कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किन स्थगित गरे दाहालले लखनऊ भ्रमण ?

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र र बाहिरबाट हुने सक्ने आलोचना र विवादबाट बच्न सार्वजनिक रुपमा सार्वजनिक चर्चामा नआएको आफ्नो पूर्वनिर्धारित लखनऊ यात्रा अन्तिम समयमा आएर स्थगित गरेका छन् । 

किन स्थगित गरे दाहालले लखनऊ भ्रमण ?

दाहाल यही भदौ १६ मा लखनऊमा आयोजना हुने ‘हिन्दुस्तान शिखर समागम’ मा सहभागी हुने कार्यक्रम थियो । भारतीय हिन्दु दैनिक हिन्दुस्तान प्रमुख आयोजक रहेको उक्त कार्यक्रममा दाहाललाई वक्ताका रुपमा बोलाइएको थियो ।

तर, लखनऊमा दाहालले सम्बोधन गर्ने कार्यक्रम मात्र एक घन्टाको थियो । त्यही ‘एक घन्टे’ कार्यक्रमका लागि नेकपा अध्यक्ष दाहाल आगामी शुक्रबार दिल्ली हुँदै लखनऊ जाने तय भएको थियो ।


त्यसो त दाहाल भदौको अन्तिम साता भारत सरकारको निमन्त्रणमा दिल्ली आउने कार्यक्रम यसअघि नै तय भइसकेको छ । २२–२७ भदौमा हुने दाहालको साताव्यापी दिल्ली बसाई उच्चस्तरीय राजनीतिक भेटघाट केन्द्रित हुने बताइएको छ ।


विमस्टेक सम्मेलनसँगै एकसाताभित्रै दुई पटक भारत भ्रमणमा जाँदा पार्टीभित्र र बाहिरबाट हुनसक्ने सम्भावित आलोचनालाई ध्यानमा राख्दै लखनऊ भ्रमण स्थगित गरिएको स्रोतको दाबी छ ।

साथै पाकिस्तानी मूलका क्यानाडाली लेखक तथा अधिकारकर्मी तारिक फतह समेत कार्यक्रममा वक्ता रहेको हुँदा प्रचण्डको उपस्थिति विवादमा तानिने प्रबल सम्भावना थियो । पाकिस्तानका चर्को आलोचक रुपमा चिनिने फतह भारतीय जनता पार्टी निकट मानिन्छन् ।


त्यसो त कार्यक्रमको प्रकृति र अन्य आगन्तुकका बारेमा नबुझि कार्यक्रममा सहभागिता जनाउनु नेपाली राजनीतिज्ञहरुका लागि नौलो कुरा भने होइन । दुई वर्षअघि भारतको गोवामा भाजपा निकट थिंक ट्याकं इण्डिया फाउण्डेशनले आयोजना गरेको एउटा कार्यक्रम सहभागी भएका कारण पूर्वप्रधानमन्त्री तथा नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवा विवादमा तानिएका थिए ।

उक्त कार्यक्रममा तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधि लोब्सागं सांगे समेत सहभागी हुने पूर्वजानकारी हुँदाहुँदै पनि भाग लिएकोमा देउवाको पार्टीभित्र र बाहिरबाट चर्को आलोचना भएको थियो ।


तर, दाहालको सचिवालयले भने काठमाडौंमा हुन गईरहेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडी देशहरुको प्रयास (बिमस्टेक) सम्मेलन र त्यसमा सहभागी हुन आउने विशिष्ट पाहुनासँग दाहालको भेट तय भएको कारण भ्रमण स्थगित गराएको जनाएको छ ।


‘बिमस्टेकमा आउने विदेशी पाहुनासँग भेटघाट तय भएकाले नजाने निर्णय भयो,’ दाहालका निजी सचिव जोखबहादुर महराले कान्तिपुर लाई भने । ‘विमस्टेकमा आउने विदेशी विशिष्ट पाहुनाहरुसँग भेट निश्चित भएकाले लखनऊको कार्यक्रममा वहाँ आउन नसक्ने जानकारी आज बिहान मात्र (मगंलबार) पाएका छौँ’ आयोजक स्रोतले कान्तिपुर लाई बतायो ।


विगतका संस्करणलाई हेर्ने हो भने कार्यक्रममा विशेषगरी भारतका राजनीतिज्ञ, चर्चित कलाकार, लेखक तथा खेलाडीहरुको सहभागिता रहँदै आएको छ । कार्यक्रममा आगामी शनिबार लखनऊमा हुने उक्त कार्यक्रममा उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भारतका गृह मन्त्री राजनाथ सिंह, उत्तरप्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादव, बलिउड अभिनेत्रीद्वय काजोल र रविना टण्डन लगायतले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


दाहाल कार्यक्रममा सहभागी नहुने निश्चित भइसके पनि मंगलबार मध्यान्हसम्म आयोजकको वेभसाइटमा उनलाई वक्ताहरुकै सूचीमा राखिएको छ ।

प्रकाशित : भाद्र १२, २०७५ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?