कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहुल गान्धी काठमाडौं हुँदै मानसरोवर जाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौंमै रहेको बेला विपक्षी नेता राहुल गान्धी पनि आउने भएका छन् । मोदी विमस्टेकको चौथो शिखर सम्मेलनका लागि आएका हुन् भने गान्धी तिब्बतको कैलाश मानसरोवरको यात्रामा जानेक्रममा काठमाडौं ओर्लने भएका हुन् ।

राहुल गान्धी काठमाडौं हुँदै मानसरोवर जाने

भारतीय सञ्चारमाध्यमहरुका अनुसार कांग्रेस अध्यक्ष गान्धी मानसरोवर यात्राका लागि शुक्रबार काठमाडौं प्रस्थान गर्दैछन् । गान्धी १२ सेप्टेम्बरमा दिल्ली फर्कने कार्यक्रम रहेको कांग्रेसका अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् । तर, गान्धीको काठमाडौंमा बस्ने अवधि र मानसरोवरको भ्रमण तालिका भने सार्वजनिक गरिएको छैन ।

गत २६ अप्रिलमा कर्नाटक विधानसभा चुनावको प्रचारका क्रममा गान्धी चढेको जहाजमा अचानक प्राविधिक गडबडी देखिएपछि आपतकालीन अवतरण गर्नु परेको थियो । त्यसको केही दिनपछि २९ अप्रिलमा दिल्लीमा आयोजित एक आमसभालाई सम्बोधन गर्दै गान्धीले उक्त घटनाले आफू भित्रैदेखि बिचलित भएको र त्यतिबेला कैलाश मानसरोवरको सम्झना आएको हुँदा पार्टीले अनुमति दिए राजनीतिक गतिविधिबाट करिब दुईसाताको छुट्टी लिएर चाँडै नै कैलाश मानसरोवारको यात्रामा जाने बताएका थिए ।

पछिल्लो समय भारतीय जनता पार्टी (भाजपा) ले गान्धीलाई ‘हिन्दु विरोधी’ का रुपमा चित्रण गर्न थालेपछि गान्धीले आफूलाई हिन्दुविरोधी नभएर ‘शिवभक्त’ भएको दावी गर्दै आएका थिए । उनको कैलाश मानसरोवर जाने निर्णयलाई पनि भाजपाको त्यही आरोपको जवाफका रुपमा समेत हेरिएको छ । भारतमा आगामी वर्ष हुने लोकसभा चुनाव नजिकिँदै जाँदा सत्ता र विपक्षीबीच जातीय र धार्मिक मुद्दामा आरोपप्रत्यारोप पनि सघन बन्दै गएको छ ।

प्रकाशित : भाद्र १४, २०७५ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?