कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकै बेडमा ३ गर्भवती

चाप थेग्न नसक्दा चिकित्सक हैरानु

सुनसरी — पर्याप्त बेड नहुँदा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूतिका बिरामीको बिजोग भएको छ । दैनिक चाप थेग्न नसक्दा एकै बेडमा ३ जनासम्म बिरामी राख्नुपर्ने रकतिपयलाई भुइँमै उपचार गराउनुपर्ने बाध्यता छ ।

एकै बेडमा ३ गर्भवती

प्रतिष्ठानमा मातृशिशु स्याहार केन्द्र थप्न २ वर्षअघि भवन निर्माण सुरु भए पनि बीचमै रोकिँदा बिरामी मारमा परेका हुन् ।

प्रतिष्ठानको प्रसूति विभागमा दैनिक क्षमता ३० जनाको मात्र छ । तर चौबीस घण्टामा ६० देखि ८० जना प्रसूतिका लागि आउने गरेका विभाग प्रमुख डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । ‘उनीहरूलाई व्यवस्थापन गर्न सधैं हम्मे पर्छ,’ उनले भने ।

प्रसूतिको इमर्जेन्सी क्षमता ५ बेडको मात्र छ । अप्रेसनपछि राखिने पोस्टनेटल वार्डको क्षमता ३६ वटा छ । जटिल अवस्था भएपछि प्रसूति विभागले मात्र दैनिक १५ जनाको अप्रेसन गर्ने र तीमध्ये अधिकांशलाई एक सातासम्म निगरानीमा राख्नुपर्ने भएकाले सधैं बेड अभाव हुने गरेको डा. रेग्मीले बताए । उनले चाप थेग्न नसक्दा बिरामीलाई जस्तै चिकित्सक र नर्सले सधैं हैरानी खेप्नुपरेको बताए ।

उपचारका लागि टाढा–टाढाबाट आउने गर्भवती महिला सुरक्षित प्रसूति हुन पाउने अधिकार भएको भन्दै भर्ना हुन खोज्छन् । प्रसूतिको समय नपुगेका बिरामीलाई भने चिकित्सकले सम्झाइबुझाई फर्काउने गरेका छन् । दुई दिनअघि पनि भर्ना हुने खोज्ने एक बिरामीले चिकित्सकसँग गुनासो राखिन् । डयुटीमा रहेका डा. जीवन धमलाले प्रसूतिका लागि प्रतिष्ठानमा भएका सबै बेड भरिएको, बिरामी खचाखच भएकाले तत्कालै भर्ना गर्न नसक्ने जनाए ।

भर्ना हुन आउने गर्भवती महिलालाई उनले सम्झाउने प्रयास गर्दै भने, ‘आफैं हेर्नुस्, सबै बेड भरिएका छन् । बेथा नै नलागी भर्ना गर्न सक्ने अवस्थामा छैनौं ।’

चिकित्सक र गर्भवतीबीच विवाद चलिरहेका बेला करिब १५ जना अन्य गर्भवती बेड नपाएर प्रसूति विभागको करिडोर, भुइँ र चौरमा पालो कुरेर बसेका थिए । प्रसूति विभाग साँघुरिएको हो कि गर्भवतीको संख्या बढेको हो भन्ने जिज्ञासामा सिनेटरसमेत रहेका रेग्मीले भने, ‘प्रसूति गर्नेको संख्या बढेको होइन, पूर्वमा भएका विभिन्न मेडिकल कलेज, जिल्ला र अञ्चल अस्पताल, स्वास्थ्य चौकीले गर्न सक्ने सामान्य प्रसूति पनि जोखिम मोल्न नसकेर प्रतिष्ठानमा रिफर भएर आउँछन् । त्यसैले हामीलाई चाप भयो ।’

अस्पतालका सहायक निर्देशकसमेत रहेका प्रसूति विशेषज्ञ डा. पप्पु रिजालले ओपीडीमा प्रसूति समस्या लिएर आउनेको संख्या दैनिक सरदर ६ सयजना रहेको बताए । उनले भने, ‘हामीसँग योग्य दक्ष जनशक्ति पर्याप्त हुँदाहुँदै पनि बेड अभावका कारण चारगुणा बढी बिरामीको चाप थेग्न सकेका छैनौं ।’

अत्यधिक चाप बढेपछि दुई वर्षअघिदेखि चार सय बेडका अलग्गै मातृशिशु स्याहार केन्द्र (एमसीएच) को निर्माण प्रतिष्ठानले २०७३ असार २८ देखि सुरु गरेको थियो । तर केज कन्सल्ट्यान्ट रहेको शर्मा–रसुवा जेभी काठमाडौंलाई ७२ करोड रुपैयाँमा बनाउन दिए पनि सिनेटमा पास नगरी अघिल्ला उपकुलपति डा. बलभद्रप्रसाद दासले २ अर्ब ४८ करोड रुपैयाँको टेन्डर गरेको भन्दै विवाद उठेको थियो । सोही कारण भवन निर्माण कार्य एक वर्षदेखि रोकिएको छ ।

प्रकाशित : भाद्र १७, २०७५ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?