‘विधेयकले बिरामीकै ज्यान जोखिममा’

कान्तिपुर संवाददाता

काठमाडौँ — मुलुकी ऐन विस्थापित गरी भदौ १ देखि लागू हुने अपराध संहितामा इलाजसम्बन्धी महलको व्यवस्थाले बिरामीहरूकै ज्यान जोखिममा पार्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।

‘डाक्टरले ज्यान लिन होइन बचाउन काम गर्ने हो, उपचार गर्दा ज्यान गयो भने त्यो रोक्न सक्ने कुरा होइन । सबै अवस्थामा ज्यान सबैको बच्छ भन्ने छैन, हामी भगवान् पनि होइनौं,’ दन्त चिकित्सक सुशील कोइराला भन्छन्, ‘तर ऐनमा जेल सजाय हुने उल्लेख भएकाले रिस्क लिएरै पनि बिरामीको ज्यान बचाउँछु भनेर अघि सर्ने चिकित्सकहरू स्वात्तै घट्नेछन् । यसले अन्तत: हाम्रा बिरामी उपचार गर्न भारत वा अन्य देशमा जान बाध्य हुनेछन् । धेरै खर्च गर्न नसक्नेहरूको ज्यानै तलमाथि पर्ने जोखिम बढ्नेछ ।’


संसारमा उपचार गर्दा बिरामीको ज्यान गए चिकित्सकमाथि छानबिन हुने भए पनि ज्यान मुद्दा भने कतै लाग्ने नगरेको उनले बताए । ‘हो चिकित्सकहरूका अव्यवस्था र छाडापन पनि छन्, पैसाका लागि जे पनि गर्नेहरू पनि छन् । केही वर्षयता चिकित्सा पेसा अमर्यादित र पैसामुखी हुँदै आएकाले यसको इज्जत पनि गुम्दै गएको छ,’ अर्का डा. सुवास घिमिरे भन्छन्, ‘तर यसो भन्दैमा चिकित्सकलाई जेलै हाल्ने कानुन ल्याउनु राम्रो होइन । कानुनले समस्या बढाउने होइन भएका समस्या हल गर्ने उपाय सुझाउनुपर्छ ।’ जेल हाल्ने व्यवस्था नगरी अरू धेरै देशमा जस्तै उपचार गर्दा लापरबाही भए छानबिन गरी चिकित्सकको लाइसेन्स खारेज गर्ने कानुन ल्याउन सकिने डा. कोइरालाको सुझाव छ ।

Yamaha


चिकित्सा शिक्षामै विद्यावारिधि गरेका अधिवक्ता रमेश पराजुली भने ऐनको उक्त व्यवस्थाबाट आम रूपमा चिकित्सकहरू आत्तिनु नपर्ने बताउँछन् ।


‘ज्यान लिने मनसाय ९९ प्रतिशत चिकित्सकको हुँदैन, उपचार गर्दा ज्यान भने जान सक्छ,’ उनी भन्छन्, ‘यस्तोमा फौजदारी कानुन आकर्षित हुने नभई हाल प्रचलनमा रहेको देवानी कानुनअन्तर्गत पर्ने उपभोक्ता संरक्षण ऐनअनुसार मुद्दा चल्छ । तर कुनै चिकित्सकले आफ्नो ज्ञान दुरुपयोग गरी मृगौलाजस्ता मानव अंगको तस्करी गर्छ भने त्यो पूरै अपराध हो । यो ऐन त्यस्तै खालका अवस्थामा लागू हुने गरी बनेको हो ।’


प्रकाशित : श्रावण ३०, २०७५ १०:१२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

घाम डुबेपछि ‘मोबाइल अफ’

दीपेन्द्र शाक्य

संखुवासभा — नुमका दुर्गाबहादुर पराजुली दिनभर मोबाइल प्रयोग गर्छन् । घाम लागुन्जेल उनको मोबाइलमा ‘टावर’ आउँछ । जब साँझ पर्छ मोबाइलले काम गर्न छाड्छ ।

फेरि मोबाइल प्रयोग गर्न परे उनले भोलिपल्ट घाम पर्खनुपर्छ । ‘घाम अस्ताएसँगै हाम्रो क्षेत्रमा वितरण गरिएको नेपाल टेलिकमका स्काइ र नमस्तेका टावर जान्छ,’ उनले भने, ‘प्राय: हुस्सु बढी लाग्ने र घाम नलाग्ने भएकाले टेलिकमले राखेको सोलार पर्याप्त चार्ज नहुँदा समस्या छ ।’


दुर्गम गाउँहरूमा रहेको टेलिकमको बीटीएस टावर अझै सोलार पावरको भरमा रहेको छ । केन्द्रीय प्रसारण लाइनको बिजुली विस्तार नभएका कारण दुर्गममा रहेका सात वटा वीटीएसका टावर घाम अस्ताए सँगै बन्द हुने गरेको छ ।


बिजुली नपुगेका स्थानमा टेलिकमका मोबाइल प्रयोग गर्ने ग्राहकहरूले मौसमको भरमा सेवा पाउँछन् । दिनभर घाम लागेन भने सोलार चार्ज नभएका कारण सेवाग्राही मोबाइल सेवा सञ्चालनमा आउँदैन । बेलुकी घाम अस्ताएपछि बिहान ८ बजेअघि दुर्गमका बासिन्दा सञ्चारबाट विच्छेद हुने गरेको पराजुलीले बताए ।


चीनको सीमावर्ती किमाथाङ्का नाकामा रहेको टावरबाट पनि २४ घण्टा सेवा प्रवाह हुँदैन । स्थानीय बासिन्दा छिमेकी देश चिनको सिमकार्ड प्रयोग गर्न बाध्य छन् । सोलारका भरमा रहेका वीटीएस टावरहरू रहेको स्थानमा व्याट्री पुरानो भएकाले पनि समस्या भएको टेलिकम खाँदबारी शाखाका प्रमुख राधारमण भट्टराईले जनाए । ‘ब्याट्री पुरानो भएको छ,’ उनले भने, ‘लामो समयसम्म काम गर्दैन, परिवर्तनका लागि माथिल्लो निकायमा पत्राचार गरेको छु । नयाँ ब्याट्री राखेपछि यो समस्या केही हदसम्म हट्छ ।’


नयाँ ब्याट्री राखे पनि घामको भरमा मात्र २४ सैं घण्टा सेवा दिन गाह्रो हुने भट्टराईले बताए । हिमाली क्षेत्रमा खासै घाम नलाग्ने भएकाले समस्या भएको उल्लेख गर्दै उनले बिजुली नपुगेसम्म यस्तै समस्या भइरहने बताए । खाँदबारी शाखाले भोजपुरसहित १७ स्थानबाट सञ्चार सेवा प्रवाह गरिएको छ ।


जिल्लाका छ स्थानका बीटीएस टावर सोलरबाटमात्र सञ्चालन हुँदै आएका छन् । चिचिला गाउँपालिकाको छ्याङुटी, मकालु गाउँपालिकाको भाटभोटेनी, भोटखोला गाउँपालिकाको बाक्ले, भोटखोलाको माक्पालुङ, सिलिचुङ गाउँपालिकाको रमितेमा सोलारपावरका भरमा वीटीएस प्रणालीमार्फत मोबाइल सेवा सञ्चालन भएको छ ।


भोटखोलाको किमाथाङामा रहेको टावर प्रत्यक्ष भिसेट (स्यार्टलाइट) मार्फत सञ्चालनमा रहेको शाखाका प्रमुख भट्टराईले जानकारी दिए । संखुवासभाबाट नै भोजपुरको साल्पासिलिछो गाउँपालिकाको कुलुङमा पनि सोलारकै भरमा वीटीयसबाट सेवा प्रदान गरिरहेको छ । शाखाले जीएसएम ८, सीडीएमए ५ र ल्याडलाइन सेवा ५ स्थानबाट सञ्चालन गरिरहेको उनले बताए ।


खाँदबारीबाट भोजपुरको षडानन्द नगरपालिकाको दिङ्लामा ल्याडलाइन वितरण गरिएको छ । षडानन्दको झ्याउँपोखरी र साल्पासिलिछोको कुलुङ्मा जीएसएम सेवा सञ्चालनमा छ । शाखाले १ हजार ९ सय २ बाट ल्याडलाइन फोन वितरण गरेको छ । सबैभन्दा धेरै खाँदबारीमा १ हजार १ सय ८० उपभोक्ता छन् । ल्याडलाइन वितरण भएको स्थानमा टेलिकमले एडीएसएल सेवा समेत वितरण गरेको उनले बताए । खाँदबारीले भोजपुरको दिङ्लामा पनि ल्याडलाइन वितरण गरेको छ ।

प्रकाशित : श्रावण ३०, २०७५ १०:१२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT