कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रहरी हत्या प्रकरणः जलेश्वरका मेयर र राजपाका महासचिव साधारण तारेखमा रिहा

सन्तोष सिंह

जनकपुर — सशस्त्र प्रहरीका असई थमन विकको हत्याको आरोपमा फरार अभियुक्त थप दुई जना महोतरी जिल्ला अदालतमा हाजिर भएर साधारण तारेखमा छुटेका छन् ।

प्रहरी हत्या प्रकरणः जलेश्वरका मेयर र राजपाका महासचिव साधारण तारेखमा रिहा

जलेश्वर नगरपालिकाका मेयर राम शंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डेय मंगलबार जिल्ला अदालत महोत्तरी हाजिर भएर साधारण तारेखमा रिहा भएका छन् ।


जिल्ला अदालतमा हाजिर गराई बयान गरी गराई पाउँ भन्ने निवेदन साथ आफ्ना कानून व्यावसायी मार्फत दुवै जना मंगलबार अदालत पुगेका थिए ।


दुवै जनासँग बयान लिएर महोत्तरी जिल्ला अदालतको मूख्य न्यायधीश ब्रजेश प्याकुरेलको इजलासमा भएको थुनछेक बहसमा वारदातमा प्रत्यक्ष संलग्नता भएको पुष्टि हुने आधार नदेखेपछि साधारण तारेखमा रिहा गर्ने आदेश दिएको श्रेष्तेदार रामानन्द अधिकारीले बताए ।


जलेश्वरका मेयर मिश्र र राजपा महासचिव पाण्डेयको वारदातमा प्रत्यक्ष संलग्नता पुष्टि हुने अधार नभएको र केवल प्रतिवादीको मोवाईल कल डिटेलले निज वारदाताको लोकेसनमा रहेको भन्ने आधारबाट मात्र निजको वारदातमा संलग्नता रहेको अनुमान गर्न नमिल्ने अवस्था देखिएको ठहर गर्दै मुलकी ऐन अदालती बन्दोवस्तीको ४७ नं. बमोजिम तारेखमा राख्नु भनी आदेश गरेको श्रेष्तेदार अधिकारीले बताए ।


मेयर मिश्र र राजपा नेपालका महासचिव पाण्डेयको तर्फबाट कानून व्यावसायी देवेन्द्र ठाकुर,रमेशकुमार पाण्डे,घनश्याम शर्मा र ज्ञानेन्द्र लाल कर्ण सहित चार जनाले बहस गरेका थिए ।


यस अघि सोमबार सशस्त्र प्रहरी असई थमन विकको हत्याको आरोपमा फरार अभियुक्त प्रदेश २ का समाजिक विकास राज्य मन्त्री अभिराम शर्मा महोत्तरी जिल्ला अदालतमा हाजिर भएर साधारण तारेखमा छुटेका थिए ।


उच्च अदालत जनकपुरले साउन १५ गते असई थमन विककको हत्याको आरोपमा फरार रहेकोलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई परमादेश जारी गरेका थिए ।


सशस्त्र प्रहरीको पथलैहया बाहिनीबाट यूनएनको मिशनमा जानका लागि परीक्षा दिएर फर्केका सशस्त्र प्रहरीका असई विकको २०७२ भदौ २५ हत्या भएको थियो ।

प्रकाशित : श्रावण २९, २०७५ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?