कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँदरको उपद्रोले खेतबारी बाँझो

‘मकै पोलेर खानै रहर भयो’

गोरखा — प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जग्गा बाँझो राख्न नदिने नियम ल्याउने बताइरहेका बेला यहाँका केही बाली लाग्दै आएका जमिन बाँझिन थालेका छन् ।

बाँदरको उपद्रोले खेतबारी बाँझो

लगाएको बाली बाँदरले नोक्सान गर्न थालेपछि दिक्क भएर गाउँलेले खेती गर्न छाडेका हुन् ।

सिमलगैरी, नौबिसे र बेलडाँडा क्षेत्रका किसान बाँदरको उपद्रोले हैरान छन् । हुलका हुल आएर बाली नष्ट गरिदिँदा खेतीपाती गर्ने उत्साह घट्दै गएको किसानको भनाइ छ । अन्नबाली नाश गरेपछि नौबिसेकी सम्झना थापाले यो वर्ष हलेदो (बेसार) मात्र लगाइन् ।

स्थानीय ईश्वरबहादुर बस्नेतको ८ रोपनीमध्ये आधा जमिन बाँझो छ । घर आसपास करेसाबारीमा बाँदर धपाउन ‘ड्युटी’ बसेर उनले दु:खसाथ ४ रोपनीमा खेती गरेका छन् । ‘एक हल गोरुलाई दिनको २ हजार तिरेर खेती लगायो, उम्रन थालेदेखि बाँदर मडारिन थाल्छ,’ उनले भने, ‘धपाउँदा पनि टेर्दैन । आजित भएर बाली लगाउनै छाडिदियौं ।’ घरमा थन्काएको मकैसमेत भित्रैबाट बाँदरले लैजाने गरेको उनले सुनाए । केराको घरी पाक्नै नपाई लगिदिन्छ । कर्कलो र हलेदोबाहेक अरू बाली जोगाउन किसानलाई हम्मे पर्छ ।

‘अस्ति भातको कसौंडी घर भित्रैबाट लग्यो,’ सम्झना थापाले सुनाइन्, ‘कोदो पनि माडेर खाइदिन्छ । कर्कलो नखाए पनि माडिदिन्छ, मकैको बिरुवा एक हात भएदेखि नै टुप्पो निमोठिदिन्छ ।’ अन्नबाली नोक्सान मात्र होइन, बालबालिकासमेत बाँदरबाट असुरक्षित भएको उनी बताउँछन् ।

विद्यालय आउँदाजाँदा बच्चालाई झम्टने डर हुने गरेको स्थानीय बताउँछन् । साताअघि १० वर्षे प्रमेश थापालाई बाँदरले चिथोरेर घाइते बनायो । ‘बाख्राको पाठो समातेर जंगलतिर लगी छाडिदिन्छ । महिला केटाकेटीलाई त टेर्दै टेर्दैन,’ थापाले भनिन् । उक्त गाउँमा हाल करिब ४० रोपनी खेतीयोग्य जमिन बाँदरका कारण बाँझिएको छ ।

बाँदर नियन्त्रणका लागि जिल्ला वन र नगरपालिकाले चासो राखिदिनुपर्ने स्थानीयको माग छ । फुजेल र बुंकोटमा पनि बाँदरले दु:ख दिन थालेपछि किसानमा निराशा छ ।

प्रकाशित : भाद्र १८, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?