कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब एकल पुरुषलाई पनि भत्ता ! 

प्रतिव्यक्ति मासिक एक हजार
विप्लव भट्टराई

इलाम — श्रीमानको मृत्यु भएपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता सरकारले व्यवस्था गरेको वर्षौं बित्यो । उस्तै अवस्थाका पुरुषले भने केही पाउँदैनन् ।

अब एकल पुरुषलाई पनि भत्ता ! 

तर देउमाई नगरपालिकाका करिब २ सय यस्ता ‘भाग्यमानी पुरुष’ छन्, जसले एकल महिलासरह मासिक भत्ता पाउँछन् । श्रीमतीको मृत्युपछि अर्को विवाह नगर्ने जुनसुकै उमेरको पुरुषले भत्ता पाउनेछ तर विवाह नगरी बसेकाका हकमा ६० वर्ष उमेर पुग्नुपर्नेछ ।


नगरसभाले नै पारित गरेर चालु आर्थिक वर्षदेखि यो निर्णय गरेपछि हरेक एकल पुरुषले महिनाको १ हजार रुपैयाँ पाउँछन् । यो वर्षका लागि नगरपालिकाले भत्ता वितरणका लागि छ लाख रुपैयाँ छुटयाएको हो ।


‘एकल भएपछि पुरुषले पनि पाको हुँदै जाँदा हरेक समस्या झेल्नुपर्छ,’ नगर प्रमुख सूर्य पोख्रेलले भने, ‘नगरका कतिपय एकल पुरुषले गुनासो गरेपछि सामाजिक उत्तरदायित्वकै लागि यो निर्णय गरेका हौं ।’


नयाँ कार्यक्रम भएकाले भत्ता पाउने कति छन् भन्ने संख्या संकलन कार्य भइरहेको छ । यो महिनाको अन्त्यसम्ममा संख्या एकिन हुने नगरपालिकाले जनायो । २ सय यस्ता पुरुष रहेको अनुमान छ । यो रकमले अपुग भए थप गरेर भए पनि नमुनाका रूपमा यो कार्यक्रमलाई प्रभावकारी बनाउने नगरपालिकाको योजना छ ।


एकल पुरुषले नगरले आफ्नो सम्मान गरेको बताएका छन् । आउँदो दसैंमा सामाजिक सुरक्षा भत्ता वितरण हुँदा एकल पुरुषले सँगै रकम प्राप्त गर्नेछन् । अघिल्लो आर्थिक वर्ष नगरपालिकाले कोखदेखि शोकसम्म शीर्षकमा कार्यक्रम ल्याएको थियो ।


कार्यक्रमअन्तर्गत नगरभित्र बच्चा जन्मँदा आमाको स्याहारका लागि ५ हजार र मृत्यु हुँदा काजकिरिया खर्चका लागि ५ हजार दिने निर्णय गरेको थियो । कार्यक्रमअन्तर्गत नगरले ५ हजार रुपैयाँका दरले २ सय ८६ जनालाई १४ लाख ३० हजार रुपैयाँ दिइसकेको छ ।


यो कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि कायम राखिएको छ । ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वार्षिक २ हजारका दरले अघिल्लो वर्षदेखि नै नगरपालिकाले भत्ता दिँदै आएको छ ।

यस्तै नगरपालिकाले देउमाई नगरपालिकामा बसाइँ सरी आउनेलाई घर निर्माणका लागि खानपानीलगायतमा सहयोग गर्ने भएको छ । नगरपालिका छाडेर अन्यत्र जाने क्रमलाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याएको प्रमुख बस्नेतको भनाइ छ ।


नगरपालिकालाई फुसको छानोमुक्त बनाउने अभियान पनि यो वर्षदेखि सञ्चालन सुरु भएको छ । नगर प्रोपाइल निर्माण भइरहेकाले यस्ता घरको संख्या यकिन गरेर यही वर्ष सबै फुसका छाना हटाइने योजना रहेको नरपालिकाले जनायो ।

विपन्नताका कारण फुसका छाना रहँदा त्यस्ता घरमा बस्नेले हावाहुरी र पानी चुहिने समस्या झेल्नुपरेको कार्यालयको भनाइ छ ।

प्रकाशित : भाद्र १७, २०७५ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?