कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पर्यटन प्रवर्द्धधनबाट फाइदा

दुवै मुलुकका बौद्ध धर्म, संस्कृतिको संवर्द्धन गर्दै पर्यटन बढाउन पहल
माधव ढुंगाना

भैरहवा — म्यानमारका राष्ट्रपति विन मिन्टले नेपाल र म्यानमारका बौद्ध धर्म, संस्कृति र इतिहास प्रवर्द्धन गरेर पर्यटनका माध्यमबाट दुवै मुलुकले फाइदा लिनुपर्नेमा जोड दिएका छन् ।

पर्यटन प्रवर्द्धधनबाट फाइदा

बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आएका राष्ट्रपति मिन्टले बुधबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका क्रममा पर्यटन मन्त्री, लुम्बिनी विकास कोषका उपाध्यक्ष, प्रदेश ५ का मुख्यमन्त्री र प्रदेश प्रमुखसँगको अनौपचारिक कुराकानीमा दुवै मुलुकका बौद्ध धर्म, संस्कृतिको संवद्र्धन गर्दै पर्यटनलाई बढावा दिन पहल गर्ने बताए ।

‘उहाँले नेपाल र म्यानमार सांस्कृतिक रूपमा नजिक रहेको उल्लेख गर्दै दुवै मुलुकको सम्बन्ध प्रगाढ बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ,’ राष्ट्रपतिको भनाइ उद्धृत गर्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयले भने, ‘आफ्नो भ्रमणले म्यानमारका नागरिकलाई लुम्बिनी आउन अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो ।’ भिक्षु मेत्तेयका अनुसार राष्ट्रपतिले आफू बुद्धिस्ट भएको नाताले लुम्बिनी भ्रमण गर्ने इच्छा पहिल्यै रहेको जनाएका थिए ।

म्यानमारमा पनि ठूलो संख्यामा नेपालीभाषी रहेको र आपसी सद्भावका साथ मिलेर बसेको उल्लेख गरे । नेपालमा बौद्ध धर्म र संस्कृति पुरानो भए पनि बौद्ध शिक्षा भर्खरै अघि बढाइएकाले दुई मुलुक मिलेर यसमा केही गर्न सकिन्छ कि भन्नेबारे सकारात्मक देखिएका थिए । ‘यसभन्दा अघि पनि म्यानमारका नागरिक तथा पर्यटक लुम्बिनी आउने जाने गरेका थिए,’ उपाध्यक्ष मेत्तेयले भने, ‘अहिले राष्ट्रपतिका साथ त्यहाँका प्रमुख सञ्चार माध्यमको पनि सहभागिता रहनु र उनीहरूले आफ्ना राष्ट्रपतिको भ्रमणलाई प्रमुखता दिनुले अन्तर्राष्ट्रिय जगत्मा यहाँको महत्त्व अझ बढ्ने विश्वास गरेको छु ।’

राष्ट्रपति पत्नीसहित आएका थिए । म्यानमारका राष्ट्रपति स्तरको औपचारिक लुम्बिनी भ्रमण पहिलो हो । यसभन्दा अघि म्यानमारको उच्च ओहदाबाट आङसाङ सुकीले भ्रमण गरेकी थिइन् । त्यसभन्दा अघि म्यानमारका नागरिक तत्कालीन संयुक्त राष्ट्रसंघका महासचिव उथान्तले लुम्बिनी भ्रमण गरेका थिए । उनैले लुम्बिनीको योजनाबद्ध विकासको सुरु गरेको मानिन्छ ।

राष्ट्रपतिले बिहान मायादेवी मन्दिर भ्रमण गरेपछि लुम्बिनी विकास कोषको आगन्तुक पुस्तिकमा आफू बुद्ध धर्मावलम्बी भएका नाताले भगवान् शाक्यमुनि गौतम बुद्धको जन्मस्थलको तीर्थाटन गर्ने सौभाग्य पाउँदा अति हर्षित भएको उल्लेख गरे । कडा सुरक्षाबीच भ्रमण गर्ने क्रममा उनलाई लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले लुम्बिनी गुरुयोजनाबारे जानकारी गराएका थिए ।

मायादेवी मन्दिर छिर्नासाथ राष्ट्रपति मिन्टलाई कोषका पूर्ववरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले लुम्बिनीको ऐतिहासिक महत्त्व र कपिलवस्तुको तिलौराकोट तथा देवदहसँगको सम्बन्धबारे जानकारी गराए । राष्ट्रपतिले बुद्ध जन्मस्थलमा राखिएका प्राचीन ढुंगाको शिलालेख, अशोक स्तम्भबारे चासो दिएर जिज्ञासा राखे । भैरहवा विमानस्थलसम्म चार्टर विमानमा आएका उनलाई त्यहाँबाट लुम्बिनी हेलिकप्टरमा लगिएको थियो ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?