अब एकल पुरुषलाई पनि भत्ता ! 

प्रतिव्यक्ति मासिक एक हजार
विप्लव भट्टराई

इलाम — श्रीमानको मृत्यु भएपछि एकल महिलालाई सामाजिक सुरक्षा भत्ता सरकारले व्यवस्था गरेको वर्षौं बित्यो । उस्तै अवस्थाका पुरुषले भने केही पाउँदैनन् ।



Yamaha


तर देउमाई नगरपालिकाका करिब २ सय यस्ता ‘भाग्यमानी पुरुष’ छन्, जसले एकल महिलासरह मासिक भत्ता पाउँछन्। श्रीमतीको मृत्युपछि अर्को विवाह नगर्ने जुनसुकै उमेरको पुरुषले भत्ता पाउनेछ तर विवाह नगरी बसेकाका हकमा ६० वर्ष उमेर पुग्नुपर्नेछ।

नगरसभाले नै पारित गरेर चालु आर्थिक वर्षदेखि यो निर्णय गरेपछि हरेक एकल पुरुषले महिनाको १ हजार रुपैयाँ पाउँछन्। यो वर्षका लागि नगरपालिकाले भत्ता वितरणका लागि छ लाख रुपैयाँ छुटयाएको हो।

‘एकल भएपछि पुरुषले पनि पाको हुँदै जाँदा हरेक समस्या झेल्नुपर्छ,’ नगर प्रमुख सूर्य पोख्रेलले भने, ‘नगरका कतिपय एकल पुरुषले गुनासो गरेपछि सामाजिक उत्तरदायित्वकै लागि यो निर्णय गरेका हौं।’

नयाँ कार्यक्रम भएकाले भत्ता पाउने कति छन् भन्ने संख्या संकलन कार्य भइरहेको छ। यो महिनाको अन्त्यसम्ममा संख्या एकिन हुने नगरपालिकाले जनायो। २ सय यस्ता पुरुष रहेको अनुमान छ। यो रकमले अपुग भए थप गरेर भए पनि नमुनाका रूपमा यो कार्यक्रमलाई प्रभावकारी बनाउने नगरपालिकाको योजना छ।

एकल पुरुषले नगरले आफ्नो सम्मान गरेको बताएका छन्। आउँदो दसैंमा सामाजिक सुरक्षा भत्ता वितरण हुँदा एकल पुरुषले सँगै रकम प्राप्त गर्नेछन्। अघिल्लो आर्थिक वर्ष नगरपालिकाले कोखदेखि शोकसम्म शीर्षकमा कार्यक्रम ल्याएको थियो।

कार्यक्रमअन्तर्गत नगरभित्र बच्चा जन्मँदा आमाको स्याहारका लागि ५ हजार र मृत्यु हुँदा काजकिरिया खर्चका लागि ५ हजार दिने निर्णय गरेको थियो। कार्यक्रमअन्तर्गत नगरले ५ हजार रुपैयाँका दरले २ सय ८६ जनालाई १४ लाख ३० हजार रुपैयाँ दिइसकेको छ।

यो कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि कायम राखिएको छ। ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई वार्षिक २ हजारका दरले अघिल्लो वर्षदेखि नै नगरपालिकाले भत्ता दिँदै आएको छ।

यस्तै नगरपालिकाले देउमाई नगरपालिकामा बसाइँ सरी आउनेलाई घर निर्माणका लागि खानपानीलगायतमा सहयोग गर्ने भएको छ। नगरपालिका छाडेर अन्यत्र जाने क्रमलाई रोक्नका लागि यस्तो कार्यक्रम ल्याएको प्रमुख बस्नेतको भनाइ छ।

नगरपालिकालाई फुसको छानोमुक्त बनाउने अभियान पनि यो वर्षदेखि सञ्चालन सुरु भएको छ। नगर प्रोपाइल निर्माण भइरहेकाले यस्ता घरको संख्या यकिन गरेर यही वर्ष सबै फुसका छाना हटाइने योजना रहेको नरपालिकाले जनायो।

विपन्नताका कारण फुसका छाना रहँदा त्यस्ता घरमा बस्नेले हावाहुरी र पानी चुहिने समस्या झेल्नुपरेको कार्यालयको भनाइ छ।

Esewa Pasal

प्रकाशित : भाद्र १७, २०७५ २०:३४
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रोपाइँ जात्राको रमझम

जिल्लावासीको साझा पर्व
युवापुस्तामा संस्कृति हस्तान्तरण गर्दै परम्परा चलाउँदै
विप्लव भट्टराई

इलाम — मलेसिया ११ वर्ष बसेर भर्खरै फिरेका इलाम सदरमुकामका बुद्धिमान राई बिहीबार रोपाइँमा साँच्चै व्यस्त देखिए । झिमझिम पानीसँगै बाहुसे गर्न व्यस्त राई अघि गोरुहली र पछि रोपाहर लगाएर धपेडीमा देखिन्थे । लामो समयसम्म विदेशमा विताएका न्यास्रोपन मेटाउन पनि उनलाई यो रोपाइँ रमाइलो लागिरहेको थियो ।

गीत लेखनदेखि फुटबल खेलमा व्यस्त हुने सन्तोष भक्तराज गाउँको मुखियाझैं छाता ढल्काएर रोपाइँ नियालिरहेका थिए । बेठी लगाएर रोपाइँ गर्दा मुखियाले सान देखाएर रोपाइँको अवलोकन गर्ने गर्छन् । हली, बाउसे, रोपहार एक सय बढी आ–आफ्नै धुनमा थिए ।


कुनै खेतमा रोपाइँ नभएर ठ्याक्कै रोपाइँको झल्को दिनेगरी हजारौं दर्शकको समेत उपस्थितिमा इलाम बजारमा निकालिएको परम्परागत रोपाइँ जात्राको दृश्य थियो । बर्खाभरिको थकाइ मेटदै एक आपसमा रामाइलो गर्ने उद्देश्यले परम्परादेखि अस्तित्वमा रहेको रोपाइँ जात्रा निकालिँदा ठूलो भीड जम्मा हुनु स्वाभाविक नै हो ।


स्थानीय विद्यालयहरूले बिदा समेत दिइएको यो जात्रा कुनै जाती विषेश नभएर समग्र जिल्लाबासीको पर्वका रूपमा स्थापित हुँदै गएको छ । युवापुस्तामाझ संस्कृति हस्तान्तरण गर्दै परम्परा थेग्ने उद्देश्यले निरन्तरता पाएको जात्रा इलामेकालाई सांस्कृतिक सम्मिलनको पर्व समेत बनेको छ ।


पछिल्लो समयमा पश्चिमा संस्कृतिको प्रवेशसँगै भेटघाट र मन बहलाउने अन्य माध्यम प्रशस्त हुँदा जात्राको रौनक भने घटदो छ । इलाममा नेवार जातिको बसोबास सुरु भएदेखि नै थालिएको यो जात्रालाई पछिल्लो समयमा जिल्लाका सवै समुदायले पर्वका रूपमा मनाउने गरेका छन् ।


‘सबै समुदायले स्वतस्फूर्त उपस्थिति देखाउँदै पर्वका रूपमा यसलाई मनाउने गरिएको छ,’ खोजकर्ता युद्ध वैद्यले भने, ‘जिल्लाकै पहिचानका रूपमा स्थापित भए पनि पुराना कतिपय चलन भने लोप भएका छन् ।’ उनकै भनाइमा पहिला जात्रापछि रातभर लिम्बू जातिको धान नाँच नाच्ने चलन थियो ।


संस्कृतिको जगेर्ना गर्दै पर्यटक आकर्षणका लागि नेपाल भाषा तथा संस्कृति समाजको आयोजनामा निकालिएको जात्रा हेर्न गाउँगाउँबाट वाक्लो उपस्थिति थियो । लोप भइसकेको बेठी लगाएर रोपाइँ गर्ने चलनको झल्को जात्रामा पाइन्छ ।


ठूलाठालूले बाजागाजासहित ठूलो उपस्थितिमा उत्सवमय रोपाइँ गर्ने चलन ‘बेठी’ बाट प्रभावित भएर यो जात्रा सुरु भएको पाकाहरू बताउँछन् । पुरुषले महिलाको महिलाले पुरुषको अभिनय गर्ने चलन जात्राको विषेशता हो ।


विभिन्न जातजातिका पहिचान झल्कने झाँकी, नाँचगानका साथ रोपाइँजात्रामा मनोरञ्जन दिलाइएको थियो । संस्कृतिको धरोहर मानिने यो जात्राको रौनक पनि पछिल्लो समय घट्दै गएकाले युवाहरू संरक्षणमा लाग्नुपर्ने स्थानीयको भनाइ छ ।


‘पहिलोपटक रोपाहारको भूमिकामा अभिनय गर्दा ठ्याक्कै खेतमा रोपाइँ गरेको अनुभूति भयो,’ मोडलिङमासमेत व्यस्त लक्ष्मी राईले भनिन् । विद्यालय नै बिदा गरेर विद्यार्थीलाई पनि पुरानो चलन जात्रामार्फत सिकाउने गरिएको छ । जात्रामा सहभागी हुन विद्यार्थीबीच पनि तछाडमछाड हुने गरेको छ ।


जिल्लाको पश्चिमी मंगलबारेमा बुधबार रोपाइँजात्रा निकालियो । नाम्सालालिङ, दानाबारी र फिक्कलमा पनि रोपाइँजात्रा निकालिन्छ । जिल्लामा लाखेजात्रा, गाईजात्रा र रोपाइँ जात्रालाई वर्षेनी उत्सवमय बनाइने गरिएको छ ।

प्रकाशित : भाद्र १५, २०७५ ११:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT