बिमस्टेक सम्मेलनः सुरक्षा नेतृत्व सेनाले गर्ने

जनकराज सापकोटा

काठमाडौँ — बिमस्टेक सम्मेलनको सुरक्षा नेतृत्व सेनाले लिने भएको छ । सरकारले सेना, प्रहरी र सशस्त्र प्रहरी सम्मिलित एकीकृत सुरक्षा प्रणाली निर्माण गरी त्यसको नेतृत्व सेनालाई दिएको हो ।

बिमस्टेक सम्मेलनको लागि सहभागी देशहरुको झण्डा राखिँदै । तस्बिरः कान्तिपुर

सम्मेलनमा सहभागी हुन आउने विभिन्न देशका राष्ट्राध्यक्ष, सरकार प्रमुख एवं उच्चपदस्थ सरकारी अधिकारीका निम्ति चार घेरे सुरक्षा प्रबन्ध गरिएको छ ।

Yamaha

पहिलो घेरामा सेना रहनेछ भने त्यसपछि क्रमश: प्रहरी, सशस्त्र प्रहरी र गुप्तचर टोली रहनेछन्। परिस्थितिको विश्लेषण र तुरुन्तै गर्नुपर्ने निर्णयका निम्तिसमेत सेनाले नै कमान्ड सम्हाल्ने छ। यसका साथै तीनै सुरक्षा निकायको केन्द्रीय कार्यालयमा रहेको कमान्ड सेन्टरले समेत सूचना आदानप्रदान, सुरक्षा विश्लेषण र समन्वयको काम गर्नेछन्।

प्रहरी स्रोतका अनुसार सुरक्षा व्यवस्था चुस्त राख्न तीनवटा जामर प्रयोग गरिनेछ। बिमस्टेकमा आएका पाहुना हिँड्ने बाटो, कार्यक्रम तथा भ्रमण स्थलमा प्रयोग गरिने जामरले करिब ५ सय मिटरवरपर मोबाइललगायत अन्य सिग्नल निस्तेज गर्नेछ।

प्रहरीले यसपटक भेहिकल स्क्यानर पनि प्रयोगमा ल्याउनेछ। प्रहरी अधिकारीका अनुसार उच्चपदस्थ केही पाहुनाले लुम्बिनी भ्रमण गर्ने भएकाले एउटा भेहिकल स्क्यानर मेसिन त्यता पठाइनेछ। सवारीहरू भुइँमा ओछ्याइएको स्क्यानर पार भएर जानेछन्। स्क्यानरले गाडीको तल्लो भागको चित्र र भिडियो खिच्नेछ, जसले सुरक्षा खतराका बारेमा जानकारी मिल्नेछ। प्रहरीले पहिलो पटक २ वटा पोर्टेबल ब्यागेज स्क्यानर पनि प्रयोग गर्न लागेको छ। कार्यक्रमस्थल र आवास स्थलमा लैजाने ब्याग र अन्य लगेजको जाँचका निम्ति यस्तो स्क्यानर प्रयोग गर्न लागिएको हो।

प्रहरीले सुरक्षाका निम्ति किनिएका नयाँ ४ र पुराना २५ गरी २९ वटा वाक थ्रु स्क्यानर प्रयोगमा ल्याउने तयारी गरेको छ। कार्यक्रम र भ्रमण स्थलमा सहभागीहरू अनिवार्य रूपमा वाक थ्रु गेट भएर हिँड्नुपर्नेछ। यस्तो मेसिनले मानिसको साथका केही शंकास्पद डिभाइस भएको खण्डमा सूचना दिनेछ। प्रहरीले आन्तरिक सञ्चारका निम्ति चारवटा रेडियो रिपिटर सिस्टम पनि प्रयोगमा ल्याउने भएको छ। हालै खरिद गरिएको रेडियो रिपिटर प्रहरीको आन्तरिक सूचना हयाक गरेर कसैले सुन्न नसक्ने अत्याधुनिक प्रविधिको छ।

प्रहरीसँग मौजुद एक सय ५० भन्दा बढी मेटल डिटेक्टर पनि प्रयोग गरिनेछ। कार्यक्रममा सहभागी विदेशी सरकारी अधिकारीबाहेकलाई मेटल डिटेक्टरले जाँच गरिनेछ। प्रहरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गत वैशाखको जनकपुर भ्रमणमा प्रयोग गरेजस्तै र्‍यापिड कम्युनिकेसन सिस्टम पनि प्रयोग गर्नेछ। सवारीका बेला, कार्यक्रम र भ्रमण स्थलमा रहेका प्रहरीले बोकेका मोबाइलजस्तै उपकरणबाट खिचिएको भिडियो प्रहरी हेडक्वार्टरमा लाइभ हेर्न सकिन्छ। प्रहरीले विस्फोटक पदार्थ रहे/नरहेको पत्ता लगाउन सक्ने विशिष्ट क्षमताका कुकुर पनि परिचालन गर्ने तयारी गरेको छ।

सुरक्षा व्यवस्थाको समन्वय गर्न प्रहरी प्रधान कार्यालयको कार्य विभागअन्तर्गत पूर्वतयारी कमिटी बनाएको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी मनोज न्यौपानेले सम्पूर्ण सुरक्षा तयारी सकिएको बताए। ‘सवारी मार्ग, कार्यक्रम स्थल, निवास र भ्रमणस्थलको उच्च सुरक्षा व्यवस्था मिलाइएको छ,’ उनले भने। सोमबार मात्रै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि कार्यक्रम स्थलसम्मको सवारी व्यवस्थापनको रिहर्सल गरेको थियो। प्रहरी प्रवक्ता शैलेश थापाले उच्च सुरक्षा व्यवस्थापनका निम्ति कुनै कसुर बाँकी नराखिएको बताए।

बिमस्टेकका लागि सुरक्षा उपकरण खरिद
नेपाल प्रहरीले बिमस्टेकका लागि फास्टट्रयाकमा करोडौं रुपैयाँका सुरक्षा उपकरण र गाडी खरिद गरेको छ। प्रहरी अधिकारीका अनुसार करिब २० देखि २५ लाख हाराहारी मूल्य पर्ने चारवटा भेहिकल स्क्यानर, २ वटा पोर्टेबल स्क्यानर, ४ वटा वाक थ्रु गेट, ४ वटा रेडियो रिपिटर सिस्टम, ५० वटा मेटल डिटेक्टर र केही थान गाडी खरिद गरिएको छ। मन्त्रिपरिषद्बाटै निर्णय गराएर फास्टट्रयाकमा यी उपकरण किनिएको प्रहरीले जनाएको छ। एक उच्च प्रहरी अधिकारीका अनुसार अर्थ मन्त्रालयबाट रकम निकासामा ढिलाइ भएपछि प्रहरीले आन्तरिक स्रोतबाट सामान खरिदको व्यवस्थापन मिलाएको हो।


यस्तो छ सुरक्षा तयारी :
पहिलो घेरा : नेपाली सेना
दोस्रो घेरा : नेपाल प्रहरी
तेस्रो घेरा : सशस्त्र प्रहरी
चौथो घेरा : राष्ट्रिय अनुसन्धान विभाग
सुरक्षामा प्रयोग हुने प्रविधि
जामर : तीनवटा
गाडी स्क्यानर : ४ वटा
पोर्टेबल ब्यागेज स्क्यानर : २ वटा
वाक थ्रु गेट : २९ वटा
रेडियो रिपिटर सिस्टम : ८ वटा
मेटल डिटेक्टर : करिब डेढ सय

प्रकाशित : भाद्र ११, २०७५ २१:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

किशोरी हत्या प्रकरणः प्रहरी अनुसन्धान सूचना संकलनमै

चित्रांग थापा र भवानी भट्ट

कञ्चनपु — कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा शंकाको घेरामा रहेका बम दिदीबहिनीमाथि थप अनुसन्धानका लागि अदालतबाट ६ दिनको म्याद थप भएको छ । गत शुक्रबार पक्राउ परेका रोशनी र वविता बमको सोमबार म्याद थप गरिएको हो ।

एक सातापछि खुलेको महेन्द्रनगर बजारमा सोमबार बिहान देखिएको चहलपहल । तस्बिर : भवानी भट्ट

जिल्ला प्रहरीका एसपी कुबेर कडायतले उनीहरूसँग आवश्यक सूचना लिने र सोधपुछ भइरहेको जनाए । स्थानीयले शंकास्पद रूपमा हेरेको किशोरी पढ्न गएको बम परिवारको घर, शव भेटिएको स्थानलगायत क्षेत्रमा समेत अनुसन्धान गरिरहेको उनले जनाए । ‘उनीहरूबाट आवश्यक सूचना लिने र त्यसलाई पछ्याउने काम गरिरहेका छौं,’ उनले भने, ‘तत्कालै केही भनिहाल्ने अवस्थामा छैनौं ।’

एसपी कडायतले यसअघि प्रहरीले सार्वजनिक गरेका भीमदत्त नगरपालिका २ बाग्फाँटाका दिलीप विष्टबारे पनि थप अनुसन्धान भइरहेको जानकारी दिए । साताअघि जिल्ला प्रहरीले घटनाका मुख्य आरोपी भनिएका मानसिक अवस्था ठीक नभएका विष्टलाई सार्वजनिक गरेपछि स्थानीयले असन्तुष्टि जनाउँदै आन्दोलन चर्काएका हुन् । आन्दोलनपछि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीसहित एसपी र डीएसपी सबैलाई केन्द्र फिर्ता गरेर नयाँ अधिकारी पठाएको थियो । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टलाई निलम्बन गरिएको छ ।
नयाँ अधिकारी आएपछि घटनाको पुन: प्रारम्भिक रूपमै अनुसन्धान थालिएको छ । ‘हामीलाई उच्चस्तरीय छानबिन समितिबाट पनि केही सूचना प्राप्त हुनेछ,’ एसपी कडायतले भने, ‘यसले पनि अनुसन्धानमा सहज र सहयोग पुग्नेछ ।’

स्थानीयले आन्दोलन चर्काएपछि गृहले गठन गरेको उच्चस्तरीय छानबिन समितिले पनि आवश्यक सूचना संकलनको काम गरिरहेको छ । सर्वदलीय र सर्वपक्षीय छलफलपछि पीडित पक्ष, घटनास्थल, किशोरी पढ्न गएको घर र प्रहरीले सार्वजनिक गरेका व्यक्तिका परिवारसँग अवाश्यक सूचना संकलन गरिएको समिति संयोजक हरिप्रसाद मैनालीले बताए । ‘एक चरण सबैलाई भेटिसकेका छौं,’ उनले भने, ‘हामीहरू सूचना संकलनमै लागेका छौं, प्रहरीसँग पनि यस विषयमा सूचना लिइरहेका छौं ।’

सीआईबी टोली फर्कियो
घटनालगत्तै अनुसन्धानमा महेन्द्रनगर पुगेको सीआईबी टोली फिर्ता भएको छ । टोलीले गरेको अनुसन्धानसमेत शंकास्पद देखिएपछि फिर्ता भएको चर्चा छ । गत सोमबार अभियुक्तका रूपमा विष्टलाई सार्वजनिक गरिएपछि सीआईबीप्रति स्थानीय आक्रोशित बनेका हुन् । मृतक किशोरीका बुवा यज्ञराज त सीआईबीको टोलीले अनावश्यक दबाब दिएर घरमा बस्नै नसकिने वातावरण बनाएको बताउँछन् ।

‘अनुसन्धान त जिल्ला प्रहरीले नै गर्ने हो, सीआईबी त हामीलाई सहयोग गर्नमात्रै आएको हो,’ कडायतले भने, ‘अझ पनि प्राविधिक सहयोग सीआईबीले नै गर्नुपर्छ ।’ साउन ११ गते किशोरीको शव भेटिएको दोस्रो दिन डीएसपी अंगुर जीसी नेतृत्वमा ३ सदस्यीय सीआईबी टोली यहाँ आएको थियो ।

सामान्य बन्दै महेन्द्रनगर
गत सोमबार प्रहरीले अभियुक्तका रूपमा विष्टलाई सार्वजनिक गरेपछि चर्केको आन्दोलनपछि तनावग्रस्त बनेको महेन्द्रनगर बजार सामान्य बन्दै गएको छ । प्रहरीले बिहीबार र शुक्रबार प्रदर्शनकारीमाथि गोली चलाउँदा झनै उग्र बनेको आन्दोलन लगातारको कफ्र्युपछि बजार क्षेत्रमा शान्ति सुरक्षाको अवस्था सहज हुँदै गएको छ ।

शुक्रबार राति ८ बजे सुरु कफ्र्यु आइतबार बिहानमात्रै केही घण्टाका लागि खुला गरिएको थियो । दिनभरि पुन: कफ्र्यु लगाएर साँझ केहीबेर खुला गरियो । सोमबार भने दिनभरि कफ्र्यु हटाइयो । यसअघि सोमबार दिउँसो कफ्र्यु लाग्ने निर्णय भए पनि अवस्था सहज बन्दै गएका कारण दिनभरि खुला गरिएको जिल्ला प्रशासनका प्रशासकीय अधिकृत उदयराज जोशीले बताए । सोमबार साँझ ६ देखि मंगलबार बिहान ५ बजेसम्म कफ्र्यु लगाउने निर्णय भएको उनले बताए । कफ्र्यु खुलेसँगै महेन्द्रनगर बजार क्षेत्रमा चहलपहल बढेको छ । करिब सातापछि बजार र यातायात खुलेको छ ।

प्रकाशित : भाद्र ११, २०७५ २०:५४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT