भक्तपुरे माटाका भाँडा : नेपालीको हेला, विदेशीको चासो 

सुनीता साखकर्मी

भक्तपुर — नाम लिली, उमेर २६ । अघिल्तिर फनफनी घुमिरहेको चक्रबाट उनले सानो माटोको पाला बनाइन् । अनि मुसुक्क हाँसिन् ।

भक्तपुरस्थित बोलाछेँ (पोटरी स्क्वायर)मा सृजन प्रजापति चिनियाँ नागरिक लिलीलाई माटोको भाडो बनाउन सिकाउँदै । तस्बिर : सुनीता साखकर्मी/कान्तिपुर

भूगोलमा सानो तर सम्पदा र संस्कृतिमा ठूलो जिल्ला भक्तपुरको पोट्री पार्कमा केही दिनयता यी चिनियाँ युवती माटोका भाँडा बनाउने कला सिक्दैछन्।

Yamaha

कला/संस्कृतिको खुला संग्रहालय भक्तपुरमा पर्यटकहरू यत्रतत्र घुमिरहेका बेला लिली भने माटो मुछिरहेकी हुन्छिन्। माटोको भाँडाका लागि अन्तर्राष्ट्रिय रूपमै चर्चित यो थलोमा चीनबाट दुई साताअघि मात्रै आएकी उनलाई सिर्जन प्रजापतिले सिकाइरहेका छन्।

सँगै आएका सहपाठी भक्तपुरका सम्पदा नियाल्न व्यस्त हुन्छन्, लिलीलाई भने यहाँको कला जसरी पनि सिक्नु छ। ‘यसपटक माटोका भाँडा सिक्नै आएको हुँ,’ सान्सी प्रान्तबाट आएकी उनले भनिन्।

लिलीको यो तेस्रो नेपाल भ्रमण हो। अघिल्ला दुई भ्रमणमा उनी थाङका र पौभा कलाको फ्यान भइन्। तर ती दुवै बनाउन कठिन लागेपछि माटोका कलातिर तानिइन्। ‘थाङका, पौभाभन्दा यो सिक्न सजिलो भइरहेको छ,’ उनले भनिन्, ‘नेपालबाटै चीन पुगेका एक साथीमार्फत यहाँ सिक्ने व्यवस्था मिलेको हो।’

हाइस्कुल सकाएर काममा लाग्न थालेकी उनी फुर्सद हुनेबित्तिकै नेपाल नै आउने बताइन्। यसपटक भने विशेष सीप सिकेर जाने उद्देश्यले आएकी हुन्।

चीनमा पनि सेरामिक्सको भाँडा बनाइन्छ, तर उनी बस्ने वरपर बनाउँदैनन् रे। ‘घुम्न नि पाइने, सिक्न नि पाइने,’ उनले खुसी व्यक्त गरिन्। उनी चीन फर्किएर यसकै व्यवसाय गर्न चाहन्छिन्।

लिलीलाई सिकाइरहेका २४ वर्षीय सिर्जनले चार वर्षदेखि माटाको कलात्मक भाँडाहरू बिक्री गर्नुका साथै सिक्न चाहनेका लागि वर्कसपसमेत सञ्चालन गर्दै आइरहेका छन्। यसमा उनलाई परिवारको पनि साथ छ। उनका तीनै जना दाजुभाइ माटोकै काम गर्छन्।

अब माटो छैन
सिर्जन दिनमा १ हजार माटोका पाला बनाउँछन्। बुबाले बनाएको देख्दै हुर्किएका उनलाई यो काम सानैदेखि मन पथ्र्यो। ‘पेसा राम्रो छ, कमाइ पनि हुन्छ,’ उनले भने, ‘तर अहिले माटो पाउन छाडेपछि धेरैले यो काम छोडदै छन्।’

उनका अनुसार कुनै समय भक्तपुरका ५० भन्दा बढी परिवारले यो पेसा गर्थे, अहिले एक दर्जनमा सीमित भएको छ।

उनी सानो छँदा बुबाको पछि लागेर सूर्यविनायक तलतिरको खापीमा पुग्थे। टोलै मिलेर माटो खन्ने काम हुन्थ्यो। ‘अघिल्लो दिन खन्ने, भोलिपल्ट सित्तैमा ट्याक्टरमा हालेर ल्याउने गर्थे सबैले,’ उनी सम्झन्छन्, ‘प्लटिङ बढेपछि स्थानीयले माटो ल्याउन दिएनन्। पछि ललितपुरको हरिसिद्धिबाट ल्याउन थालियो।’

हरिसिद्धिबाट टिपरको ५/६ हजार तिरेर माटो ल्याउने गरेकोमा चार वर्षअघिदेखि त्यहाँ पनि बन्द गरिएको छ। लस्सादार माटो हुनुपर्ने भएकाले जहाँ पायो त्यहाँकोले काम गर्दैन। सिर्जनका अनुसार अहिले आम्दानी भए पनि यो काम गर्ने घटदै छन्।

हुन त सिर्जनको पसलमा सेरामिक्सका भाँडाहरू पनि देखिन्छन्। तर धेरैले स्थानीय माटाकै भाँडा खोज्छन्। ‘सेरामिक्स पनि माटाकै विधि हो, चिल्लो बनाउने प्रक्रिया मात्रै फरक,’ उनले भने, ‘सेरामिक्सका भाँडा बनाउन माटोमा सेरामिक ग्लेज हालेर चिप्लो बनाउनुपर्छ।’

‘चाखा’को सट्टा इलेक्ट्रिक हिवल
संस्कृतिविद् ओम धौभडेलका अनुसार संस्कृत भाषाको कुम्भकारबाट नै पहाडमा माटोको काम गर्नेहरूलाई कुमाले, भक्तपुर नगरकालाई कुम्भ, थिमिकालाई कुम्भाया र तराईकालाई कुम्हार भन्ने गरिएको हो। भक्तपुरको पाँचतले मन्दिरको माथिल्लो टोलका प्रजापतिलाई सिज्या र तल्लो टोलकालाई हाकुज्या भन्ने गरिन्छ।

सिज्याहरूले खैरो माटो प्रयोग गरेर दही जमाउने कतारो र फेसनेबल खालका सामग्री बनाउने गर्छन् भने हाकुज्याहरूले कालो लस्सादार माटोबाट खुत्रुके, नानी, घैंटोलगायत भाँडा बनाउने गर्छन्। पहिले काठको ठूलो चाखा घुमाएर भाँडा बनाइन्थ्यो, अहिले त्यो भक्तपुरमै नगण्य मात्रामा पाइन्छ। नयाँ पुस्तालाई चाखा घुमाएर भाँडा बनाउन आउँदैन। इलेक्ट्रिक हिवल प्रचलनमा आएको छ।

४१ वर्षीय मोहन प्रजापतिका अनुसार अहिले माटोलाई प्लग मेसिनमा राखेर पेलिन्छ। त्यसपछि माटोमा भएका ढुंगाहरूलाई हातैले मुछेर निकालिन्छ। यो क्रम दुई घण्टा चलेपछि उनीहरू इलेक्ट्रिक हिवलको प्रयोग गर्छन्।

अहिले धेरैजसोले इलेक्ट्रिक हिवल नै प्रयोग गर्छन्। ‘चाखा गह्रौँ हुन्छ, मिहिनेत पनि धेरै पर्छ। बेलाबेलामा घुमाइरहनुपर्दा गाह्रो हुन्छ,’ उनले भने, ‘इलेक्ट्रिक हिवलमा बसीबसी हजारौं सामान छिट्टै बनाउन सकिन्छ।’

चाखा चलाएरै माटोको भाँडो बनाएका ८० वर्षीय रामगोविन्द प्रजापतिका अनुसार पहिलेको तुलनामा अहिले निकै कम भाँडाहरू बन्ने गरेका छन्। ‘सबैलाई फाइदाको काम मात्रै गर्नु छ अहिले। समयको फाइदा, पैसाको फाइदा खोजे जसले पनि। पुरानो प्रविधि र मौलिकताको कसैलाई पर्वाह छैन, सीपको कदर पनि छैन,’ उनले नेपाल भाषामा गुनासो गरे, ‘अहिले त समय नै लोभी भयो।’

भएन सीप हस्तान्तरण
पुरुषहरू माटोको भाँडो बनाउने र महिलाहरूचाहिँ त्यसको पिँध बाक्लो भयो भने बालुवा हालेर प्वेउ गर्ने, रंगाउने र सुकाउने काम गर्छन्। ५८ वर्षे सत्यलक्ष्मी प्रजापति बुझ्ने उमेरको भएदेखि यस्तै काम गर्दै आइरहेकी छन्।

उनका पति अहिले ७५ वर्षका भए। पतिले काम गर्न सकुन्जेल धेरै थरिका भाँडा बनाउँथे। सत्यलक्ष्मी त्यसैलाई मिलाउने र सुकाउने गर्थिन्। तर पतिले काम गर्न नसक्ने भएपछि उनका छोराले खुत्रुकेबाहेक अरू बनाउन जानेनन्। अहिले सत्यलक्ष्मी दिनहुँ आफ्नो मिहिनेत र पसिना भरेर खुत्रुके टाल्छिन्।

बुबाको सीप छोराले नलिएकोमा उनी दु:खी छन्। अहिले उनका छोराले चारवटा साइजका खुत्रुके बनाउँछन्। ‘अहिले त माग पनि खुत्रुकेकै बढी छ,’ उनले भनिन्, ‘पानी पर्‍यो भने दिनको १०, १२ वटा, परेन भने दिनको सयवटासम्म बनाउन सक्छ छोराले। तीन जनाको परिवार यसै पेसाले धानिरहेको छ।’

सत्यलक्ष्मीको परिवार महिनामा ३० देखि ४० हजारसम्म कमाउँछ। खुत्रुकेमा रातो रंग लगाउनका लागि भने उनीहरू अचेल रातोमाटोको सट्टा बजारमा पाइने केमिकल प्रयोग गर्छन्। यसले खुत्रुकेको बाहिरको माटोमा भएको बालुवा निकाल्ने गर्छ।

यसरी बनाएको खुत्रुके दुई दिन घाममा सुकाइन्छ। ती स्थानीय बजारमै बिक्री हुन्छन्। झरी परेका बेला पर्यटक कम आउजाउ हुने हुँदा कमाइ पनि कम हुने बताइन् सत्यलक्ष्मीले।

Esewa Pasal

प्रकाशित : भाद्र ४, २०७५ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

हाकुपटासी बुन्ने छैनन्, किन्ने छन्

‘धान रोप्ने र काट्ने समयमा यो काम गर्न मानिस आउँदैनन् । रेगुलर बुन्न सक्ने अवस्था छैन । पहिले बुन्न आउने मानिसको पनि उमेर ढल्कँदै गएको र नयाँ पिँढीले यो बुन्ने सीप नसिकेकोले यो समस्या आएको हो ।’
‘अहिले फ्रक, मेक्सी डिजाइनमा हाकुपटासीको प्रयोग भएर फेसनेबल हुने क्रम बढेको छ । यसले लोकप्रियता पाएजस्तै यो बुन्ने सीपले भने लोकप्रियता पाउन नसकेकै हो ।’
सुनीता साखकर्मी

भक्तपुर — हाकुपटासी अर्थात् कालो फरिया । नेवार समुदायको मौलिक पोसाक हो यो । कुनै बेला उपत्यकाका हरेक घरमा हाकुपटासी बुन्ने एउटा घरबुना तान हुने गर्थ्याे । उपत्यकाका घुम्दा हाकुपटासी लगाएका महिलाहरू टन्नै भेटिन्थे । आफूले लगाउने लुगा आफैं बुन्दै नेवार समुदायको कैयौं पुस्ता हुर्कियो ।

तर अहिले तानमा हाकुपटासी बुन्नेहरूको संख्या हातमा गन्न सकिने अवस्थामा पुगेको छ भने उपत्यकाका नेवार बस्ती डुल्ने हो भने हाकुपटासी लगाएका महिलाहरू फाट्टफुट्ट मात्रै देखिन्छन् । अहिले हाकुपटासी चाडपर्वमा सीमित भएको छ ।

भक्तपर लिवालीका हाकुपटासी व्यवसायी ६४ वर्षे बुद्धिसागर प्रजापतीका अनुसार अहिले भक्तपुरमा हाकुपटासी बुन्ने एक दर्जन घर पनि भेट्न मुस्किल छ । उनको पुख्र्यौली पेसा माटोको भाँडो बनाउने थियो । सानैदेखि उनी बुवासँग माटोका भाँडो बनाउँदै हुर्किए । तर मन भने दिदी र आमाले हाकुपटासी बुन्ने गरेको तानतिरै थियो । बेलाबेलामा बुवाका आँखा छलेर दिदीसँग हाकुपटासी बुन्न पुग्थे । त्यही बेलामा भाँडा बनाउन माटोको अभाव हुन थाल्यो । त्यसपछि बुद्धिले भाँडा बनाउने पेसा छोडेर हाकुपटासी बुन्न तिर लागे । मागहरूको ओइरो लाग्न थालेपछि उनले घरमा भएको दुई तानलाई बढाएर उनले १९ वटा तान पुर्‍याएर उद्योग नै सुरु गरे । तर अहिले यो पेसा पनि संकटमा पर्दै गएको उनले अनुभव गरेका छन् ।

‘माटो पाइन छोडेपछि तानमै कपडा बुन्नु राम्रो हुन्छ भन्ने लाग्यो । माग पनि टन्नै हुन्थ्यो,’ बुद्धिले भने, ‘तर अहिले धेरै माग छैन बजारबाट । बुन्ने मान्छेको पनि खडेरी नै लागेको छ । पैसा दिन्छु भन्दा ’नि बुन्ने मान्छे पाउन छाडयो ।’ उनले तानमा कपडा बुन्न थालेपछि सुरुमा सबैले ‘केटीले गर्ने काम गर्न थाल्यो भनेर धेरैले जिस्काएको’ उनले सम्झिए । तर उनले पर्वाह गरेनन् । परिवार पाल्नको लागि जुन काम गरे’नि हुन्छ भन्ने सोचले उनलाई हौस्यायो । उनको चार जना दाजुभाइमध्ये कसैले पनि माटोको पेसा गर्दैनन् । माहिला भाइ शिक्षक, साइला घर बनाउँछन् भने कान्छा हाइड्रोपावरमा ठेक्कापट्टाको काम गर्छन् ।

बुद्धिले भने, ‘माटोको काममा सुक्खा लागेपछि विकल्प खोज्नु थियो । त्यही बेला हाकुपटासीको माग अन्यत्र पनि एकदमै बढ्यो । हाकुपटासी बुनेर परिवार पाल्न सजिलो भयो । तर अहिले यो पेसामा पनि बिस्तारै सुक्खा लाग्दै छ ।’ अहिले हाकुपटासीको माग एकदमै कम भएको र तान बुन्न आउने मानिस पनि नपाउने समस्या उनलाई छ ।

अहिले बुद्धिको कारखानामा भएको १९ वटा तानमध्ये एउटा तानमा मात्रै हाकुपटासी बुन्ने गरिन्छ । कुनै बेला वर्षको ८/१० लाखसम्म कमाइ हुने गरेकोमा अहिले वर्षको डेढ लाख कमाउन पनि मुस्किल हुने गरेको उनले सुनाए ।


‘यो व्यवसाय पनि पाँच महिना बन्द हुन्छ । धान रोप्ने र काट्ने समयमा यो पेसा गर्न मानिस आउँदैनन् । अहिले बुन्ने मान्छे नआएकोले त्यही एउटा तान पनि खाली छ । रेगुलर बुन्न सक्ने अवस्था छैन । पहिले बुन्न आउने मानिसको पनि उमेर ढल्कँदै गएको र नयाँ पिँढीले यो बुन्ने सीप नसिकेकोले यो समस्या आएको हो,’ उनले सुनाउँदै गए । उनी र उनको श्रीमती धागो मिलाइदिने, तान जडान गरिदिने काम गर्छन् ।

देशविदेशसम्म निर्यात गरेका उनले अहिले भने केही पसलहरू मात्रै आफ्नो ग्राहक बनेको अनुभव सुनाए । अहिले नेपाली र नेवार कपडा बजारमा चल्ती भएको छैन । साडी छोडेर सटपाइन्ट, टिसर्टहरू लगाउने चलन आएकोले पनि यस्तो भएको उनलाई लाग्छ । हाकुपटासीसहित त्यसकै सेटमा हुने पटुका, चोलोको कपडा, च्यादर, पछयौराहरू पनि उनकोमा बुन्ने गरेका छन् । अहिले बजारमा आएको सिफनको साडी र मेसिनमा बुनेको हाकुपटासीले यसको बजार खोसेको उनले सुनाए । ‘हामीले हातले बुनेको हाकुपटासीले मेसिनमा बुनेकोसँग प्रतिस्पर्धा गर्नै सक्दैन,’ उनले भने, ‘हातले बुन्दा समय पनि लाग्छ र धेरै समयमा थोरै हाकुपटासी तयार हुन्छ ।’

बुद्धिले हाकुपटासी बुन्ने धागो पहिले बुटवलबाट ल्याउने गरे पनि अहिले भने भारतबाट आयात हुने गरेको बताए । भारतबाट ल्याएको सेतो धागोमा कालो, रातो, हरियो रंग भने रञ्जितकार समुदायलाई भर्न दिन्छन् । रंगाएको धागोबाट हाकुपटासी बुन्ने तरिका उनले बताउँदै गए, ‘पहिले धागोलाई फेलुमा राखेर बबिन वा लट्टाईमा भरिन्छ ।

धागो बेरिएको सयवटा लट्टाईलाई ‘लट्टाई घर’ मा राखेर त्यसलाई वार्पिङमा घुमाइन्छ र त्यसबाट काँइयोमा भरेर तानको बेलनमा भरिन्छ । बेरिएको बेलनबाट धागो निकालेर तानमा हालिन्छ । र फेरि त्यो धागोलाई तानको काँइयोमा हालेर मात्रै बुन्नको लागि तयार हुन्छ । यो काम पहिलो पटक हेर्दा निकै झ्याउ लाग्ने देखिए तापनि यसमा पोख्त भइसकेपछि भने आनन्ददायी कुरा बन्ने बुद्धिले दाबी गरे । उनले भने, ‘सिक्न सुरुसुरुको एक/दुई महिना कठिन लाग्छ तर पछि रमाइलो लाग्दै जान्छ ।’


भक्तपुरमा रञ्जितकार समुदायको काम हाकुपटासी बुन्ने धागोमा रंग लगाउनु हो । नागपोखरी पुग्दा निरु रञ्जितकार सेतो धागोमा रातो र कालो रंग लगाएर सुकाउँदै थिइन् । हाकुपटासी बुन्नेहरूले उनकोमा सेतो धागो लैजाने गर्छन् र उनको परिवार त्यसमा रंग लगाउने गर्छन् । पुस्तौँदेखि उनको परिवार यही काम गरेर जीविकोपार्जन गरिरहेका छन् । ‘पहिले प्राकृतिक रंगहरू लगाउने गरेको सुने पनि अहिले हामीले बजारमा पाइने पोकाका रंगहरू नै प्रयोग गर्छाैँ,’ उनले रंग लगाउने तरिकासमेत भनिन्, ‘सुतीको धागोमा सरफ, कालो रंग र पानी मिसाएर दुई/तीन घण्टासम्म मज्जाले पकाउनुपर्छ । नत्र रंग गाढा बस्दैन । रातो र हरियोलाई चाहिँ चिसो पानीमा आधा घण्टासम्म भिजाउनुपर्छ ।’ यसरी उनको परिवारले महिनामा ३० देखि ४० हजार कमाउने गरेका छन् । तर अहिले भने रंग लगाउन ल्याउनेमा धेरै कमी आएको उनीहरूलाई लाग्छ ।

१५ वर्षको उमेरमा इनाचोबाट त्रिपुरासुन्दरीको खिंछें टोलमा विवाह गरेर आएकी हीरा दनेखुले अहिले पनि घरमा हाकुपटासीको पसल नै राखेकी छन् । ४५ वर्षीया उनले बुनेको हाकुपटासीको कन्टयाक्टको भरमा पाटनमा निर्यात गर्ने गरेकी छन् । तर अहिले उनीसँग भएको तानमा पनि उनले हाकुपटासी नभई बुट्टेदार चौबन्दी चोलोको कपडा बुनिरहेकी छन् । ‘हाकुपटासी धेरै स्टकमा छ,’ उनले भनिन्, ‘त्यो नसकुन्जेल बुन्दिनँ भनेर बसेको छु ।’

बिहेअघि नै इनाचोमा बस्दा उनकी आमाले उनलाई हाकुपटासी बुन्न सिकाएकी थिइन् । विद्यालय जान नपाउने समयमा आमासँग दिनभरि हाकुपटासी बुनेर दिन कटाउँथिन् । बिहेपछि भने उनले अरूको पसलमा ज्याला गरेर हाकुपटासी बुन्ने काम गर्न थालिन् । तर पछि दिक्क लाग्न थालेपछि उनले छोडेर आफ्नै व्यवसाय सुरु गरिन् । उनको घरमा एउटा तान छ र एक्लै बुनिराख्छिन् । उनले ज्यालामा काम गर्दा विभिन्न बुट्टाहरू राखेर काम गर्नुपथ्र्याे । त्यही कारणले उनलाई अहिले बुट्टा हालेर चोलोको कपडा बुन्न आउँछ । पहिले उनी हाकुपटासी नै लगाउँथिन् तर एक दशकदेखि भने कुर्ता सुरुवाल लगाउने गरेकी हुन् ।

यो पेसाबाट धेरै कमाइ भने नहुने उनले सुनाइन् । ‘यो काम गरेर फाइदा छैन । मनको सन्तोषका लागि बुन्ने गरेको हो, १० हजार कमाउन दुई महिना काम गर्नुपर्छ,’ उनले भनिन्, ‘आफ्नै घरमा राखेकोले सजिलो भएको छ । कोठा भाडामा लिएर गर्नुपर्‍यो भने गाह्रो हुन्छ । यो पेसा गरेर घरखर्च चलाउन गाह्रो छ ।’

क्वालिटीको १२ हाते हाकुपटासी एक दिनमा एउटा बुनिसक्ने उनले बताइन् । उनकोमा चार क्वालिटीका हाकुपटासी पाइन्छन् । पहिलो नम्बरको पन्ध्र सय, दोस्रो नम्बरको बाह्र सय, तेस्रो नम्बरको नौ सय पचास र चौथो नम्बरको आठ सय पचास । उनकोमा पाटन, थैव, कीर्तिपुरलगायत ठाउँबाट हाकुपटासी लिन आउँछन् । उनी हाकुपटासीको साथसाथै चौबन्दी चोलो, मले गाचा, नागबेली श्रीपक्षेचु, जनी पनि बुन्छिन् । उनकोमा सेटकै २१ सय देखि पैतीस सयसम्म पर्छ ।


संस्कृतिविद् ओम धौभडेलका अनुसार नेवार समाजमा कामकाजी महिलाहरूले लगाउने पोसाक हो हाकुपटासी । उनका अनुसार पहिले नेवार समुदायको श्रेष्ठ वर्गले आयातीत नै पहिरन लगाउने गरेका थिए । तर मध्यम वर्गीय र निम्नवर्गको किनेर लगाउने हैसियत थिएन । त्यसैले उनीहरू आफैंले घरमा तानमा बुनेको लुगा लगाउने गर्थे । पछि यही नै नेवारहरूको पहिचान बनेको उनले दाबी गरे ।

उनका अनुसार पहिले घरमै बुनिन्थ्यो । घरघरमा तान हुन्थ्यो । दसैंको नवमीको दिनमा नेवारहरूले तानपूजा भनेर कामको लागि प्रयोग गर्ने औजारहरूदेखि लिएर कपडा बुन्ने तानहरू पनि पूजा गर्ने चलन थियो । पहिलेपहिलेको गल्लीहरू सिधा, लामा गल्ली हुनुको कारण पनि यही हाकुपटासी नै रहेको उनले बताए । भने, ‘गल्लीहरू लामो घागो बनाउने काममा प्रयोग हुन्थे । बाँसको निगालो राखेर प्रत्येक ठाउँमा तीनवटा घागो बेर्ने चलन थियो । तर अहिले यो सबै कुरा इतिहास भयो ।’

उनका अनुसार नेवार समुदायमा पूरै कालो र पूरै सेतोले राम्रो संकेत गर्दैन । तर कालो फरियामा रातो बोर्डर राखेपछि भने यही सौभाग्यको चिह्न मानिन्छ । ‘यो बाक्लो हुन्छ तर काम गर्दा पनि लगाउन गाह्रो हुन्न,’ उनले भने, ‘सबैभन्दा राम्रो कुरा यो कपडा ऋतुसँग पनि सामन्जस्य छ । यसले गर्मीमा शीतलता दिन्छ भने जाडोमा न्यानो दिन्छ । वर्षभरि नै लगाउँदा पनि यसले कुनै असर गर्दैन । साना बच्चालाई घाममा राख्दा हाकुपटासीले नै छोपेर राख्ने चलन थियो । सुत्केरीको शरीरलाई राम्रो गर्छ यसले ।’

अहिले बजारमा पाइने सिफनको वा अन्य कपडाबाट हाकुपटासीजस्तै देखिने फरियामा यो सुविधा छैन । अहिलेको युवा पुस्ताले सांस्कृतिक युवतीहरूले फेसनका रूपमा भए पनि बचाइराखेकोमा भने उनलाई खुसी लाग्छ । दिनहुँ नलगाए पनि चाडपर्वमा लगाउनुपर्छ भन्ने चेतना पलाएको छ । उनले भने, ‘अहिले फ्रक, मेक्सी डिजाइनमा हाकुपटासीको प्रयोग भएर फेसनेबल हुने क्रम बढेको छ । यसले लोकप्रियता पाएजस्तै यो बुन्ने सीपले भने लोकप्रियता पाउन नसकेकै हो ।’

प्रकाशित : भाद्र २, २०७५ ०८:२३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT