कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देशभरका विद्यालयको प्राविधिक सर्भे गरिँदै

काठमाडौँ — भूकम्पलगायत प्राकृतिक विपद्‌बाट देशभरका विद्यालय र स्वास्थ्यचौकीमा पुग्न सक्ने क्षति लेखाजोखा गर्न प्राविधिक टोली खटिने भएको छ । 

देशभरका विद्यालयको प्राविधिक सर्भे गरिँदै

भूकम्प पुनर्निर्माण प्राधिकरणले खटाउने टोलीले विद्यालय र स्वास्थ्यचौकी भवनलाई भूकम्प, बाढीपहिरो, असिनापानी लगायतले पार्न सक्ने असर अनुमान गरी १४ महिनाभित्र सरकारलाई प्रतिवेदन दिनेछ ।


यसअन्तर्गत २३ हजार २ सय १५ सामुदायिक विद्यालय, ४ हजार निजी विद्यालय र ३ हजार हेल्थ पोस्ट भवनको सर्भे गरिनेछ ।


टोलीले भूकम्पबाट अति प्रभावित १४ जिल्लाबाहेक सबै सामुदायिक र निजी विद्यालय, स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्यचौकीको भौतिक अवस्था मूल्यांकन गर्ने प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका उपनिर्देशक दिलीपशेखर श्रेष्ठले बताए ।


विश्व बैंकको १ अर्ब सहयोगमा करिब ३० हजार भवनको प्राविधिक मूल्यांकन गर्ने गरी इकाईले सम्झौता गरिसकेको छ ।


कुन भवन भत्काउनुपर्ने, कुन भवन प्रबलीकरण र सबलीकरण गर्न सकिने भनेर ठोस प्रतिवेदन दिइने इकाईले जनाएको छ । यो प्रतिवेदनले प्राकृतिक विपदको पूर्वतयारी गर्न सरकारलाई सघाउने श्रेष्ठले बताए ।


इकाईले ५ वटा कन्सल्टेन्ट संस्था छनोट गरी काम थालिने जनाएको छ । ‘एउटा कन्सल्टेन्ट संस्थाले ६ हजार भवनको सर्भे गर्ने गरी कार्य विभाजन गर्छौं,’ उपनिर्देशक श्रेष्ठले भने, ‘खटिएका इन्जिनियरले विद्यालय र स्वास्थ्यचौकीको समग्र नापजाँच गरी प्रतिवेदन तयार पार्छन् ।’ प्रतिवेदन गाउँपालिका र नगरपालिकालाई समेत उपलब्ध गराइनेछ ।


प्राविधिक रिपोर्टपछि स्थानीय तहले आफ्ना विद्यालय र स्वास्थ्यचौकीको अवस्था थाहा पाउने र सोहीअनुसार निर्माण योजना अघि बढाउने आयोजना निर्देशक इमनारायण श्रेष्ठले बताए । ‘पहिले भूकम्प जाँदा हामीसँग यस्तो कुनै पूर्वानुमान थिएन,’ उनले भने, ‘रिपोर्ट तयार भएपछि विद्यालय भवन निर्माणका लागि छनोटमा समेत सहयोग पुग्छ ।’


इकाईले २०७२ सालको भूकम्पबाट अतिप्रभावित १४ जिल्लासहित आंशिक प्रभावित ३२ जिल्लामा पुनर्निर्माणको काम गरिरहेको छ । दुई वर्षभित्र १४ जिल्लाका सबै विद्यालय भवन भूकम्पप्रतिरोधी बनाइसक्ने लक्ष्य छ ।


बाँकी १८ जिल्लामा पूर्ण रूपमा क्षति पुगेका विद्यालय मात्र पुनर्निर्माण भइरहेका छन् । अतिप्रभावित जिल्लाका ३ वटा विद्यालयमा मात्र कुनै क्षति नपुगेको पनि उपनिर्देशक श्रेष्ठले बताए ।

प्रकाशित : भाद्र ७, २०७५ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?