कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेंसीसहर–चामे सडक: पहिरो पन्छाउनै सातादिन

लमजुङ — हिमाली जिल्ला मनाङको चामेनजिकै कोतो क्षेत्रको पहिरो पन्छाउन एक साता लागेको छ । पहिरो पन्छाएसँगै मंगलबारदेखि सवारी आवागमन नियमित भएका छन् । अघिल्लो मंगलबार पहिरो गएसँगै सवारीसाधन आवागमन रोकिएको थियो ।

बेंसीसहर–चामे सडक: पहिरो पन्छाउनै सातादिन

स्थानीय रमेश लामाका अनुसार पहिरो हटाएर सवारीसाधन सञ्चालन भएसँगै आवातजावत सहज भएको छ । कमलो माटो भएकाले तत्काल ठूला मालवाहक सवारीसाधन सञ्चालनमा भने रोक लगाइएको छ । मस्र्याङदी नदीमा पानीको बहाव बढेपछि यसको कटानले चामे गाउँपालिका ३, कोतो र तिर्चुङाल्डाबीचको सडकमा पहिरो गएको थियो ।


डेढ सय मिटरको सडकमा पहिरो गएपछि मनाङ जाने सडक सातादिन अवरुद्ध भएको थियो । पहिरोले तल्लो र माथिल्लो क्षेत्रमा रोकिएका सवारीसाधन गन्तव्यमा लागेको लामाले बताए । ‘बाटो बन्द भएपछि सवारीसाधन अलपत्र थिए । पर्यटक, स्थानीय घुमाउरो बाटो प्रयोग गरी हिँड्न बाध्य थिए,’ उनले भने, ‘सडक खुलेसँगै सबैलाई सजिलो भएको छ ।’


चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेका अनुसार भ्राताङस्थित एग्रो मनाङ प्रालिको डोजर ल्याएर बाटो खुलाइएको हो । आर्थिक व्ययभार डिभिजन सडक कार्यालय दमौलीले बेहोर्ने गरी २ डोजर प्रयोग गरी बाटो खुलाइएको उनले बताए । ‘सडक बगाएकै दिनदेखि बाटो खुलाउने प्रयास गर्‍यौं । दिनदिनै पानी परेकाले प्रयास असफल रहयो,’ उनले भने, ‘२/३ दिन पानी पर्न रोकिएपछि डोजर लगाएर पहिरोमै बाटो बनायौं ।’


डीएसपी खडकबहादुर खत्रीका अनुसार सडक खुलेपछि सवारीसाधन चल्न थालेका छन् । ‘रोकिएका सवारीसाधन र पर्यटक गन्तव्यमा जान थालेका छन्,’ उनले भने । पानी परे फेरि पहिरो जान सक्ने भएकाले बाटो फराकिलो बनाउनेतर्फ लागेको उनले बताए । ‘अहिले गाडी गुड्ने बनाएका छौं । यसलाई फराकिलो बनाउन आवश्यक छ,’ खत्रीले भने ।

प्रकाशित : भाद्र ६, २०७५ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?