अन्तर्राष्ट्रिय हवाई परिवहनसम्बन्धी महासन्धि अनुमोदन

रासस

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयका नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । 

बैठकमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले 'अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिलाई नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस्' भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

Yamaha

महासन्धिलाई अनुमोदनपूर्व प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, सञ्जयकुमार गौतम र रामबहादुर विष्टले महासन्धिका प्रावधानका बारेमा जिज्ञासा राखेका थिए । सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले उक्त महासन्धिका प्रावधानले मुलुकलाई फाइदै फाइदा हुने र अन्तर्राष्ट्रिय उडानमा हुने दुर्घटनामा नेपाली र विदेशी यात्रुले पाउने बीमा रकम समान हुने जानकारी दिए ।

बिहीबारै बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले 'जैविक विविधता महासन्धिअन्तर्गत जारी भएको आनुवंशिक स्रोतमा पहुँच र तिनको उपयोगबाट प्राप्त हुने लाभको निष्पक्ष र समन्यायिक बाँडफाँडसम्बन्धी नागोया अभिसन्धिको सम्मिलन माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गरे । उक्त प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको थियो ।

बैठकमा सांसदका जिज्ञासाको जवाफ दिँदै मन्त्री बस्नेतले अभिसन्धिका प्रावधान आनुवंशिक स्रोतका सम्बन्धमा परम्परागत ज्ञानको उपयोगबाट लाभान्वित हुने विषयसँग सम्बन्धित भएको बताए । उनले अभिसन्धिमा प्राकृतिक स्रोत संरक्षणमा संलग्न स्थानीय समुदायका ज्ञान र सीपको उपयोगका साथै उनीहरुलाई लाभ पुग्ने प्रावधानसमेत रहेको जानकारी गराए । उक्त प्रस्तावमाथिको छलफलमा भाग लिँदै देवप्रसाद गुरुङ र सुवालले अभिसन्धिका प्रावधानका बारेमा जिज्ञासा राखेका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ८ गते बिहान ११ बजे बस्नेछ ।

प्रकाशित : भाद्र ७, २०७५ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ढुवानीमा कर लगाएको भन्दै लोकमार्गको काम ठप्प

चन्द्र कार्की

तेह्रथुम — ढुवानीमा समेत कर लगाएको भन्दै निर्माण व्यवसायीले म्याङलुङ हलीमेला खण्डमा निर्माणाधीन मध्य पहाडी लोकमार्गको काम ठप्प पारेका छन् ।

सडक निर्माण सामग्री ढुवानी गर्दै आएका सवारीलाई म्याङलुङ नगरपालिकाले अत्याधिक कर लगाएको भन्दै व्यवसायीले राष्ट्रिय गौरवको आयोजनाको काम नै रोकेका हुन् ।

म्याङलुङ नगरपालिकाले गत भदौ १ गतेदेखि लागू हुने गरी करको नयाँ दर रेट निर्धारण गरेर ठेक्का लगाएको थियो । नगरभित्र उत्खनन्, भण्डारण, ओसार पोसार र स्टक राखेको ढुंगा, गिटी, बालुवामा सबिन निर्माण सेवाले कर उठाउदै आएको छ ।

खानीबाट उत्खनन् गरी भण्डारणमा रहेको सामाग्री ढुवानीमा कर लाग्ने पत्र पठाएपछि सडक निर्माण कम्पनीले सोमबारबाट काम रोकेको हो ।

करको दर घटाए मात्र काममा फर्किने उनीहरुको भनाइ छ । सडक निर्माण गर्दा ट्याक्टर र ट्रिपर समेत गरी दैनिक १ सय १५ ट्रिप सम्म ढुंगा, बालुवा र गिटी ढुवानी गर्नुपर्ने र प्रत्येक पटकको कर तिर्दा दैनिक १० हजार रुपैयाँ भन्दा बढी कर तिर्नु पर्ने अवस्था आएको सडक निर्माण कम्पनीका साईड इन्चार्ज उदय कार्कीले बताए । कम्पनीले दैनिक यति धेरै कर तिरेर सडक निर्माण गर्न नसक्ने भएकाले काम रोकेर बसेको उनले बताए ।

यो सडकको हिमदुङ एण्ड थोकर आश्रय जेबी निर्माण सेवाले २९ करोड रुपैयाँ लागतमा निर्माणको जिम्मा लिएको हो । ०७२ मसिंर २० गते ठेक्का सम्झौता गरेर काम थालेको कम्पनीले २०७६ असार ७ गते सम्ममा सम्पुर्ण काम सकेर मध्यपहाडी लोकमार्ग आयोजनालाई बुझाउनु पर्ने अन्तिम म्याद छ ।

काम सक्न १० महिना मात्र समय बाँकी हुदा करको दर एक्कासी बढेकाले कम्पनीलाई काम सकाउन समस्या भएको साईड ईन्चार्ज कार्कीले बताए ।

नगरपालिकाले कर उठाउन जिम्मा दिएको सविन निर्माण सेवाले सडक निर्माण स्थल साव्लामै गएर अब उप्रान्त नगरपालिकाले तोकेको कर दिन पत्र पठाएको थियो । सविन निर्माण सेवाले यसअघि सडक निर्माण स्थलमा स्टक गरी राखेको निर्माण सामग्री समेतमा प्रत्येक पटक कर मागेको सडक निर्माण कम्पनीले जनाएको छ ।

नगरपालिकाले ढुंगा, गिटी, बालुवा लगायतका निर्माण सामग्री एक स्थान बाट अर्को स्थानमा लैजादा प्रति ट्याक्टर ५० रुपैंया र प्रति ट्रिपर २ सय रुपैंया कर तोकेको छ ।

निर्माण व्यवसायीले भने नगरपालिकाभित्रै एक स्थान बाट अर्को स्थानमा समान ढुवानी गर्दा प्रत्येक पटक यति धेरै कर तिर्न नसक्ने बताएका छन् ।

नगरपालिकाले लगाएको करको दायरा महंगो भएको भन्दै निर्माण व्यवासायीले काम रोकेपछि यो सडक खण्डमा काम गरीरहेका ५५ जना कामदार समेत काम विहीन भएका छन् । करको दर घटाउन माग गर्दै निर्माण व्यवासीले मंगलबार मेयर सञ्जय तुम्बाहाम्फेलाई भेटेका छन् ।

नगरपालिकाले कर उठाउन ठेक्का दिएको कम्पनीका प्रतिनिधि र सडक निर्माण कम्पनीबीच आपसमा कुरा बुझाबुझ नहुँदा समस्या भएको र त्यो समस्या समाधान पनि भैसकेको मेयर तुम्बाहाम्फेले दाबी गरे ।

खानी बाट निकालेको ढुंगा, गिटी, बालुवा लगायतका निर्माण सामग्री ढुवानीमा एकोहोरो मात्र कर लाग्ने तर यस अघि स्टक गरी राखेको समान ढुवानीमा भने कर नलाग्ने उनले वताए । ‘सडक निर्माण व्यवसायी र कर उठाउने जिम्मेवारी पाएका व्यवसायीबीच सहमति गराएर पठाएको छु’ मेयर तुम्बाहाम्फेले भने ।

सडक निर्माण कम्पनीले म्याङलुङ हलीमेला सडक खण्डमा सडक ग्राभेल, कालोपत्रे, मोड सुधार, नाली तथा वाल निर्माण, कटीङ, ग्रेड सुधार लगयतको काम गरीरहेको छ । पाँचथरको चियो भञ्ज्याङ बाट शुरु मध्य पहाडी लोकमार्ग यही स्थान भएर गएको छ ।

नगरपालिकाले कर उठाउने जिम्मा दिएको सविन निर्माण सेवाका प्रोपाईटर पुर्ण लिम्वुले सडक निर्माण कम्पनी संग अहिले सम्म एक पैसा पनि कर नउठाएको बताए । आईन्दा कर उठाउने भनेर जानकारी पत्र मात्र दिएको उनको भनाई छ ।

प्रकाशित : भाद्र ७, २०७५ १७:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT