लालबकैयामा डुंगा पल्टियो, ३५ बढी बेपत्ता, १२ जना पौडिएर बाँचे [अपडेट]

शिव पुरी

रौतहट — गौर नगरपालीका ४ स्थित टिकुलिया घाटमा शनिबार साँझ लालबकैया नदीमा आएको बाढीले डुंगा बगाएको छ । डुंगामा ४० जनाभन्दा बढी सवार थिए । त्यसमध्ये १२ जना पौडिएर बाहिर आएका छन् । बाँकी बेपत्ता छन् । उनीहरुको अवस्था थाहा हुन सकेको छैन ।

बन्जारा गाउँबाट टिकुलियातर्फ आउँदै गरेको डुंगा ललबकैया नदीमा आएको बाढीले बगाएको हो । घटनामा ३५ जना बढी बेपत्ता भएको हुन सक्ने जिल्ला प्रहरी प्रमुख एसपी केदार ढकालले बताए । ‘डुंगामा ४० जना सवार थिए भन्ने जानकारी आएको छ,’उनले भने,‘आधिकारिक थाहा हुन सकेको छैन ।’ एसपी ढकालले भारतको सितामाढीका प्रहरी प्रमुख एसपी विकास बर्मन सित टेलीफोनमा घटनाबारे जानकारी गराई सहयोग मागेका छन् ।

Yamaha

बगाएकाहरु भारत पुगेको आशंकामा भारतीय सुरक्षा अधिकारीसित सहयोग मागेका हुन् । घटनास्थलमा नेपाल प्रहरी, सेना, सशस्त्र प्रहरीको टोली पुगेको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र एसपी ढकालसमेत गएका छन् । डुंगा बगाएपछि पौडिएर बाहिर निस्केर ज्यान जोगाउने १२ जना सम्पर्कमा आएको एसपी ढकालले जनाए । बेपत्ता भएकाको संख्या र घट्ना बारे यथार्थ विवरण थाहा हुन सकेको छैन । कसैले डुंगामा ४० जना सबार थिए भनेका छन् । कसैले ५० जना ।

हराएकाहरुको खोजीका लागी पौडीबाज सुरक्षाकर्मीसहित विपद् व्यवस्थापन टोली परिचालन गरिएको प्रजिअ रिजाले जनाए । ‘हामिले लालबकैया नदिको छेउछाउमा सुरक्षाकर्मी परिचालन गरिसकेका छौ,’ उनले भने,‘सबैतिर खोज्ने काम जारी छ । सबै साधन स्रोत परिचालन गरिएको छ ।’

बगाएको डुंगा समेत फेला परेको छैन । डुंगामा महिलाहरु पनि सवार रहेको अनुमान छ ।

प्रकाशित : भाद्र ९, २०७५ २०:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

८२ वर्षेद्वारा सम्बन्धविच्छेद मुद्दा

कान्तिपुर संवाददाता

दोलखा — ८२ वर्षीय एक वृद्धले मुलुकी देवानी (संहिता) मा टेकेर ७६ वर्षीया पत्नीविरुद्ध सम्बन्धविच्छेदको निवेदन दर्ता गराएका छन् ।

ती वृद्धवृद्धा एकदशकदेखि अलग्गिएर बस्थे । दुवै जनाका अनुसार ५ वर्षदेखि साथै बसे पनि बोलचाल थिएन । सम्बन्धविच्छेद गर्न नयाँ कानुन देवानी (संहिता) ले पुरुषलाई पनि अदालती ढोका खुलेपछि आफूले उक्त कदम उठाएको वृद्धले बताए । ‘नयाँ ऐन कुरेर बसेको थिएँ,’ दोलखा जिल्ला अदालत परिसरमा उनले भने, ‘८२ वर्षको उमेरमा आएर बल्ल इच्छा पूरा भयो ।’

यही भदौ १ गतेदेखि लागू भएको नयाँ ऐनको अधिकार प्रयोग गर्दै साताभित्र चार जना पुरुषले जिल्ला अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएका छन् । ऐन लागू भएकै दिनदेखि पुरुषहरूले सम्बन्धविच्छेदको निवेदन दर्ता गराउन थालेको न्यायाधीश कमलराज विष्टले बताए ।

यसअघिको मुलुकी ऐनमा पुरुषले सीधै अदालतमा सम्बन्धविच्छेदको निवेदन दिने व्यवस्था थिएन । स्थानीय तहमा निवेदन गर्दै घुमाउरो प्रक्रिया पार गर्नुपर्थ्यो । तीन महिनाभित्र मेलमिलाप हुन नसके मात्रै अदालत पठाइन्थ्यो ।

न्यायाधीश विष्टका अनुसार हालसम्म सम्बन्धविच्छेद गर्न आएका सबै पुरुषले कानुन पर्खेर बसेको बताएका छन् । नेपाली समाजमा पतिपत्नीबीचको सम्बन्धविच्छेदको घटना बाहिर आउँदा परिवारका अन्य सदस्यलाई चोट पुग्छ, असजिलो ठानिन्छ । त्यसो हुँदाहुँदै गएको आर्थिक वर्षमा ७३ जना महिलाले दोलखा अदालतमा श्रीमान्‌सँग सम्बन्धविच्छेद गर्न मुद्दा दर्ता गराएका थिए ।

नयाँ ऐन लागू भएयता भदौमा मात्रै ९ वटा सम्बन्धविच्छेदका घटना दर्ता भइसकेका छन् । तीमध्ये चार जना पुरुषले ‘पत्नीपीडित’ को जिकिर गर्दै मुद्दा दर्ता गराएका हुन् ।

प्रकाशित : भाद्र ९, २०७५ १९:५७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT