कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भौगोलिक जटिलताले रेलमार्ग बनाउन छेक्दैन : परराष्ट्रमन्त्री

सुरेशराज न्यौपाने

नयाँदिल्ली — प्राविधिक अध्ययनले केरुङ–काठमाडौं रेलमार्ग निकै जटिल र कठिन औंल्याए पनि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भने त्यस्तो निष्कर्षमा पुग्न हतार गर्न नहुने बताएका छन् । 

भौगोलिक जटिलताले रेलमार्ग बनाउन छेक्दैन : परराष्ट्रमन्त्री

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न शुक्रबार दिल्ली आएका मन्त्री ज्ञवालीले कान्तिपुरसँगको सक्षिप्त कुराकानीका क्रममा त्यस्तो बताएका हुन् । नेपालको भौगोलिक जटिलता यथार्थ भए पनि विज्ञान र प्रविधिको क्षेत्रमा भएका ठूला ठूला आविष्कारका सामु कुनै पनि भूगोल अनुल्लघंनीय रहन नसक्ने हुँदा उत्तर र दक्षिण दुवै तर्फबाट नेपाल रेलमार्गमा जोडिन सक्ने मन्त्री ज्ञवालीको दाबी छ ।


गत बिहीबार कान्तिपुरको अंग्रेजी सहप्रकाशन द काठमाडौं पोष्टले एक चिनियाँ कम्पनीले गरेको प्राविधिक अध्ययनलाई उद्धृत गर्दै विकट भूगोल र उच्च भूकम्पीय जोखिम क्षेत्र भएकाले केरुङ–काठमाडौं रेलमार्गको निर्माणलाई अत्यन्त कठिन र चुनौतीपूर्ण रहेको खुलासा गरेको थियो । चिनियाँ कम्पनी चाइना रेल्वे फस्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्युटले प्रस्तावित १२१ किलोमिटर उक्त रेलमार्गको अध्ययन गरेको हो ।


मन्त्री ज्ञवालीले रेलमार्गको प्राविधिक अध्ययन प्रतिवेदन अन्तिम टुंगो लागि नसकेको हुँदा अहिले नै रेलमार्ग सम्भव छ र छैन भन्ने टिप्पणी गर्नुको कुनै अर्थ नरहेको बताए । ‘प्रतिवेदन औपचारिक रुपमा अझैसम्म बुझाइएको छैन । त्यसमा छलफल गर्नका निम्ति भदौको पहिलो साता चीनको सियाम बैठक हुँदैछ । त्यहाँ औपचारिक रुपमा छलफल नहुँदै एउटा अनुमानका भरमा टिप्पणी गर्नुको कुनै अर्थ छैन’ ज्ञवालीले भने । आगामी साता नेपाल र चीनका प्रतिनिधि मण्डलबीच सियाममा हुने चार दिने बैठकले रेलमार्गको प्राविधिक अध्ययन माथि छलफल गर्ने बताइएको छ । र, सोही बैठकले नै विस्तृत परियोजना प्रतिवेदन तयार पार्नुका अघिका जटिलताहरु फुकाउने सन्दर्भमा पनि उपाय सुझाउने अनुमान गरिएको छ ।

नेपालमा रेलमार्ग र अन्य ठूला पूर्वाधारहरुको विषय उठ्नासाथ त्यसमा हात नै हाल्नु हुँदैन र सक्दैन भन्ने कोणबाट छलफलका हुनुका पछाडि मुलुकलाई सधैँ अल्पविकासको चक्रव्यूहमा राख्ने नियत होइन भन्नेमा आफूलाई आंशका भएको मन्त्री ज्ञवाली बताए । ‘वातावरणीय र लगानीका पक्षहरुलाई निश्चित रुपमा ध्यान दिनुपर्छ । तर, त्यो भन्दै केरुङ–काठमाडौं रेलमार्गको कुरा गर्नासाथ भू-वनोट कमजोर भन्ने, रक्सौल–काठमाडौंको कुरा गर्दा चुरेलाई क्षति पुग्छ भन्नुका पछाडि कुनै स्वार्थ लुकेको हो भन्ने पनि लाग्छ,’ ज्ञवालीले भने ।

पछिल्लो समय अनावश्यक शंका र टिप्पणी चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरई)का सन्दर्भमा गर्ने गरेको उनको भनाइ थियो । ‘बिआरआईको प्रसंगमा ऋणको पासो (डेब्ट ट्र्याप)को कुरा झिकिहालिन्छ । कस्ता परियोजनामा कुन शर्तमा ऋण लिने भन्ने कुरामा सतर्कता अपनाउनै पर्छ,’ मन्त्री ज्ञवालीले थपे । तर, ऋणको पासोको त्रास देखाएर नेपाललाई सँधै अल्पविकासको पासोमा पारिराख्ने काम नहोस् भन्नेमा पनि सचेत हुनुपर्ने ज्ञवालीको भनाइ छ ।

प्रकाशित : भाद्र २, २०७५ १७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?