कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किशोरी हत्या प्रकरण: झन् चर्कियो आन्दोलन

भवानी भट्ट

कञ्चनपुर — भीमदत्तकी किशोरीको बलात्कारपछि हत्या घटनामा प्रहरीले नक्कली हत्यारा सार्वजनिक गरेको भन्दै महेन्द्रनगरवासी आन्दोलित बनेका छन् । वास्तविक दोषी पत्ता लगाउन माग गर्दै स्थानीयवासी मंगलबार बिहानैदेखि बजार बन्द गरेर आन्दोलनमा उत्रेका हुन् ।

किशोरी हत्या प्रकरण: झन् चर्कियो आन्दोलन

प्रदर्शनका कारण महेन्द्रनगर बजार दिनभर तनावग्रस्त बन्यो । प्रहरी र आन्दोलनकारीबीच जिल्ला प्रशासन कार्यालयमा झडपसमेत भयो । झडपमा १२ स्थानीयवासी र ८ प्रहरी घाइते भएको डीएसपी ज्ञानबहादुर सेठीले बताए । जिल्ला प्रहरी कार्यालयले सोमबार पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न रहेको भन्दै भीमदत्त १९, बागफांँटाका ४१ वर्षीय दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेपछि स्थानीय झन् आक्रोशित भएका हुन् ।


उनीहरूले वास्तविक दोषीलाई जोगाउन मानसिक अवस्था ठीक नभएको व्यक्तिलाई सार्वजनिक गरिएको आरोप लगाएका छन् । महेन्द्रनगरमा नाराजुलुससहित प्रदर्शन गर्दै उनीहरूले जिल्ला प्रशासन कार्यालय घेराउ गरे । प्रदर्शन नियन्त्रण गर्न प्रहरीले लाठी चार्जसँगै २१ सेल अश्रुग्याससमेत प्रहार गरेको छ । नागरिक संघर्ष समितिले भने प्रहरीले नै सादा पोसाकका जवान खटाएर आन्दोलन बिथोल्ने प्रयास गरेको आरोप लगाएको छ ।


स्थानीयले प्रदर्शनसँगै आइतबारदेखि सुरु रिले अनशन पनि जारी राखेका छन् । उनीहरूले तत्काल यस विषयमा प्रहरी प्रशासन गम्भीर नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘त्यो व्यक्ति दोषी हुनै सक्दैन, यो पीडितलाई भुल्याउने खेल हो,’ किशोरी हत्याका दोषी सार्वजनिक गर्न स्थानीयद्वारा गठित नागरिक संघर्ष समितिकी संयोजक मीना भण्डारीले भनिन्, ‘प्रहरीको यो कदमबाट घटनामा ठूलै व्यक्तिको संलग्नता रहेको पुष्टि हुन्छ ।’


उनका अनुसार मंगलबार साँझ जिल्ला प्रशासन कार्यालयमा यही विषयमा सर्वपक्षीय छलफल भएको थियो । छलफलमा पनि प्रशासनले अहिलेसम्म जुटेको प्रमाणका आधारमा बिष्ट नै दोषी देखिएको दाबी गरेको थियो । तर आफूहरूले त्यसलाई कुनै हालतमा स्वीकार्न नसकिने बताएको भण्डारीले जानकारी दिइन् । ‘त्यही व्यक्ति दोषी हो भने प्रहरीले प्रमाण किन देखाउँदैन ?’ भण्डारीले भनिन्, ‘नक्कली दोषी देखाएर वास्तविक अपराधी छुटाउने खेल भइरहेको छ ।’


‘प्रहरीले अनावश्यक दबाब दिइरहेको छ’
मृतक किशोरीका बुवाले पनि प्रहरीले फिल्मी शैलीमा नक्कली दोषी सार्वजनिक गरेको बताएका छन् । दुई दिनअघिसम्म कुनै सुधार नभएको बताउने प्रहरीले एकाएक मानसिक अवस्था ठीक नभएको व्यक्तिलाई समातेर घटना मत्थर पार्न खोजेको उनको आरोप छ । ‘मलाई जबर्जस्ती बोलाएर नदेखेका मान्छेका नाममा किटानी जाहेरी दिन दबाब दिए,’ उनले भने, ‘मैले नमानेपछि घटनास्थलमा लगेर बिष्टको टिसर्टको टुक्रा र कन्डमको खोस्रा देखायो । त्यही प्रमाण हो भने आजसम्म किन देखाइएन त ?’


किशोरीका बुवाले सादा पोसाकमा खटिएका प्रहरीसँगै केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले समेत अनावश्यक रूपमा दबाब दिइरहेको बताए । ‘सीआईबीले अनुसन्धानमा ध्यान दिनेभन्दा पनि मलाई बढी तनाव दिएको छ,’ उनले भने, ‘उनीहरूले अहिलेसम्म के अनुसन्धान गरे ? बिष्ट नै अपराधी हो भने भरपर्दाे प्रमाण खोइ ?’ प्रहरी भने अहिलेसम्म जुटेको प्रमाणका आधारमा विष्ट नै दोषी देखिएको दाबी गरिरहेको छ ।


कञ्चनपुरका डीएसपी सेठीले केही प्रमाण जुटेको र केही जुटाउने क्रममा रहेको बताए । ‘प्रमाणबिनै दोषी सार्वजनिक गर्ने भए यसअघि नै गरिसक्थ्यौं,’ उनले भने, ‘घटना भएको केही दिनमै एक जना मानसिक अवस्था ठीक नभएको व्यक्ति आएर मैले नै बलात्कारपछि हत्या गरेको भनेका थिए तर उनले खुकुरीले घाँटी रेटेको भनेपछि हामीले छोडेका हौं ।’


प्रकाशित : भाद्र ६, २०७५ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?