पप्पुका पुल धराप

अलपत्र योजना र ठेक्का रकम
प्रदेश ब्युरो

जनकपुर — समयमै काम नसक्ने एक ठेकेदारलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कारबाहीको कुरा गरेनन्, बरु सरकारले चाँडै रकम निकासा नगरेकाले पुल अलपत्र परेको हुन सक्ने भन्दै घुमाउरो शैलीमा सोमबार उनकै बचाउ गरे ।

बर्दियाको बबई नदी जब्दीघाटमा भत्किएको पुल । भासिएको एक वर्षसम्म पनि यो पुल पप्पु कन्स्ट्रक्सनले पुनर्निर्माण सुरु गरेको छैन ।

ती ठेकेदार हरिनारायण रौनियार हुन्, जो राउतकै पार्टी संघीय समाजवादी फोरमबाट पर्साको निर्वाचन क्षेत्र ३ बाट प्रत्यक्षतर्फ प्रतिनिधित्व गर्ने सांसदसमेत हुन् ।

ठेकेदारबाट राजनीतिमा छिरेका रौनियारको पप्पु कन्स्ट्रक्सनले तराई–मधेसमा अनेकौं सडक र पुल निर्माण काम अलपत्र छाडेको छ । राजनीति आडमै ठेक्का पाउने र निर्माणमा ढिलाइ गर्दा धनुषा, सिरहा, सर्लाही, रौतहट र पर्सामा निर्माणाधीन पुल र सडक बन्न सकेका छैनन् । त्यस्ता ठेकेदारलाई कारबाहीको दायरामा ल्याउन केन्द्र सरकार जुर्मुर्‍याएका बेला रौनियारले भने पार्टीको धाप पाएका छन् ।

Yamaha

लालबकैया नदीको टिकुलिया घाटमा गएको शनिबार राति भएको डुंगा दुर्घटनापछि राउत घटनास्थल पुगेका थिए । उक्त घाटमा पुल निर्माणको जिम्मा लिएको रौनियारको पप्पु कन्स्ट्रक्सनले एक वर्षअघि नै सकिसक्नुपथ्र्यो ।

समयमा काम नगर्ने र ठेक्का लिएर विकास निर्माणको काम अलपत्र पार्ने निर्माण कम्पनीको गत महिना गृह मन्त्रालयको निर्देशनमा सबै जिल्लाका प्रशासन कार्यालयले सूची तयार पारेको थियो । प्रदेश २ मा सडक र पुलको निर्माण गर्ने ठेक्का सकार्ने र समयमा काम नगर्ने ठेकेदार सूचीमा पप्पु कन्स्ट्रक्सन नै अगाडि देखिएको छ । विकास निर्माणका दर्जनौं काम अलपत्र पारेको भन्दै विवादमा तानिए पनि पछिल्लो समय रौनियारले आफू सञ्चालक रहेको पप्पु कन्स्ट्रक्सनको जिम्मेवारी जेठा छोरा सुमितलाई सुम्पेका छन् ।

पप्पु कन्स्ट्रसनका रौनियार तपाईंकै पार्टीको सांसद हो, कसरी कारबाही होला भन्ने सञ्चारकर्मीको जिज्ञासामा मुख्यमन्त्री राउतले उनी अहिले पप्पु कन्स्ट्रक्सनमा नरहेको बताए । ‘पहिले सञ्चालक थिए भन्दैमा दोष लगाउनु मिल्दैन,’ रौनियारको बचाउ गर्दै उनले भने, ‘पार्टी प्रवेश गर्नुअगावै कन्स्ट्रक्सन छाडिसकेका हुन् । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका अनुसार पप्पु कन्स्ट्रक्सनले २०७४ असार मसान्तअगावै ८ वटा बिलको ५ करोड बढी भुक्तानी लगिसकेको छ । हेटौंडा कार्यालयबाट ४ र चन्द्रनिगाहपुरबाट ४ वटा बिलको भुक्तानी लगेको हो । पुल निर्माणको काम ३६ प्रतिशतभन्दा बढी नभएको डिभिजन कार्यालयले जनायो ।

रौतहटको गौर नगरपालिका ४, टिकुलीया घाटमा सोमबार डुंगा दुर्घटनाबारे जानकारी लिँदै मुख्यमन्त्री लालबाबु राउत तस्बिर : शिव पुरी

पुल निर्माणका लागि पप्पु कन्स्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार १ सय ५० रुपैयाँमा ठेक्का सकार गरेको थियो । ०७४ असार २५ भित्र काम सक्ने सम्झौता थियो । एक वर्षदेखि निर्माणको काम बन्द गरी पुल अलपत्र छाडेको छ । टिकुलिया घाटको बन्जारास्थित खेतमा काम गरी फर्केकाहरू शनिबार राति डुंगा दुर्घटनामा परेका थिए ।

टिकुलिया घाटको पुल मात्र होइन, उनको कम्पनीको लापरबाहीले नसकेका विकासका कामको सूची लामै छ । धनुषा र सिरहालाई जोड्ने हुलाकी सडकको कमला पुल ०६८ जेठ ३१ गते सम्झौताअनुसार ०७१ मंसिर ३० गते निर्माण सकिसकेको हुनुपथ्र्यो । तर, पप्पु–लुम्बिनी जेभी काठमाडौंले सम्झौताअनुसार तोकिएको समयमा निर्माण नगर्दा दुई पटक म्याद थप भए पनि निर्माणमा खासै प्रगति हुन सकेको छैन । पहिलो पटक थप म्याद गुज्रिँदा ३० प्रतिशत कामसमेत हुन सकेको छैन ।

कमलाको १२ सय मिटर चौडाइ दुई बाँधको बीचमा ४ सय ७० मिटर लामो पुल निर्माणका लागि उक्त कम्पनीले २८ करोड १५ लाखमा ०६८ जेठ ३१ गते सम्झौता गरेको थियो । ४२ महिनामा काम सक्ने सम्झौता गरेको निर्माण कम्पनीले दुई पटक म्याद थपेर गत मंसिर ३० गतेसम्म सम्पन्न गर्नुपर्ने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका इन्जिनियर मनोजकुमार मण्डलले जानकारी दिए ।

धनुषाको कुर्थादेखि महोत्तरीको सम्सीसम्म जोड्ने सडक खण्डको रातु नदीको पुल ०७१ असार ३१ गते सम्झौता गरी ०७३ असार ३१ मा निर्माण सम्पन गर्नुपर्ने थियो । तर पप्पु–दिवा जेभीले समयमा काम नगर्दा रातु नदीको पुल निर्माण अलपत्र परेको छ । आर्थिक वर्ष ०७०/७१ को १९७ नम्बर ठेक्का पप्पु–दिवा जेभीले १४ करोड ६४ लाख ७४ हजारमा ठेक्का लिएको डिभिजन सडक कार्यालय जनकपुरले जनाएको छ ।

कार्यालयबाट पप्पु–दिवा जेभीले ३ करोड ३२ लाख रुपैयाँसमेत निकासा गरेको छ । तर कामको प्रगति भने हुन सकेको छैन । सम्झौताको म्याद सकिने बेलामा शक्ति प्रयोग गरी ठेक्का सम्झौता म्याद थप गर्ने निर्माण व्यवसायी रकम खर्च गर्छन् तर योजना सम्पन्न गर्ने बेलामा चासो नदेखाउँदा डिभिजन सडक कार्यालय जनकपुर र हुलाकी सडकको दुई योजना अलपत्र पर्नु उदाहरण मात्रै हो ।

पप्पु कन्स्ट्रक्सनको ठेक्काको रहेको धनुषाको महेन्द्रनगरस्थित औरही पुल निर्माण गर्न रसुवा, पप्पु, रोशनले थप भएको म्याद सकिनै लाग्दा पुल निर्माण पूरा हुन सकेको छैन । आर्थिक वर्ष ०७१/७२ को १०४ नम्बर ठेक्का ०७४ पुससम्म पुल निर्माणका लागि १२ करोड २९ लाखमा ठेक्का लागेको थियो ।

सीमित मजदुर र स्रोतसाधन परिचालन गरी निर्माण काम हुँदा यी ठेकेदारले समयमा काम गर्न नसकेको प्राविधिक र स्थानीय बताउँछन् ।

‘पुल बन्न थालेपछि कमलाको बहाव क्षेत्र फेरिइसक्यो, तर पुल बन्ने कुनै छाँटकाँट छैन,’ कमला नगरपालिका मडानका रविया पासवानले बताए । जनकपुरबाट सिरहा सदरमुकाम सिरहा जोड्ने हुलाकी सडक खण्डको कमला पुल निर्माणमा ढिलाइ हुँदा वर्षा सिजनमा आवतजावत नै ठप्प हुने गरेको छ । बाढीमा नदी पार गर्न नसक्ने र सुक्खा समयमा कमला नदी तर्न डुंगाको प्रयोग गर्नुपर्ने समस्या झेल्दै आएका छन् ।

बाढीमा डुंगा दुर्घटना हँ‘दा पटकपटक मानवीय क्षतिसमेत भएको कारण कमलामा जोखिम बढेको छ । कमला पुल निर्माण हुन थालेपछि वर्षौंदेखिको समस्या अन्त हुने भन्दै स्थानीय उत्साहित थिए । तर पुल निर्माण सुरु भएको ८ वर्ष पुग्नै लाग्दा निर्माण पूरा नहुने अवस्था आएको कमला नगरपालिका–४ बालासघाराका ६५ वर्षीय हुसेनी धुनियाले बताए । पप्पु जेभीले नै ठेक्का लिएको बलान पुलसमेत ८ वर्ष पुग्नै लाग्दा निर्माण पूरा गर्न सकेको छैन ।

पप्पु कन्स्ट्रक्सनले धनुषाको रामजानकी पथ, यदुकाहा–नाथपट्टी सडक र महोत्तरीको खाद्य संस्थान चोकदेखि सारी सिमराढीसम्मको सडक ठेक्का लागेको ५ वर्ष पुग्नै लाग्दासमेत पूरा भएको छैन । म्याद गुजारेर पुन: म्याद थपका लागि निर्माण व्यवसायीले लगाउने शक्तिका कारण प्रदेश २ का योजना निर्माणमा समेत ढिलाइ भएको छ ।

५ वर्षसम्म म्याद गुजार्दै
निर्धारित समयमै पर्साको एकटंगा र हरपुरबीचको तिलावे खोलामाथिको पुल निर्माण भइदिएको भए चैनपुर निवासी रामचन्द्र सालाई हरपुर पुग्न मात्र ३ किलोमिटरको दूरी तय गर्नुपथ्र्यो । वर्षातको समयमा झन्डै १३ किलोमिटरको घुमाउरो बाटो पार गरी हरपुर जाने बाध्यता छ ।

एम्बुलेन्ससमेत जान नसक्दा बिरामीलाई झन् सास्ती छ । पर्साको बजियान र थरुहट क्षेत्रलाई जोड्ने पुल समयमै निर्माण नहुँदा स्थानीय मारमा परेका छन् । सडक विभागले ०६८ साउन २७ मा पर्साकै पप्पु कन्स्ट्रक्सनसँग ०७० साउन २७ सम्ममा पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । ३ करोड ३१ लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त पुलको ठेक्का पप्पुले २ करोड १४ लाख रुपैयाँमा सकार गरेको थियो । ५ वर्ष अगाडि नै निर्माण सकिनुपर्ने पुलको हालसम्मको भौतिक प्रगति करिब ५० प्रतिशत मात्र पुगेको सडक विभागले जनाएको छ ।

पर्साको ठूलो खोलामध्येको एक तिलावेमा पुल निर्माणका लागि स्थानीयले सरोकारवाला निकायसँग वर्षौं हारगुहारपछि पुल निर्माणको योजना आएको थियो । राष्ट्रिय वनक्षेत्रबाट आउने उक्त खोलामा सामान्य वर्षामा समेत पानीको बहाव बढ्ने गरेको छ । ‘पानी बढेपछि उत्तरी क्षेत्रसँग सम्पर्क नै टुटछ,’ एकटंगाका हिरालाल यादवले भन्छन्, ‘जन्ती बोकेका गाडीसमेत पल्टिएका छन् ।’

लामो समयदेखि ठेकेदार कम्पनीले निर्माण कार्य ठप्प पारेका थिए । पछिल्लो समय गृह मन्त्रालायले ठेक्का सकार गरी काम अलपत्र पार्ने ठेकेदारको सूची संकलन गर्न थालेपछि ठेकेदारले सुस्त गतिमा काम सुचारु गरेका छन् । ‘अहिले निर्माण कार्य पुन: ठप्प छ,’ पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले भने, ‘जति ताकेता गरे पनि ठेकेदारले सुनवाइ गर्दैनन् ।’

स्थानीय तहको निर्देशनलाई समेत ठेकेदारले अटेर गर्दै आएका छन् । ‘पुल निर्माणको ठेक्का सम्झौता भएपछि स्थानीय हर्षित थिए,’ विगत सम्झँदै पर्सागढीका मेयर यादवले भने, ‘विगत लामो समयदेखि ठेकेदारले पुल निर्माण कार्य अलपत्र पारेपछि स्थानीयमा निराशा छाएको छ । हामीले पटकपटक ताकेता गरेका छौं । तर बेवास्ता भएको छ ।’

हस्तान्तरण नहुँदै भासियो
पप्पु कन्स्ट्रक्सनले पर्साको विन्दवासिनी गाउँपालिकाको गर्दौल स्थित नौरंगिया नदीमाथि निर्माण गरेको पुल हस्तान्तरण नहुँदै गत वर्ष पुलको दुवैपट्टिको एप्रोच स्लेब भासिएको थियो । पहुँच सडकमा निर्माण गरिएका खम्बा पनि बांगिएका थिए ।

स्थानीयले विरोध गरेपछि सडक विभागले एप्रोच स्लेब मर्मत गर्न ठेकेदारलाई पत्राचार गरेको थियो । ०६८ साउन २७ मा सडक विभागले निर्माण कम्पनीसँग सम्झौता गर्दा २ वर्षभित्र निर्माण सम्पन्न गर्ने सहमति थियो । स्थानीयले पुलको गुणस्तरमाथि प्रश्न उठाउँदै विरोध गरेपछि त्यस बेला पुल हस्तान्तरण कार्य रोकिएको थियो । जिल्ला समन्वय समितिमा पुल अनुगमन र निरीक्षणका लागि निवेदन दर्ता भएको थियो । सडक विभागले समेत एप्रोच स्लेब, एप्रोच सडक मर्मतका ठेकेदार कम्पनीलाई पत्राचार गरेको थियो ।

‘समयमै निर्माण गर्नका लागि ३ पटक पत्र लेख्यौँ,’ नाम उल्लेख नगर्ने सर्तमा सडक विभागका एक इन्जिनियरले भने, ‘सडक विभागलाई ठेकेदारले टेर्दैनन् ।’ पुल निर्माण कार्य सम्पन्न भई बुझबुझारथ गर्न गत वर्ष नै ठेकेदारले सडक विभागमा पहल गरेको थियो । अनुगमनमा त्रुटि भटिएको थियो ।

समय थप्दै, काम टार्दै
सर्लाहीमा एउटा सडक र अर्को पुल निर्माणको ठेक्का सकारेका पप्पु कन्स्ट्रक्सनले समय गुजारे पनि काम सकेको छैन । पूर्व–पश्चिम राजमार्गको हरिवनदेखि कौडेना जोड्ने सडक पप्पु कन्स्ट्रक्सनले निर्माण गर्ने एक्लै ठेक्का लिएको हो ।

ईश्वरपुरदेखि जब्दीको बीचमा पर्ने फुलजोर नदीको पुल पप्पुले संयुक्त ठेक्कामा पाएको छ । पप्पुले एकल ठेक्का लिएको सडकको निर्माण कार्य समयमा हुन नसकेपछि म्याद थप गरेर काम हुँदैछ ।

हरिवन–कौडेना सडक कालोपत्रे गर्न पप्पुले २०७५ जेठ ६ मा काम सक्ने गरी ०७३ वैशाख २२ मा निर्माण सुरु गरेको थियो । ३० किलोमिटर रहेको उक्त सडकमा ९ किलोमिटर मात्र कालोपत्रे भएको छ । बाँकी २१ किलोमिटरमा बेस बनाउने काम भइरहेको जिल्ला प्राविधिक कार्यालयले जनाएको छ । समयमा काम सम्पन्न नभएपछि ६ महिनाको समय थपिएको छ । थपिएको समय सक्न ४ महिना बाँकी छँदा ६५ प्रतिशत मात्र काम सकिएको कार्यालयका प्रमुख ललित न्यौपानेले बताए । उक्त सडकको लागत अनुमानको २२ प्रतिशत तल गएर पप्पुले १७ करोड ९२ लाखमा सकारेको थियो ।

पप्पुले ठेक्का लिएको काम समयमा सम्पन्न गर्न सकेको छैन । समयमा काम सम्पन्न हुन नसक्दा सर्वसाधारण हिउँदमा धुलो र वर्षामा हिलोले सास्ती खेप्न बाध्य छन् ।

यस्तै, ईश्वरपुरदेखि जब्दीको बीचमा पर्ने फुलजोर नदीको पुल पप्पु/शिवशंकर जेभीले ०७६ साउन १९ मा काम सक्ने गरी ०७३ चैत्र २१ मा निर्माण सुरु गर्ने सम्झौता गरेको थियो । १४ करोड ९८ लाख ९० हजार ५ सय ८१ रुपैयाँको लागत अनुमानको ठेक्का पप्पु संयुक्त रूपमा १२ कर।ेड २५ लाख ४७ हजार १ सय १७ रुपैयाँमा सकारेको थियो ।

ठेक्काको म्याद सक्न ११ महिना मात्र बाँकी रहँदा बल्ल केही दिनदेखि काम सुरु भएको छ । समयमै पुल बन्नेमा याहाँका स्थानीय विश्वस्त हुन सकेका छैनन् । पुल नहुँदा सर्वसाधारण वर्षामा जोखिम मोलेर वारिपारि गर्ने गर्छन् ।

कारबाही माग
रौतहट– पप्पु कन्स्ट्रक्सनको लापरबाहीले लालबकैया नदीको टिकुलिया घाटमा डुंगा दुर्घटना भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी रौतहटले सम्बन्धित ठेकेदारलाई कारबाहीको माग गरेको छ । ‘पप्पुलाई पाप लागोस्, आँसुको श्राप लागोस्, दोषीलाई कारबाही गर’ जस्ता नारासहितको प्लेकार्ड बोकेर सदरमुकाम गौरमा स्थानीयले जुलुस निकालेका थिए ।

जुलुसले नगरपरिक्रमा गरी प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल समक्ष ज्ञापनपत्र बुझाएको थियो । जुलुसको नेतृत्व गरेका नेकपाका नेता शम्भु साहले सम्झौताअनुसार ठेकेदारले काम नगर्दा ठूलो दुर्घटना ब्यहोर्नुपरेको बताए । समयमा पुल नबन्दा टिकुलिया र औरैयालगायत त्यस क्षेत्रका स्थानीयले ज्यान जोखिममा राखेर डुंगाबाट नदी वारपार गर्नुपरेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए ।

ज्ञापनपत्रमा लालबकैया र वागमती नदीहरूमा पुराना तथा जीर्ण भएका डुंगा सञ्चालन भइरहँदासमेत सम्बन्धित निकायको ध्यान नजानु दु:खद भएको उल्लेख गरेको छ । लालबकैया नदीमा पुल नभएकाले विकल्पका रूपमा डुंगा चढ्न बाध्य थिए ।

हस्तान्तरण नहुँदै भासियो
बाँके– पप्पु कन्स्ट्रक्सनले बर्दियास्थित बबई नदीको जब्दी घाटमा निर्माण गरेको पुल गत वर्ष साउनमा आएको बाढीले भासियो । हस्तान्तरण नहुँदै पुल भासिएपछि छानबिन क्रममा निर्माण गुणस्तरहीन भएको पुष्टि भयो । १६ करोड ६८ लाख ४ हजार रुपैयाँमा निर्माण गरिएको पुलले सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोडेको थियो ।

एक वर्ष नबित्दै पुल भत्कियो । पप्पु कन्स्ट्रक्सनले २०६८ असार २५ देखि निर्माण थालेको थियो । डेढ वर्ष ढिला निर्माण सकिएको पुल ४ सय ३५ मिटर लामो छ । पुल भत्किएकै एक वर्ष बित्दासमेत पुनर्निर्माण गरिएको छैन । ‘बाढीले पुल भत्कियो । ठेकेदारलाई कारबाही गर्न पटकपटक केन्द्रमा धायौं,’ बारबर्दिया नगरपालिका प्रमुख दुर्गाप्रसाद चौधरीले भने, ‘जति प्रयास गरे पनि सफल भएनौं । हार खायौं ।’

निर्माण क्रममा गुणस्तरमाथि प्रश्न उठेको थियो । स्थानीय प्रशासनले कमसल काम नगर्न सुझाव दिएको थियो । ठेकेदारले टेरेनन् । भासिएको पुल नहटाएकाले बाढी आउँदा पानी थुनिएर गाउँ डुबान हुन थालेको छ । ‘ठेकेदारलाई एक करोड दिन बाँकी थियो । हस्तान्तरण नहुँदै भत्कियो,’ डिभिजन सडक नेपालगन्जका प्रमुख अर्जुन बमले भने, ‘पुनर्निर्माणका लागि ८० लाख विनियोजन भएर आएको सुनेको छु ।’ यो पुल उदाहरण मात्रै हो । उक्त कन्स्ट्रक्सनले बाँके र बर्दियामा आधा दर्जन ठूला विकास आयोजना ठेक्का लिएर समयमै पूरा नगरी अलपत्र छाडेको छ ।

बाँकेको नौबास्तामा खुला कारागार निर्माणका लागि कोस्टल/पप्पु जेभीले भ्याटबाहेक ३९ करोडमा ठेक्का लियो । तर, ठेक्का लिएको १७ महिनासम्म ५ प्रतिशत काम भएको छैन । सहरी विकास तथा भवन डिभिजन कार्यालयले ठेक्का लगाएको हो । ठेकेदारले पहिलो किस्ता बुझिसकेका छन् ।

इन्जिनियर होमनाथ भुसालले १७ महिनामा नगन्य काम भएको बताए । उनले कामलाई गति दिन पटकपटक पत्राचार गर्दै आएको दाबी गरे । ‘कामलाई गति दिन ठेकेदारलाई पटकपटक पत्राचार गरेका छौँ । तर, काम अगाडि बढेको छैन,’ उनले भने ।

पप्पुले निर्माण जिम्मा पाएको सिक्टा आयोजनको डुडुवा नहर प्रणाली पनि अलपत्र छ । ठेक्का लिएको २८ महिनामा ५ प्रतिशत काम भएको छ । लक्ष्यअनुसार काम नभएपछि आयोजना अलपत्र परेको हो । सिक्टाले ०७४ पुस ३० गते सिँचाइ विभागलाई पत्राचार गरी काम गर्ने निर्माण कम्पनीबारे धारणा मागेको थियो । ९८ करोड ८१ लाख रुपैयाँमा १९ डिसेम्बर २०१८ सम्म काम सक्ने गरी ठेक्का लिएका थिए ।

एक वर्षदेखि अलपत्र
रूपन्देहीमा पप्पु कन्स्ट्रक्सनले निर्माण गरिरहेका दुई पुल एक वर्षदेखि अलपत्र छन् । हुलाकी राजमार्गअन्तर्गत भैरहवा–लुम्बिनी खण्डको दानवमा निर्माणाधीन डन्डा पुलको काम १३ महिनादेखि ठप्प छ । पाँच वर्षअघि ५ करोड ५६ लाख ८० हजार रुपैयाँमा तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको पुलको अहिलेसम्म ३८ प्रतिशत काम सकिएको छैन ।

सम्झौताअनुसार ०७३ असार २३ मा सकिनुपर्ने काम ०७४ असारदेखि ठप्प भएको छ । ठेक्काबापतको १ करोड ९१ लाख १४ हजार रुपैयाँ भुक्तानी लिइसकेको कम्पनीलाई सडक विभागले कारबाही गरेको छैन । २२ मिटर लम्बाइका चार स्पान निर्माण गर्नुपर्ने पुलका अहिलेसम्म तीन पिल्लरमात्र ठडिएका छन् । अन्य काम अलपत्र छन् । प्राविधिक त्रुटि भएको भन्दै कन्स्ट्रक्सनले एक वर्षदेखि काम रोकेको हो ।

हुलाकी राजमार्ग आयोजनाले ठेक्का लगाएको पुलको निरीक्षण सडक डिभिजन कार्यालय बुटवलले गर्दै आएको छ । डिभिजन प्रमुख कैलाशकुमार श्रेष्ठले प्राविधिक त्रुटि भएकाले ठेकेदारलाई कारबाही गर्न नसकिएको बताए । ‘पुरानो पुल नजिकै भएकाले जग खन्दा भासिने डर भयो,’ उनले भने, ‘त्यसैले विभागको सल्लाहमा डाइभर्सन गराउने सहमति भएको छ, अब काम सुरु हुन्छ ।’ डाइभर्सनको निर्णयपछि पनि काम सुरु नभए कारबाहीको प्रक्रिया सुरु गरिने उनले बताए ।

हुलाकी मार्गकै तिनाउ पुलको काम अहिले अलपत्र छ । झन्डै ९० मिटर लम्बाइको पक्की पुल निर्माण गर्न पप्पु/वाग्मती जेभीले ०७१ असारमा दुई वर्षमा सक्ने गरी सम्झौता गरेको थियो । गत वर्ष असार मसान्तमा म्याद थप भएको थियो । तर, अहिलेसम्म ५२ प्रतिशत काम मात्र सकिएको छ । अहिले काम ठप्प छ । तिनाउ पुल २२ मिटरका चार स्पानसहित निर्माण गर्ने सम्झौता छ । ‘समस्या उस्तै हुन्,’ इन्जिनियर अमित बर्माले भने, ‘नजिकै अर्को पुलबाट दैनिक आवतजावत भएकाले निर्माणमा समस्या पर्‍यो भन्ने गुनासो छ ।’

त्यस्तो समस्याको ठेक्का सम्झौताअघि निरीक्षण गरेर समाधान गर्नुपर्ने भए पनि अहिले आएर प्राविधिक त्रुटि देखाएर काम अलपत्र पार्ने प्रयास भइरहेको उनले बताए । डिभिजन कार्यालयका अनुसार तिनाउ पुलका लागि ६ करोड २ लाख ५६ हजार सम्झौता भएकामा ३ करोड १२ लाख ९८ हजार रकम व्यवसायीलाई भुक्तानी भइरहेको छ । अलपत्र दुवै पुल निर्माण अभावले भैरहवा–लुम्बिनी खण्डमा दिनहुँ घण्टौं जाम हुने गरेको छ । उद्योगमा सामान ढुवानी गर्ने साधन र सर्वसाधारण दैनिक सास्ती खेप्न बाध्य छन् । भैरहवा–बेथरी सडक हुँदै समयमै विमानस्थल पुग्नुपर्ने यात्रु र विद्यार्थी दिनहुँको जामले बढी समस्यामा पर्छन् ।

स्रोतका अनुसार पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारले आयोजना विभागका प्रमुखलाई उल्टै धम्की दिने गरेका छन् । ‘धम्की दिएरै डाइभर्सनका नाममा थप रकमको चलखेल भइरहेको छ,’ स्रोतले भन्यो, ‘रकम नदिए फेरि पनि काम अघि बढदैन, व्यवसायीलाई सरकारले कारबाही पनि गर्दैन ।’ सडक डिभिजनका एक इन्जिनियरले थप रकमका लागि ‘नेगोसियसन’ भइरहेको बताए ।

प्रदेशसभा सदस्य फकरुद्दिन खानले एक वर्षदेखि काम अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गर्नुको साटो उल्टै डाइभर्सनका नाममा सम्झौता गरेर थप रकम दिने प्रयास भइरहेको बताए । ‘अहिले आएर डाइभर्सनका नाममा रकम दिनुपर्ने हो भने, डिजाइन किन त्यस्तो गरियो ?’ उनले भने, ‘डिजाइन गर्ने कन्सल्टेन्ट र निर्माण व्यवसायी दुवैलाई कारबाही गर्नुपर्छ ।’ अन्यथा सम्झौताअनुसारकै रकममा छिटो काम गराउनुपर्ने उनले बताए ।

अलपत्र योजना र ठेक्का रकम
-डुडुवा नहर, ९८ करोड ८१ लाख
-हरिवन–कौडेना सडक कालोपत्रे, १७ करोड ९२ लाख
-टिकुली पुल, १४ करोड ९३ लाख
-कमला पुल, २८ करोड १५ लाख
-रातु पुल, १४ करोड ६४ लाख
-औरही पुल, १२ करोड २९ लाख
-तिलावे पुल, ३ करोड ३१ लाख
-नौरंगिया पुल, २ करोड ९८ लाख
-फुलजोर पुल, १२ करोड २५ लाख

– ठाकुरसिंह थारू र घनश्याम गौतम

Esewa Pasal

प्रकाशित : भाद्र १२, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

संस्कृत सिक्दै मुस्लिम बालबालिका

विनोद भण्डारी

विराटनगर — मोहमद सफिकुल शेक यहाँको गायत्री संस्कृत मावि आसपास हुने प्राय: सबै धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न पुग्छन् । उनले स्वस्ती वाचन गर्दा कार्यक्रम आयोजकले शेक मुसलमान हुन् भन्ने भेउ नै पाउँदैनन् ।

विराटनगरको गायत्री संस्कृत विद्यालयमा पढ्ने मुस्लिम समुदायका बालबालिका । तस्बिर : विनोद भण्डारी

उनी संस्कृत फररर पढ्छन् । स्वस्ती वाचन गर्दा शेकलाई अरू केही मुसलमान र हिन्दु बालबालिकाले साथ दिन्छन् । विद्यालय आसपास हुने धार्मिक कार्यक्रममा स्वस्ती वाचन गर्न संस्कृत पढ्दै गरेका बालबालिका पठाइ दिन आयोजक आएर आग्रह गर्छन् ।

विद्यालयका प्राचार्य युगेश्वर मेहताले भने, ‘त्यसका लागि शेकसहितको टिम पठाउने गरेका छौं ।’ उनका अनुसार विद्यालयमा राष्ट्रिय गानपछि वाचन गरिने स्वस्ती र आसपास हुने धार्मिक कार्यक्रममा जाने बालबालिकामा आधा मुस्लिम र आधा हिन्दु हुन्छन् ।

बाल कक्षादेखि १० सम्म संस्कृत पढाइ हुने यो विद्यालयमा शेक कक्षा १० मा पढ्छन् । तर उनी एक्ला भने होइनन् । विद्यालयका ३ सय बालबालिकामा ४६ मुस्लिम छन् ।

शेकले कक्षा २ देखि यो विद्यालयमा संस्कृत अध्ययन गरेका हुन् । उनका दाजु मोहमद रफिकुलले यसैपालिको एसइई परीक्षामा बी प्लस जीपीए ल्याएर उत्तीर्ण गरेर यहीँको सिटी कलेजमा कक्षा ११ मा शिक्षा संकाय पढ्दै छन् । बहिनी खुसवु ७ र भाइ सलमान कक्षा ३ मा अध्ययनरत छन् ।

‘हामी एक दिन पनि मदरसा पढ्न गएनौं,’ उनले भने, ‘आमाले पटकपटक मदरसा पढ्न जान र संस्कृत विद्यालय नजान भने पनि मानेनौं ।’ सरकारी विद्यालय पढ्दा सरकारी जागिर खान पाइन्छ भन्ने बुझेकाले घरनजिकैको संस्कृत विद्यालयमै पढेको उनको भनाइ छ ।

‘सुरुमा संस्कृत पढ्न र बुझ्न गाह्रो भयो,’ उनले भने, ‘अब त कुरानभन्दा संस्कृत पढ्न सजिलो लाग्न थाल्यो ।’ एसईई उत्तीर्ण गरेर कक्षा ११ र १२ मा व्यवस्थापन संकाय पढ्ने शेकको इच्छा छ । उनकी बहिनी खुसवु पनि स्वस्ती वाचन गर्न हिँड्छिन् । यो विद्यालयको बालकक्षामा अध्ययनरत २७ बालबालिकामध्ये १६ जना मुस्लिम छन् । कक्षा १ मा ९, कक्षा २ मा ४ जना मुस्लिम बालबालिका छन् ।

त्यसैगरी कक्षा ३ मा २३ मध्ये ७, कक्षा ४ मा १, कक्षा ५ मा ४, कक्षा ६ मा १, कक्षा ७ मा २, कक्षा ९ र १० मा एक–एक मुस्लिम विद्यार्थी पढ्ने गरेको विद्यालयको अभिलेखमा छ ।

साना कक्षामा मुस्लिम बालबालिका भर्ना हुने क्रम बढदो रहेको प्राचार्य मेहताको भनाइ छ । ‘पाँच कक्षासम्म मुस्लिम बालबालिका नियमित विद्यालय आउँछन्,’ उनले भने, ‘त्यसपछिका कक्षामा उनीहरूको उपस्थिति न्यून हुन्छ ।’

उनीहरू विद्यालय छाडेर अविभावकसँग मजदुरी गर्न हिँड्ने र केही सागसब्जी बिक्री गर्न हिँडने गरेको पाइएको मेहताले बताए । यी सबै बालबालिका विद्यालय नजिकको सिंघीया खोलाको ऐलानी जमिनमा बसोबास गर्ने सुकुम्बासी परिवारका हुन् । मेहताका अनुसार कक्षा ५ सम्म पढेर अधिकांश बालबालिका मजदुरी गर्न हिँड्ने गरेको पाइएको छ ।

विद्यालयमा हरेक वर्ष मुस्लिम बालबालिका भर्ना हुने क्रम नियमित छ । तर माथिल्लो कक्षामा केही बालबालिका मात्र टिक्छन् । मेहताका अनुसार यो विद्यालयवाट अहिलेसम्म संस्कृत पढेर मुस्लिम समुदायका ३ जनाले एसइई उत्तीर्ण गरेका छन् ।

२०६८ सालमा मोहमद समशिलले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए । यसपालि मोहमद रफिकुल र अघिल्लो वर्ष मोहमद डोमीले बी प्लस जीपीए ल्याएर एसइई उत्तीर्ण गरेका थिए ।

प्रकाशित : भाद्र १२, २०७५ ०७:२०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT