कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहे गर्न नमान्दा प्रेमिकाको हत्या

मोरङ — विराटनगर महानगरका एक युवकले बिहे गर्न नमानेको निहुँमा प्रेमिकाको हत्या गरेका छन् । महानगर–१३ का ३० वर्षीय दिनेश भट्टराईले प्रेमिका २३ बर्षीया शिखा घिमिरेलाई शुक्रबार धारिलो हतियारले हानेर हत्या गरेका हुन् । 

बिहे गर्न नमान्दा प्रेमिकाको हत्या

प्रहरीका अनुसार उनीहरु बिहानै घरबाट को१७प १७२३ नम्बर स्कुटरमा घुम्न निस्किएका थिए । घुम्दै ग्रामथान–३ सिद्रहास्थित नहरछेउ पुगेपछि हत्या गरेको युवकको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मनोज केसीले बताए । ‘घिमिरेको अनुहार, घाँटी, टाउकोलगायत शरीरका विभिन्न भागमा काटेर नहरको डिलमा फालिएको थियो,’ उनले भने, ‘शव चिन्नै नसकिने गरी अनुहारमा धारिलो हतियारले काटिएको छ ।’


शव फालेर भाग्न खोजेपछि स्थानीयले भट्टराईलाई पक्राउ गरी प्रहरी बोलाएका थिए । भट्टराईलाई स्थानीयले समात्न खोज्दा उनले छुरा देखाएका थिए । त्यही क्रममा भट्टराईको हात काटिएको केसीले बताए । ‘स्थानीयले सुरुमा दुबैलाई नहरछेउ टहरामा कुरा गरिरहेको देखेका थिए । त्यसपछि झगडा परेजस्तो तानातान गरिरहेको देखिएको प्रत्यक्षदर्शीले बताएका छन्,’ केसीले भने, ‘युवती चिच्याएको सुनेपछि गाउँले त्यता गएका रहेछन् ।’


इलाका प्रहरी बेलबारीका निरीक्षक रामकुमार राई नेतृत्वको टोली घटनास्थल गई भट्टराईलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको दाउ, चक्कु र स्कुटर बरामद गरेको छ ।


प्रहरी उपरीक्षक केसीका अनुसार दुबैबीच प्रेमसम्बन्ध रहेको तर युवतीले बिवाह गर्न नमानेपछि हत्या गरेको युवकले बयान दिएका छन् । भट्टराईले शिखा केही दिनदेखि अर्कै केटासँग लागेको र केही दिनमै आफूलाई छाडेर अस्ट्रेलिया जान लागेकाले हत्या गरेको बताएका छन् । ‘केटाले भनेकै कुरो मान्न सकिँदैन, केटी अस्ट्रेलिया जाने कुरो अनुसन्धानबाट खुल्ला,’ उनले भने, ‘घटनास्थलबाटै आरोपी पक्राउ परिसकेकाले ज्यानसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको छ ।’


प्रकाशित : भाद्र १, २०७५ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?