कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अझै तारपुलकाे भर

हरिराम उप्रेती

गोरखा — उनको घर र स्कुल त्रिशूली वारिपारि छ । सजिलै नदी तर्न ४५ मिनेट हिँडेपछि मात्रै झोलुंगे पुल भेटिन्छ । जोखिम मोलेर तुइनबाट पारि तरे १० मिनेटमै स्कुल पुगिन्छ ।

अझै तारपुलकाे भर

सहिद लखन गाउँपालिका–४ का नारायण प्रजा बुधबार बिहान पसिना काड्दै तारपुलको लट्ठा तानेर विद्यालय पुगे । पृथ्वी राजमार्गपारिको ताक्लुङ, ठेउवाटारका विद्यार्थी चितवनको कुरिनटारस्थित सर्वशान्ति माविमा पढछन् । तिनैमध्येका हुन् प्रजा । ‘सधैं यसरी नै जाने हो,’ उनले भने, ‘लट्ठा तानेर हातमा ठेला उठे पनि छिट्टै पुगिन्छ ।’

परम्परागत तुइनमा फलामे लट्ठा हुन्छ भने डोरीले वारिपारि गराउनेलाई स्थानीयवासी तारपुल भन्छन् । ‘अलि तल झोलुंगे पुल पनि छ, त्यो बाटो घुमेर जाँदा ४५ मिनेट लाग्छ,’ उनले भने, ‘लट्ठा तान्दै गए ५ मिनेटमै त्रिशूली तरिन्छ ।’ लट्ठा तान्न धेरै बल लगाउनुपर्ने कक्षा ६ मा पढ्ने ममता चेपाङ बताउँछिन् । ‘थकाइ मार्दै लट्ठा तान्छौं,’ उनले भनिन्, ‘नदीको बीचमा पुगेपछि एकछिन रोकिन्छौं, त्यहाँबाट तल हेर्दा डर लाग्छ ।’

उक्त तारपुल प्रयोग गरेर ४० भन्दा बढी विद्यार्थी आउजाउ गर्ने गरेको स्थानीय भक्तबहादुर लम्सालले बताए । ‘बिहान घाँस–दाउरा नगरी केटाकेटी स्कुल जान पाउँदैनन्, काम गर्दा ढिला हुने नै भयो,’ उनले भने, ‘झोलुंगे पुलको बाटो जाँदा ढिला हुन्छ भनेर तारपुलबाटै वारिपारि गर्छन् ।’

विद्यार्थी मात्र नभई स्थानीय पनि आउजाउका लागि तुइनकै भर परेका छन् । गोरखाको सहिद लखन गाउँपालिका–४, ठेउवाटार र चितवन इच्छाकामना गाउँपालिका–४, धारापानीलाई तुइनले जोडेको छ । तारपुल नहुँदा यहाँका स्थानीय घिरिङको सहाराले आउजाउ गर्थे । ‘बस हिँड्ने बाटो नजिकै देखिन्छ । बीचको त्रिशूली कट्नै पर्‍यो,’ उनले भने, ‘२०३२ सालबाटै घिरिङ प्रयोग गथ्र्यौं । २०६० मा बल्ल तारपुल बन्यो ।’

घिरिङको प्रयोगबाट आउजाउ गर्दा चार जनाको ज्यान गएको र केही घाइते भएको स्थानीयले बताए । ‘२०५२ सालतिर त्रिशूली वारपार गर्ने क्रममा घिरिङबाट खसेर घाइते भएँ,’ स्थानीय टेकबहादुर लम्सालले भने, ‘कोर्के लच्किएर खसें । बगरको बालुवामा बजारिएकाले बाँचेको हुँ ।’

भूकम्पले भत्काएका घर बनाउनका लागि निर्माण सामग्री र दैनिक उपभोग्य सामान पनि तारपुलबाटै ओसारिन्छ ।

तारपुल हटाउन झोलुंगे पुल निर्माण पनि सुरु भएको छ तर ठेकेदारको ढिलासुस्तीले काम अलपत्र परेको स्थानीय बताउँछन् । ठेउवाटार र कुरिनटार जोड्ने झोलुंगे पुल २०७४ असोज १५ मा निर्माण सम्पन्न गर्ने गरी नयाँ बाटो मना कन्स्ट्रक्सन जेभीले ठेक्का लिएको थियो ।

१ करोड ३६ लाख लागतमा १ सय ६५ मिटर लामो पुल निर्माण गर्न २०७३ मंसिर २६ मा ठेक्का सम्झौता भए पनि अहिलेसम्म जग खन्नेबाहेक काम अघि बढेको छैन । ‘सम्पन्न गर्ने अवधि पनि सकियो ठेउवाटारतर्फको जिपको काम भएको छ,’ पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रविन लम्सालले भने, ‘अरू काम अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन छन् ।’ एक वर्षयता ठेकेदारले काम गर्ने मान्छे नै नपठाएको उनले बताए । ‘कि बनाउनुपर्‍यो कि सक्दिन भनेर हात झिक्नुपर्‍यो । हामी सधैं झुन्डिएर कति हिँड्नु,’ ठेउवाटारका रणबहादुर रानाले भने ।

डेढ किमि पर चितवनतर्फको गौंडा र ठेउवाटार जोड्ने पुल बनेपछि केही वर्ष यहाँका स्थानीयले सोही पुल भएर आउजाउ गरेका थिए । ‘तीन/चार वर्ष त घिरिङ, तारपुल केही पनि चलेन,’ समिति अध्यक्ष लम्सालले भने, ‘यहीँ मुनिको झोलुंगे पुल बनाउने ठेकेदारले नयाँ डोरी किनेर हालिदिए । बाटो छोटो पनि पर्‍यो, गाउँले तारपुलबाटै आउजाउ गर्न थाले ।’

झोलुंगे पुल बनाउने ठेकेदार कम्पनीले पुलको जग खन्ने काम गरेका कामदारलाई झन्डै दुई लाख रुपैयाँ ज्यालासमेत नदिएको स्थानीयको गुनासो छ । ‘हामी उपभोक्ता समितिले नै पैसा खोजेर कामदारलाई दिएका छौं, ठेकेदार यहाँ मुख नै देखाउँदैनन्,’ उपभोक्ता समिति सदस्य नैनबहादुर गुरुङले भने ।

ठेकेदारको ढिलासुस्तीले उक्त पुल समयमै निर्माण सम्पन्न हुन नसकेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इन्जिनियर हुमकान्त मिश्रले बताए । ‘हामीले ताकेता गरिरहेका छौं तर काम गर्दैनन्,’ उनले भने, ‘कारबाही प्रक्रिया अघि बढेको छ ।’

प्रकाशित : भाद्र ९, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?