बिमस्टेक सम्मेलनमा भाग लिन तीन देशका प्रधानमन्त्री काठमाडौं ओर्लँदै

घनश्याम खड्का

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासकालागि बंगालका खाडीको प्रयास (बिमस्टेक ) को दुईदिने शिखर सम्मेलन राजधानी काठमाडौंमा बिहीबार बिहानबाट सुरु हुँदै छ । सम्मेलनमा भाग लिन बंगलादेश, भारत र थाइल्यान्डका प्रधानमन्त्री आज बिहान काठमाडौं ओर्लँदै छन् । 

बिमस्टेकको लागि सरकारले जोरबिजोर नम्बरप्लेटका सवारीसाधन चलाउने निर्णय गरेपछि बुधबार कलंकीमा अलपत्र परेका यात्रुहरु ।

सम्मेलनको तालिका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहान सवा ८ बजे काठमाडौं ओर्लने कार्यक्रम छ। तर तालिका भन्दा केही समय ढिला उनको विमान त्रिभुवन विमानस्थलमा अवतरण गर्ने परराष्ट्र स्रोतले जानकारी दिएको छ।

Yamaha

यस्तै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बाजेद सवा नौ बजे काठमाडौं ओर्लने कार्यक्रम छ भने थाइल्यान्डका प्रधानमन्त्री प्रायुत व चा पौने १० बजे त्रिभुवन विमानस्थल आइपुग्ने कार्यक्रम तालिका छ।

तीनै देशका प्रधानमन्त्री आफ्नो देशको राष्ट्रिय ध्वजाबहाकको विशेष विमानबाट काठमाडौं आउँदै छन्। उनीहरुलाई नेपाल सरकारको तर्फबाट उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले विमानस्थलमा स्वागत गर्नेछन्।

उनीहरु विमानस्थलबाट सोझै सम्मेलनस्थित सोल्टी होटल पुग्ने छन्।

तीन देशका प्रधानमन्त्री आउने भएपछि आज बिहान करिव ११ बजेसम्म राजधानीको ट्राफिक आवागमन प्रभावित हुनेछ। त्यसैले ट्राफिक प्रहरीले सर्वसाधारणलाई आफ्नो गन्तव्यमा पुग्नको लागि वैकल्पिक रुट रोज्न आग्रह गरेको छ।

बिमस्टेकमा आएका विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भेटघाट गर्ने कार्यक्रम छ। भारतीय समकक्षी नरेन्द्र मोदीसँग भोलि नै भेटघाट गर्ने कार्यक्रम छ। दुवै प्रधानमन्त्रीबीच शिष्टाचार भेट हुनेछ। भेटघाटमा यही विषयमा कुराकानी वा छलफल हुने भन्ने एजेन्डा तय भइसकेको छैन।

यसैगरी सबै देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले पनि सबैसँग भेटघाट गर्ने कार्यक्रम छ। चार वर्षपछि बिमस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखबीच भेटघाट हुन लागेको हो।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई स्वागत गरेका छन्।

आजदेखि राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका सिलसिलामा सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख काठमाडौँमा अवतरण गरेको सन्दर्भमा उनीहरूलाई ट्वीटमार्फत प्रधानमन्त्रीले स्वागत गरेका हुन्।

प्रधानमन्त्री ओलीले बिम्स्टेकलाई शान्त, दिगो, विकासतर्फ उन्मुख एवं समृद्ध क्षेत्र बनाउन शिखर सम्मेलनबाट उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

Esewa Pasal

प्रकाशित : भाद्र १४, २०७५ ०८:४४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बिमस्टेक शिखर सम्मेलन आज: व्यापार र ऊर्जामा मुख्य प्राथमिकता

घनश्याम खड्का

काठमाडौँ — बिमस्टेकको दुईदिने शिखर सम्मेलनले दक्षिण एसिया र दक्षिणपूर्वी एसियालाई जोड्न व्यापार, ऊर्जा, यातायातलगायत विषयमा क्षेत्रीय सम्झौता तथा प्रतिबद्धता जाहेर गर्ने भएको छ ।

सदस्य राष्ट्रबीच जनस्तर तथा राष्ट्रस्तरमा ऊर्जा, व्यापार, पर्यटन, प्रविधि तथा कृषिलगायत विषयमा कनेक्टिभिटी बढाउनु सम्मेलनको मुख्य उद्देश्य भएको आयोजक राष्ट्र नेपालले जनाएको छ । सम्मेलनको पूर्वसन्ध्यामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यान्मार र थाइल्यान्डका विदेशमन्त्रीस्तरीय बैठकको अध्यक्षता गर्दै बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कनेक्टिभिटी, व्यापार, पर्यटन, ऊर्जा र कृषिलाई प्राथमिकतामा राख्न प्रस्ताव गरे ।

मन्त्रीस्तरीय बैठकले सचिवस्तरीय बैठकबाट भएको छलफल र निष्कर्षमाथि विचार गर्दै त्यसलाई सम्मेलनमा प्रस्तुत गर्ने निर्णय गरेको छ । जसअनुसार विद्युत् प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्र (एमओयू) मा सातै देशका मन्त्रीले हस्ताक्षर गर्दै छन् ।

सम्मेलनमा भाग लिन श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला श्रीसेना र भुटानका अन्तरिम सरकारका मुख्य सल्लाहकार तथा प्रधानन्यायाधीश छिरिङ वाङचुक बुधबार काठमाडौं आएका छन् । मंगलबारै नेपाल आएका म्यान्मारका राष्ट्रपति विन मिन्टले लुम्बिनी भ्रमण गरी अपराह्न प्रधानमन्त्री केपी ओलीसँग द्विपक्षीय भेटवार्ता गरेका छन् भने साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा शिष्टाचार भेट गरेका छन् । वाङचुकले बुधबार अपराह्न प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत–चान–ओच सम्मेलन सुरु हुनुअघि बिहीबार मध्याह्न काठमाडौं आइपुग्ने कार्यक्रम छ ।

साँझ पौने चार बजे सुरु हुने सम्मेलनमा बिमस्टेक राष्ट्रबीच खुला व्यापार सम्झौताका बारेमा पनि छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बिमस्टेक राष्ट्रबीच स्थल र जलमार्गको कनेक्टिभिटीका लागि गुरुयोजना बनाउने काममा सम्मेलनले महत्त्वपूर्ण निर्णय गर्ने अपेक्षा छ । क्षेत्रीयस्तरमा प्रतिआतंकवादका साझा रणनीति पहिल्याई त्यसलाई कार्यान्वयन गर्नेबारे सातै देशका राष्ट्र/सरकार प्रमुखबीच छलफल हुने एजेन्डा छ ।

स्थापनाको दुई दशक पुगिसक्दा पनि बडापत्र तथा कानुनी दस्तावेजविहीन अवस्थामा चल्दै आएको बिमस्टेकलाई थप मजबुत बनाउने निर्णय सम्मेलनले गर्नेछ । त्यसअनुसार सम्मेलनले बडापत्र निर्माण र संयुक्त लगानी कोष स्थापना गर्न काठमाडौं घोषणापत्र जारी गर्नेछ ।

बिमस्टेक सचिवालयले भन्सारसम्बन्धी आपसी सहायता तथा सहकार्य गर्न सम्झौता गर्ने विषयमा समेत छलफल गर्नेछ । त्यस्तै सम्मेलनका क्रममा बिमस्टेक मोटरगाडी सम्झौता र बिमस्टेक तटवर्ती जल परिवहन सम्झौता गर्नेबारे छलफल हुनेछ । यी सबै सम्झौताको मस्यौदालाई मन्त्रीस्तरीय बैठकले बुधबारै अन्तिम रूप दिइसकेको छ ।

मन्त्रीस्तरीय बैठकले बिमस्टेकको अध्यक्षता श्रीलंकालाई दिने निर्णय गरेको छ । अब दुई वर्षपछि पाँचौं शिखर सम्मेलन श्रीलंकामा हुनेछ । सदस्य राष्ट्रका परराष्ट्र सचिवबीच राजधानीमा भएको १९ औं बैठकले सम्मेलनका सबै एजेन्डा र काठमाडौं घोषणापत्रको मस्यौदा मंगलबारै बनाइसकेको छ।

प्रकाशित : भाद्र १४, २०७५ ०७:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT