कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार विरुद्ध चितवनमा प्रदर्शन

रमेशकुमार पौडेल

चितवन — देशभर बढ्दोक्रमा देखिएको बलात्कार जस्ता यौन हिंसाका विरुद्ध शुक्रबार महिला अधिकारका क्षेत्रमा सक्रिय संघ संस्थाले भरतपुरमा प्रदर्शन गरेका छन् । महानगरपालिकाको कार्यालयबाट र्‍यालीसहित जिल्ला प्रशासन पुगेर उनीहरुले प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई ज्ञापनपत्र बुझाए ।

बलात्कार विरुद्ध चितवनमा प्रदर्शन

महानगर मेयर रेनु दाहाललाई पनि ज्ञापनपत्र बुझाएको आयोजकहरुले बताए ।


चितवनमा बालत्कारका विरुद्ध विभिन्न संघ संस्था र अधिकारकर्मीहरुले ‘यौन हिंसा विरुद्धको साझा अभियान’ सुरु गरेका छन् । अभियानमा आवद्धहरुले नै शुक्रबार प्रदर्शन आयोजना र ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत, प्रधानमन्त्री, गृहमन्त्री, प्रदेश मुख्यमन्त्री र प्रदेश आन्तरिक मामिला मन्त्रालयमा ज्ञापनपत्र दिएका हुन् । ज्ञापनपत्रमा नौवटा मागहरु छन् ।

अभियान संयोजक मिना खरेलका अनुसार बलात्कार सम्बन्धी कानुनमा परिवर्तन आवश्यक छ । १० वर्षभन्दा कम उमेरका बालबालिकामाथि हुने बलात्कारमा पिडकलाई सर्वोश्वसहित आजन्म काराबासको माग ज्ञापनपत्रमा गरिएको छ । १८ वर्षभन्दा कम उमेरका बालिका बलात्कार गर्ने दोषिलाई आजिवन कारावास हुने पर्ने आफुहरुको माग राज्यले सुन्नु पर्ने संयोजक खरेलले बताइन् ।


त्यसै गरी पीडितले मुद्दा दर्ता भएकै मितिबाट राज्यबाट क्षतिपूर्ति पाउनुपर्ने र फौजदारी संहितामा पीडितले अन्तरिक रुपमा राज्यबाट पाएको क्षतिपुर्ती फिर्ता हुनुपर्ने प्रवधान हटाउन ज्ञापनपत्रमा माग गरिएको छ । महिलामाथि हुने एसिड प्रहारका घटनामा पनि जन्म कैदको व्यवस्था गर्न आफुहरुले माग गरेको संयोजक खरेलले बताइन् । चितवनमा बलात्कारका साथै एसिड प्रहारका घटनाहरु पनि हुने गरेका छन् ।


साउन ३० गते भरतपुरमा एकजना १७ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको आरोमा प्रहरीले पाँचजनालाई समायो । दिउँसो तीन बजेदेखि यात्रु बोक्ने सानो गाडी म्याजिक भ्यानमा राखेर किशोरीलाई भरतपुर र नारायणगढ डुलाइएको थियो । रात परेपछि उनी बलात्कृत भएको प्रहरीले जनाएको छ । अर्को दिन माडीमा त्यस्तै घटना भयो ।


साउन ३१ गते राति हिँडेर घर जाँदै गरेकी १५ वर्षीया किशोरीलाई मोटरसाइकल चढेर आएका दुईजना युवकले घार पुर्‍याइ दिन्छौं भन्दै मोटरसाइकलमा लगेर बलात्कार गरे । ‘दिन दिनै यस्तो कहाली लाग्दो घटनाहरु भएपछि हामी चुप लागेर बस्नु भएन भन्ने लागेर सवै संघ संस्था मिलेर सामुहिक अभियानमा लाग्ने निधो गरेका हौं’ अभियानको सह–संयोजक रहेकी संगिता भट्टराईले भनिन् ।


अभियान अन्तर्गत बलात्कारसँग सम्बन्धित तथ्याङ्क विश्लेषण गर्ने काम भइरहेको सह–संयोजक संगिता भट्टराईले बताइन् । जिल्ला प्रहरी कार्यालयका अनुसार साउनयता मात्रै बलात्कार सम्बन्धि ११ वटा जाहेरीहरु दर्ता भएका छन् । गएको आर्थिक वर्षमा बलात्कारसँग सम्बन्धित ६६ वटा उजुृरी प्रहरी कार्यालयमा दर्ता भएका थिए । त्यसअघि यो संख्या ५५ थियो ।


प्रकाशित : भाद्र ८, २०७५ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?