कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अस्ताए रिमाल

सुशील पौडेल

काठमाडौँ — ‘मेरो दिल टुक्रा बनेर एक दिन आँखाको बाटो बहनेछ...’ विराटनगर जुटमिलबाट प्रसारण भइरहेको प्रजातान्त्रिक रेडियोलाई काठमाडौं सारिएपछि २००७ साल चैत २० मा यही गीतबाट प्रसारण आरम्भ भएको थियो ।

अस्ताए रिमाल

शंकर लामिछानेको उक्त रचनालाई हरिप्रसाद रिमालले स्वर तथा संगीत भरेका थिए । रेडियो नेपालका तिनै प्रथम गायक रिमालको शुक्रबार ९३ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि श्वासप्रश्वासको समस्या झेलिरहेका रिमाल बानेश्वरस्थित फूलचोकी मार्गमा रहेको आफ्नै निवासबाट अस्ताए ।

काठमाडौंको लगनटोलमा जन्मेका रिमाललाई गायनमा थप चिनाउने काम गरे, ‘बिना बादल असिना पर्दैन...’, ‘फगत एक नजरमा...’, ‘पवनले त फूललाई केही भन्यो कि...’ जस्ता कालजयी गीतले । सयभन्दा बढी गीत गाएका रिमाल पछि रेडियो नेपालकै नाट्य विभागमा सरेपछि गाउन पाएनन् । तर रेडियो नाटक विधालाई भने उनले त्यसपछि स्थापित नै गराए । रिमालले झन्डै ६ सय रेडियो नाटक उत्पादन गरे ।

उनको नाटकसँगको लगाब दरबार हाईस्कुल पढ्दाताका सुरु भइसकेको थियो । अतिरिक्त क्रियाकलापअन्तर्गत नाटकका गुरु थिए, बालकृष्ण सम । मीठो स्वरका रिमाललाई समले नै पहिलो पटक १९९५ मा आफूले लेखेको नाटक ‘मुकुन्द इन्दिरा’ मञ्चन क्रममा गाउने अवसर दिए ।

कम उमेरका कारण अभिनयको मौका नपाएका रिमाललाई त्यसको एक वर्षपछि भने उनै समले नाटक ‘प्रल्हाद’ मा खेलाए । उनले सम निर्देशित नाटकहरू ‘भीमसेन थापाको अन्त्य’, ‘उ मरेकी छैन’, ‘भक्त भानुभक्त’, ‘अन्धवेग’ मा पनि आफ्नो कलाकारिता देखाउने मौका पाए ।

आफैंले नाटक निर्देशन गर्न थालेपछि भने रिमालले अभिनय गर्न छाडे । निर्देशन गर्न थालेपछि आफ्नै अभिनय कमजोर ठानेका रिमालले गुरु समले नै चलाएको बढी नाटकीय शैलीको अभिनयमा परिमार्जन गरे । उनी अभिनय जीवन्त र संवाद सम्प्रेषण स्वाभाविक हुनुपर्छ भन्ने मान्यता राख्थे ।

नेपालमा बनेको पहिलो नेपाली फिल्म ‘आमा’ मा पनि उनले प्रधानपञ्चको भूमिकामा अभिनय गरे । ‘हिजो आज भोलि’, ‘परिवर्तन’, ‘मनको बाँध’, ‘के घर के डेरा’, ‘सिन्दूर’, ‘पिरती’, ‘सन्तान’, ‘ज्वाला’ लगायत दुई दर्जन फिल्ममा अभिनय गरे ।

तर रिमाल आफूलाई फिल्मभन्दा रंगमञ्चले बढी आनन्द दिने बताउँथे । भन्थे, ‘फिल्ममा कहिले कता गरेको अभिनयलाई जोडजाड पारेर देखाइन्छ । तर नाटक भनेको दर्शकका अघि प्रत्यक्ष प्रतिक्रिया लिँदै गर्न पाइन्छ । दर्शकको चप्पल खाए पनि वा तालीको वाहवाही पाए पनि अगाडि नै पाइन्छ ।’

गायन र अभिनयमा पोख्त रिमाल आफ्नो जीवनको सबैभन्दा ठूलो इच्छा नै गाउनु र अभिनय गर्नुलाई मान्थे । भारतको दरभंगाबाट आएको नौटंकीले बोलेको देखेर नै अभिनयप्रति उत्प्रेरित भएका रिमाल आफ्ना लागि कलाजस्तो ठूलो अम्मल यो दुनियाँमा अर्को नरहेको बताउँथे । रिमालले नेवारी नाटकसमेत लेख्नुका साथै निर्देशन पनि गरेका छन् । एक अन्तर्वार्तामा रिमालले भनेका छन्, ‘मैले जति पनि सृष्टि गरें, त्यो मेरा निम्ति हैन, यो देशका निम्ति हो । यसैमा मेरो इच्छा पूर्ण भएको छ ।’

२००७ देखि २०५३ सालसम्म रेडियो नेपालमा रहेका रिमालले २०१४ मा त्यहीं कार्यरत समाचार वाचिका कल्याणी पौडेलसँग प्रेमविवाह गरे । रिमालका पत्नीसहित दुई छोरा र एक छोरी छन् । रिमालको निधनमा प्रधानमन्त्री केपी ओलीले शोक व्यक्त गरेका छन् । ‘नेपाली सांगीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्वको निधनले मलाई अत्यन्त दु:ख लागेको छ,’ ओलीले ट्वीटमा लेखेका छन्, ‘डेढ वर्षअघि उहाँको निवासमा स्वास्थ्यस्थिति बुझ्न जाँदा भएको आत्मीय संवाद स्मरण भइरहेको छ ।’ नेपाल चलचित्र कलाकार संघका पूर्वसंरक्षकसमेत रहेका रिमालको निधनप्रति कलाकार संघले पनि शोक व्यक्त गरेको छ ।

प्रकाशित : भाद्र १६, २०७५ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?