कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बकुल्ला मार्ने प्रहरी नियन्त्रणमा

रमेशकुमार पौडेल

चितवन — धेरै संख्यामा बकुल्ला मारेको आरोपमा चितवन प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

बकुल्ला मार्ने प्रहरी नियन्त्रणमा

मंगलबार अपरान्ह ४ बजे भरतपुर महानगरपालिका–६ केशरबागमा बाँसको लौरोले अन्धाधुन्ध बकुल्ला मार्न आइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।


चितवन प्रहरीका प्रवत्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालले उनीहरुले ७२ वटा सेतो बकुल्ला मारेको जानकारी दिए ।


पक्राउ पर्नेमा सबै सुनसरीको दुहबी नगरपालिका–६का व्यक्तिहरु छन् । जिल्ला प्रहरी कार्यालयले दिएको विवरण अनुसार पक्राउ पर्नेमा २० वर्षीय महमहद मुसाफ, २३ वर्षीय महमद फिरा हुसेन,१८ वर्षीय महमद हाजिम, २३ वर्षीय महमद सामिन, १६ वर्षीय महमद ईस्ताक, महमद कलाम र महमद कन्जर तथा १८ वर्षीये महमद ईस्लाय रहेका छन् ।


प्रहरीले उनीहरुलाई चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सूचना अधिकारी नुरेन्द्र अर्यालले पक्राउ परेकाहरुको अनुसन्धान सुरु भएको बताए ।


‘हामी बयान लिन्छौँ । यसरी अन्धाधुन्ध रुपमा ७२ वटा बकुल्ला मारिएका छन् । अपराध प्रमणित भएमा जनही ५० हजार रुपैयाँ जरिवाना वा एक वर्षसम्म कैद वा कैद र जरिवाना दुवै हुन सक्ने अर्यालले जानकारी दिए ।


तीनवटा मोटरसाइकलमा चढेर आएका उनीहरु प्रहरीलाई देखेपछि भागेका थिए । प्रहरीले उनीहरु चढेको ना ७ प ४५३८, ना २८ प ९६६५ र ना २८ प ८८२६ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।


भाग्दै गरेका उनीहरुलाई इलाका प्रहरी कार्यालय गीतानगर र चितवन राष्ट्रिय निकुञ्जको देवनगरमा रहेको पोष्टको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : श्रावण २९, २०७५ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?