कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चार राष्ट्रप्रमुख शुक्रबार नै फर्कने, भारतसँग छुट्टै सम्झौता

कृष्ण आचार्य

काठमाडौँ — बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलनमा सहभागी हुन आएका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुमध्ये ४ जना भोलि (शुक्रबार) नै फर्कने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यानमार राष्ट्रपति विन मिन्ट र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा शुक्रबार नै भएका हुन् । 

चार राष्ट्रप्रमुख शुक्रबार नै फर्कने, भारतसँग छुट्टै सम्झौता

भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक भने शनिबार फर्कने छन् । उनी लुम्बीनि भ्रमणमा जाने कार्यक्रम छ । श्रीलंकाको राष्ट्रपति मैत्रीपाल सिरिसेना आइतबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ । नेपालका प्रधानमन्त्री केपी ओली र उनीबीच द्विपक्षीय भेटघाटका कार्यक्रम छ ।


चौथो सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री मोदी, बंगलादेशकी प्रधानमन्त्री हसिना र थाइल्यान्डका प्रधानमन्त्री प्रयुत व चा बिहीबार काठमाडौ आएका हुन् । म्यानमारका राष्ट्रपति विन मिन्ट र भुटानका अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष छिरिङ वाङचुक दुई दिनअघि बुधबार काठमाडौं आएका थिए । श्रीलंकाका राष्ट्रपति सिरिसेना भने मंगलबार नै काठमाडौं आएका थिए ।



बिहीबार उनीहरु सबैलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सामूहिक भेट गर्दै दिवाभोज दिएकी थिइन् । भोजलगत्तै सोल्टी होटलमा उपस्थित भइ उनीहरुले शिखर सम्मेलनमा उद्घाटन मन्तव्य राखेका थिए । सम्मेलनमा नेपालका प्रधानमन्त्रीका लागि २२ मिनेट र अन्य राष्ट्रका कार्यकारी प्रमुखका लागि १५/१५ मिनेको समय छुट्याइएको थियो ।


सम्मेलनमा सम्बोधन गरेलगत्तै उनीहरु बौद्धस्थित हायात होटल पुगे । नेपालका प्रधानमन्त्री ओलीले रात्रिभोजको आयोजना गरेका थिए । भोजमा नेपालस्थित कूटनितिक नियोगका उच्च अधिकारीहरु, केही परराष्ट्रविद् तथा सरोकारवाला अधिकारीसमेत सहभागी भएका छन् ।


भारतसँग छुट्टै सम्झौता

रिट्रिटको कार्यक्रमपछि शिखर सम्मेलनको घोषणापत्रमा सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले हस्ताक्षर गर्नेछन् । उक्त हस्ताक्षर र घोषणापत्र जारीपछि नेपालका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीको उपस्थितिमा द्विपक्षिय सम्झौताको तयारी छ ।


परराष्ट्र स्रोतका अनुसार रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको इन्जिनियरिङ अध्ययन सम्झौतामा हस्ताक्षर हुने छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यसअघि घोषणा गरिएको बल्क कार्गोसम्बन्धी सम्झौतामा भने हस्ताक्षर नहुने भएको छ । तयारी अपुग भएका कारण उक्त सम्झौता नहुने परराष्ट्र स्रोतले जनाएको छ ।


सम्मेलन स्थलमै रिट्रिट

सम्मेलनमा सहभागी हुन आएका बिमस्टेक सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुका लागि ‘रिट्रिट’ होटल सोल्टीमै हुने भएको छ । चाबहिल–जोरपाटी–गोकर्णको सडक अवस्था तत्काल सुधार गर्न नसकेपछि सरकारले सम्मेलन अडायोजना स्थलमै ‘रिट्रिट’ गर्ने भएको हो । ‘यसपटक होटल सोल्टीमै हुने भएको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले भने ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक विभागले चाबहिल–जोरपाटी–गोकर्ण सडक स्तरोन्नति गरी रिट्रिट गोकर्ण रिसोर्टमै गर्ने गृहकार्य गरेको थियो । ‘वर्षाका कारण द्रुतगतिमा त्यो सडक सुधार गर्न सकिने अवस्था नै भएन,’ मन्त्रालयका सचिव मधुसूदन अधिकारीले भने, ‘सडक बनाउन नसक्ने जानकारी गराएपछि सोल्टीमै गर्ने भनिएको छ ।’


सामूहिक तथा व्यक्तिगत अनौपचारिक छलफल तथा कुराकानीका लागि ‘रिट्रिट’को आयोजना गरिन्छ । सम्मेलनमा सहभागी भएका कार्यकारी राष्ट्रप्रमुखहरुका लागि द्विपक्षीय तर अनौपचारिक कुराकानीका लागि ‘रिट्रिट’ महत्वपूर्ण मानिन्छ । ठूला सभा सम्मलेनहरुमा त्यसैका लागि रिट्रिट अवधारणा आएको हो । ‘सम्मेलनस्थल भन्दा बाहिर नै गर्न सकेको भए निकै राम्रो हुन्थ्यो,’ पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले भने, ‘तर सुरक्षा तथा अन्य परिस्थितिवश सम्मेलनस्थलमै पनि रिट्रिट गर्न सकिन्छ ।’


आयोजक मुलुक, सुरक्षा, पूर्वाधार तथा सवारीको अवस्था अनुसार ‘रिट्रिट’ को स्थान फरक पर्ने उनले बताए । नेपालले आयोजना गरेको सार्क शिखर सम्मेलनमा धुलिखेलमा ‘रिट्रिट’ को आयोजना गरेको थियो । यसपटक गोकर्णमा गर्ने भनिए पनि सडक बनाउन नसकेकाले सोल्टीमै हुन लागेको हो ।

प्रकाशित : भाद्र १४, २०७५ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?