कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चन्द र तराईका भूमिगत समूहसँग वार्ता गर्ने तयारी 

काठमाडौँ — द्वन्द्वरत समूहहरूसँग वार्ता गर्न गठित सरकारी वार्ता टोलीले सचिवालय स्थापना गरेर काम थालेको छ । पूर्वमन्त्री एवं सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित टोलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत तराईमा संघर्षरत भूमिगत समूहसँग अनौपचारिक रूपमा वार्ता तयारी गरेको छ । 

चन्द र तराईका भूमिगत समूहसँग वार्ता गर्ने तयारी 

सरकारले टोली बनाएपछि तराईका केही भूमिगत समूहले वार्ताको इच्छा देखाउँदै पत्र पठाएको पाण्डेले जानकारी दिए । तर त्यस्ता समूह कुन–कुन हुन् भन्ने उनले खुलाएका छैनन् । वार्ताका लागि उनीहरूले सुरक्षाको प्रत्याभूति मागेकाले त्यसको व्यवस्थापन भइरहेको पाण्डेले बताए । वार्ताको विधि र प्रक्रिया तयार भएपछि द्वन्द्वरत समूहसँग वार्ताको औपचारिक प्रक्रिया अघि बढ्नेछ । ‘केही दिनभित्रै हामी वार्ताका लागि सबैलाई औपचारिक पत्राचार गर्छौं,’ पाण्डेले भने ।

सरकारले विशेष गरी चन्द नेतृत्वको पार्टीले हिंसात्मक गतिविधि र सैन्य अभ्याससमेत थालेको सूचना पाएपछि वार्ताबाट समस्या समाधान गर्न खोजेको हो । चन्दको पार्टीसँग वार्ताका लागि गृहकार्य गरेर मात्रै प्रक्रिया अघि बढाउने पाण्डेले जानकारी दिए । सरकारले चन्दको पार्टीका खडगबहादुर विश्वकर्मासहित केन्द्रीय नेताहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेपछि पार्टी समस्यमा परेको छ ।


सिंहदरबारस्थित कानुन मन्त्रालयमा सरकारी वार्ता टोलीको सचिवालय स्थापना भएको छ । पाँच जनाको टोलीलाई सघाउन गृह मन्त्रालयले १० जना कर्मचारी खटाएको छ । सरकारी वार्ता टोलीलाई द्वन्द्वरत सबै समूहलाई मूलधारमा ल्याउने गरी सहमति खोज्ने कार्यादेश सरकारले दिएको छ ।


टोलीले आइतबार गृहमन्त्री रामबहादुर थापासँग भेटेर वार्ता अघि बढाउने विषयमा छलफल गर्‍यो । गृहमन्त्री थापाले वार्ता टोलीलाई सहमति कायम गर्ने पूर्ण अधिकार सरकारले दिएको र थप कुनै सहयोग आवश्यक परे सघाउने प्रतिबद्धता जनाएका छन् ।


प्रकाशित : भाद्र १८, २०७५ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?