार चलान भइसकेका छन् । अर्का आरोपी मोहन ठाकुर तारेखमा छन् ।


असई विकको हत्यामा संलग्न २८ जनाको नामै किटेर उनका दाजु प्रेमबहादुर विकले २०७२ असोज १ गते जिल्ला प्रहरी कार्यालय, महोत्तरीमा जाहेरी दिएका थिए । त्यही जाहेरीको आधारमा जिल्ला अदालत महोत्तरीले २०७२ फागुन २७ गते बयानका लागि इजलाससमक्ष पेश गर्न र फरार रहेका प्रतिवादीहरुको हकमा वारेन्टको ७० दिने म्यादी पूर्जी जारी गरेको थियो ।


फरार आरोपीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको ७० दिनसम्म पनि महोत्तरी प्रहरीले आलटाल गरेपछि असई विककी श्रीमती शोभा गहतराजले २०७४ चैत २८ गते परमादेशमा लागि उच्च अदालत, जनकपुरमा रिट दायर गरेकी थिइन् । उनको रिटमा जिल्ला प्रहरी कार्यालय, महोत्तरी र कार्यालयका प्रमुखलाई विपक्षी बनाइएको थियो ।

प्रकाशित : श्रावण २८, २०७५ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?