कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ठुटे खोला पुलमा भारतीयको अवरोध

शंकर आचार्य

पर्सा — ठोरी गाउँपालिकाको २ र ३ वडाको सीमामा पर्ने ठुटे खोलाको पुल भारतीयको अवरोधले सञ्चालनमा आउन सकेको छैन ।

ठुटे खोला पुलमा भारतीयको अवरोध

विगतमा भारतीय सुरक्षा फौज (एसएसबी) को अवरोधले बन्न नसकेको ठुटे खोलाको पुल अहिले निर्माण पूरा भए पनि भारतीयको अवरोधले प्रयोगमा आउन नसकेको हो । वीरगन्ज–ठोरी हुलाकी खण्डअन्तर्गत पर्ने पुलको निर्माण करिब ३ महिनाअघि पूरा भएको हो ।

नवनिर्मित पुलको पूर्वतर्फ एप्रोच सडक नबन्दा ठोरीका बासिन्दा पुल प्रयोग गर्नबाट वञ्चित भएका हुन् । पारि भिखनाठोरीका बासिन्दाले कुलो पुरेर एप्रोच सडक बनाउन नदिने भन्दै विवाद गरेपछि ठेकेदार कम्पनीले काम रोकेको हो ।

भारतीय पक्षले नेपाली भूमिमा बग्ने ठुटे खोलाको मुहान प्रयोग गरी वर्षौंदेखि सिँचाइका लागि २ वटा कुलो प्रयोग गर्दै आएको छ । त्यहाँ रहेको ३ कुलोमध्ये नेपालीले एउटा मात्र प्रयोग गरिरहेको छ । नेपाली पक्षले भने सडक निर्माणका लागि वर्षौंदेखि प्रयोग गर्दै आएको कुलो पुर्न सहमति जनाए पनि भारतीय पक्षले सहमति जनाएको छैन ।

नजिकै २ वटा कुलो कायमै राख्दै पुल जोखिममा पर्ने भन्दै पुरेर एप्रोच रोड बनाउनुपर्ने दबाब स्थानीयको छ । नेपाली पक्षले हयुम पाइप राखेर कुलो प्रयोग गर्न दिँदा पुल जोखिममा पर्ने तर्क अघि सारेको छ । भारतीय पक्षले साबिक स्थानबाटै हयुम पाइप राखेर पानी लैजान पाउनुपर्ने अडान राखेको छ ।

पुल निर्माणको ठेक्का लिएको अमर एन्ड मृत सञ्जीवनीले एप्रोच सडक निर्माण गर्न नेपाल सरकारको निर्णय कुरेको थियो । तर, विवाद समाधान नभएपछि उसले काम रोकेको छ । उसले ६ करोड ९७ लाख २१ हजार रुपैयाँमा निर्माण ठेक्का पाएको हो । ४ स्पान रहेको १ सय २ मिटर लामो पुल ७ दशमलव २ मिटर चौडा छ ।

नेपाल–भारत सीमा सर्वेक्षण टोली २ ले गत वर्ष ठोरी क्षेत्रको सीमा विवाद टुंगो लगाएसँगै पुल निर्माणको काम सम्पन्न भएको हो । यसअघि एसएसबीले पुल निर्माण गर्न खोजिएको भूभाग भारतमा परेको दाबी गर्दै २ वर्षसम्म अवरोध खडा गरेको थियो ।

अहिले भने पुल निर्माण भइसकेर पनि प्रयोग गर्न नपाउँदा स्थानीय आक्रोशमा छन् । पुलबाट पैदल आउजाउ गर्न र मोटरसाइकलसम्म चलाउन सकिन्छ । तर, बस तथा जिप, भ्यान गुडाउन सकिँदैन । स्थानीय शिक्षक प्रेम लामा ठुटे खोलामा पुल नहुँदा वर्षौंदेखि कष्ट भोगेका यहाँका बासिन्दा चाँडै सञ्चालनको पक्षमा छन् । ‘एसएसबीले अवरोध गरी लामो समय पुल निर्माण रोकिएको थियो,’ उनले भने, ‘पुलको निर्माण भएको ३ महिना बित्दा पनि भारतीयले बखेडा गरी प्रयोग रोक लगाउनु निन्दनीय छ ।’

प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्याल जेठ १५ गते त्यस क्षेत्रको निरीक्षण गर्न पुगेका थिए । त्यस क्रममा उनले पुललाई दीर्घकालीन असर नपुग्ने गरी विवाद समाधानको विकल्प खोजिने आवश्वासन स्थानीयलाई दिएर फर्किएका थिए ।

विवादित क्षेत्रको निरीक्षणका क्रममा आफूले ठुटे खोलाको पुलमा एप्रोच सडक बनाउन नीतिगत रूपमा कुनै समस्या नरहेको उनले बताए । ‘त्यहाँ भारतीय पक्षले अवरोधै गर्नुपर्ने समस्या मैले केही पनि देखिनँ,’ उनले भने, ‘भारतीयले पुनर्निर्माण हुनुभन्दा धेरै वर्ष अघिदेखि नेपाली भूमिमा ठुटे खोलाबाट २ वटा कुलो निकालेर सिँचाइ गर्दै आएका छन् । भारतीयले यसरी व्यवहारमा लिएको यो सुविधा हो ।’

एप्रोच सडकले कुलोलाई अवरोध गर्छ भनी अवरोध गर्नु उचित नभएकाले आफूले यो समस्या गृह र परराष्ट्र मन्त्रालयलाई पनि जानकारी गराएको उनले बताए । ‘मैले आफैं पनि पुल र बाटो अवरोध नहुने र परम्परागत कुलोसमेत कायम राख्ने गरी आवश्यक संरचना बनाउन ठेकेदार तथा हुलाकी सडक आयोजना कार्यालयलाई निर्देशन दिइसकेको छु,’ उनले भने, ‘यसमा दुवै सहमत छन् । यो विवाद केवल जिम्मेवारी र दायित्व बहनको कमीले मात्र भएको हो ।’

हुलाकी सडक आयोजना कार्यालय प्रमुख अनुठालाल पटेल तत्काल विवाद समाधान हुने संकेत आफूले नदेखेको बताउँछन् । ‘नेपाली र भारतीय पक्ष आ–आफ्नै अडानमा भएकाले समस्या भएको छ,’ उनले भने । विवाद कायमै रहे ठेकेदारलाई पनि काममा समस्या हुने उनको भनाइ छ ।

२०६६ सालको पुल निर्माणको ठेक्का अहिले सम्पन्न हुनु सुखद भए पनि विवादले प्रयोगमा नआउनु दु:खद भएको उनले बताए । ‘हामीलाई कुलो भएको ठाउँमा कल्भर्ट बनाउन दिने हो भने त्यो पनि बनाउने छौं, ठेकेदारको काम सक्ने म्याद फागुनसम्म पनि बाँकी छ,’ उनले भने, ‘तर काम गर्न नदिएर रोकेर राख्न पनि सकिन्न ।’

प्रकाशित : भाद्र १७, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?