कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रेमको नाटक गरेर हवलदारद्वारा हत्या !

युवती हत्याको आरोपमा प्रहरी हवल्दारमाथि अनुसन्धान

काठमाडौँ — ४ साउनको कुरा हो । मीनबहादुर पुडासैनीले अचानक खबर पाए, बहिनी चमेली घले बिरामी भएर अस्पतालमा भर्ना भएकी छन् । अनामनगरमा रहेका मीन हतारिँदै बसुन्धरामा रहेको ग्रीन सिटी अस्पतालमा पुगे । आकस्मिक उपचार कक्ष पुरै चहार्दा पनि बहिनी फेला नपरेपछि उनले अस्पतालका कर्मचारीको सहयोग लिए ।

प्रेमको नाटक गरेर हवलदारद्वारा हत्या !

बहिनीको त सघन उपचार कक्षामा पो उपचार भइरहेको रहेछ । विष सेवन गरेकी चमेलीलाई उनका श्रीमानले अस्पताल ल्याएर भर्ना गरेको सुनेपछि पुडासैनी चकित परे । किनकी असार २३ गतेदेखि रसुवाको उत्तरगथा गाउँपालिका-२ स्थित डाँडागाउँ माविमा शिक्षक पदमा कार्यरत बहिनीको बिहे भएकै थिएन ।


उपचारकै क्रममा सोही दिन बहिनीको मृत्यु भएपछि पो पुडासैनीले थाह पाए, रसुवाबाट कसरी बहिनी काठमाडौं आइन । उनको जीवनका के कस्ता घटना जेलिएर र कसरी बहिनीको मृत्यु भयो ? चमेलीको मृत्युको कथामा जोडिएका छन्, एक प्रहरी हवलदार । गोरखाको विकट ताक्लुङ गाउँबाट गोर्खा सदरमुकामको टक्सार हुदैं चितवनमा बसाई सरेका हवल्दार राजेन्द्र तिवारीले अस्पताल भर्ना गर्दा आफू बिरामीको श्रीमान भएको बताएका थिए । चमेलीको मृत्युका पछाडी यिनै राजेन्द्रसँग जेलिएको सम्बन्धको गाँठो जिम्मेवार देखिन्छ ।


४ साउन । बिहान ३:३५ । मनमैजुस्थित डेराबाट चमेलीलाई राजेन्द्र तिवारीले महाराजगञ्जको शिक्षण अस्पताल पुर्‍याएका अस्पतालको कागजताबाट देखिन्छ । सघन उपचार कक्षामा बेड खाली नभएपछि अस्पतालले चमेलीलाई ग्रीन सिटी अस्पतालमा रेफर गरिदिएको थियो । जहाँ दाइ मीनले निस्प्राण बहिनीलाई भेटेका थिए । बहिनीको मृत्युपछि र उनको मोबाइलमा भएका म्यासेज र म्यासेन्जर मार्फत भएका रेर्कड भएका कुराकानीको रेकर्ड सुनेपछि मीनले थाह पाए, कसरी बहिनी नक्कली प्रेमको पासोमा परेकी रहिछे भनेर ।


एक वर्षभन्दा लामो समययता चमेली हवल्दार राजेन्द्रसँग प्रेम सम्बन्धमा थिइन् । उनीहरुको हुर्किरहेको प्रेममा कुनै सीमा थिएन । तर प्रेमको धागो एकदिन अचानक चुँडियो । त्यसको कारक थिए, हवल्दार राजेन्द्र । विवादास्पद विगत भएका र दोस्रो विहेपछि सन्तान समेत भएका राजेन्द्रले चमेलीलाई आफू अविवाहित भएको झुटो तथ्य बताएर प्रेमको नाटक गरिरहेको देखिन्छ । प्रेमी विवाहित भएको थाह पाएपछि चमेली सम्बन्धलाई टुटाएर बस्न खोजीरहेकी थिइन् । कान्तिपुरलाई प्राप्त उनीहरुबिचको संवादको रेर्कड सुन्दा चमेली प्रेमीको झुट थाहा पाएपछि समझदारीमा सम्बन्धलाई अन्त्य गर्ने बाटोमा देखिन्छिन् । राजेन्द्र भने आफ्नो प्रेमको कुनै आँखा नहुने र विवाहित भएपनि दोस्रो विवाह गर्ने पक्षमा रहेको देखिन्छन् ।


एक अर्काको फेसबुक अकाउन्टको पासवर्ड समेत साटासाट गरेका उनीहरु असमझदारी चुलिँदै गएपछि विवादको तहसम्म पुगेको देखिन्छ । चमेली प्रेमसम्बन्धको सबै कुरा बिर्सेर आ-आफ्नो बाटो हिँडने पक्षमा देखिन्छिन् भने राजेन्द्र राजेन्द्र आक्रोशित बन्दै सम्बन्धमा रहदाका तस्बिरहरु प्रयोग गरेर चमेलीलाई उपयोग गर्ने पक्षमा देखिन्छन् । कान्तिपुरलाई प्राप्त उनीहरुबीचको एक संवादमा चमेलीले भनेकी छन्, 'तपाईंको घरमा आँखाको तारा जस्तो छोराछोरी छ । १९ वर्षमा विबि गरेर ल्याएकी श्रीमती छिन् । मलाई किन सत्य कुरा बोल्नुभएन । यति त गर्नुभयो ।'


जवाफमा राजेन्द्रले आफूले सम्बन्ध पनि नटुटाउने र प्रेमको मूल्य जसरी पनि चुकाउने अडान राखेको देखिन्छ । चमेलीले बारम्बार राजेन्द्रलाई मोबाइलमा भएका फोटोहरु हटाउन र विगतका कुरा बिर्सेर स्वतन्त्र भएर आ-आफ्नो बाटो लाग्न सुझाएपनि राजेन्द्र फोटोहरु विवाहको प्रमाण भएको बताइरहन्छन् ।


सम्बन्ध यहीँ उतार चढावमा स्कुल बिदा लिएर काठमाडौं आएकी चमेली केही दिनयता परिवारका सदस्यको सम्पर्क बाहिर हुन्छिन् । दाई मीनले भने, ‘बहिनीलाई फोन गर्दा राजेन्द्र नै उठाउँथे र बहिनीसँग कुरै गर्न दिँदैनथे ।’ चमेलीलाई लिएर हिँडेका राजेन्द्र कहिले काठमाडौं आए ? उनीहरु डेरामा कतिदिन बसे र कसरी विष सेवनको घटना भएको भन्नेबारे केही तथ्य खुलेको छैन । बहिनीको मृत्युपछि मीनले महानगरीय प्रहरी वृत्त बालाजुमा बहिनीमाथि हिंसा र बलात्कार पछि हत्या भएको भन्दै निवेदन दर्ता गराएका थिए । लगत्तै बालाजु वृत्तले राजेन्द्रलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।


बालाजु वृत्तका डिएसपी चिरन्जिवी कोइरालाले घटनबारे अनुसन्धान सकेर सोमबार नै सरकारी वकिलको कार्यालयमा मुद्दाको फाइल पेश गरेको बताए । डिएसपी चिरन्जिवीले राजेन्द्रले विवाहेत्तर सम्बन्ध राखेको र चमेलीलाई डेरा लिएर राखेको देखिएको बताए । उनले भने, ‘केटी पक्षकाले मानसिक तनाव दिएर हत्या गरेको आरोप सहित निवेदन दर्ता गरेका छन् ।’ कान्तिपुरसँग कुरा गर्दै दाइ मीनले बहिनीको शरिरमा चोट रहेकाले घटना शंकास्पद रहेको बताए ।

प्रकाशित : श्रावण ३१, २०७५ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?