कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यादव मृत्यु प्रकरण: परिवारद्वारा छानबिन माग

प्रहरीले समयमै औषधि नदिँदा बिरामीको मृत्यु हुन पुगेको आफन्तको गुनासो

कपासी (बाँके) — स्थानीय जानकी गाउँपालिका ६, कपासीका राममनोहर यादव गत भदौ ७ गते बर्दियामा पार्टी बैठक भन्दै घरबाट निस्केका थिए । त्यही साँझ प्रहरीले उनलाई पक्राउ गरेको खबर परिवारले पाए ।

यादव मृत्यु प्रकरण: परिवारद्वारा छानबिन माग

अर्को बिहान आफन्तहरू खाना लिएर जिल्ला प्रहरी, बर्दियामा भेट्न गएका थिए । त्यसको तीन दिनपछि फेरि पनि परिवारका सदस्य प्रहरी हिरासतमै भेट्न पुगेका थिए ।

‘ठीकठाक घरबाट हिँडेको मान्छे एक्कासि मरेको खबर आयो । बिरामी भएको भए किन प्रहरीले खबर गरेन,’ मृतक यादवकी आमा धीरजाले भनिन्, ‘छोराको मृत्यु के कारणले भयो, छानबिन गरिनुपर्छ ।’ घटनापछि घरमा आफन्तको भीड लागेको छ ।

हिरासतमा रहेकै अवस्थामा आकस्मिक मृत्युको खबरले परिवारमा आक्रोश छ । उनीहरूले सत्यतथ्य अनुसन्धानका लागि माग गरेका छन् । राममनोहर पहिलेदेखि सीके राउत समूहमा आबद्ध रहेको परिवारले जनाए । यसअघि उनी बाँकेबाट पनि पक्राउ परेका थिए । उच्च अदालतको आदेशमा रिहा भएका हुन् ।

भदौ ७ गते बर्दिया आएका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा उनी पक्राउ परेका थिए । प्रहरीले उनीमाथि राजद्रोहविरुद्ध मुद्दा चलाएको थियो । परिवारले प्रहरीको यातनाले मृत्यु भएको आरोप लगाउँदै घटनाबारे छानबिन गर्न माग गरेका छन् । ‘मेरो छोरा कहिल्यै बिरामी परेको छैन । तर, प्रहरीले पक्राउ गरेपछि बिरामी भन्यो,’ आमाले कान्तिपुरसँग भनिन्, ‘बिरामी भएको भए हामीलाई किन जानकारी दिइएन ?’

मृत्युपछि परिवार शोकमा डुबेको छ । पत्नी सुनीता विक्षिप्त छिन् । पतिको मृत्युको खबर सुनेसँगै उनी बोल्न सक्ने अवस्थामा छैनन् । उनका सात र तीन वर्षीय छोरा आदित्य र निश्चल एवं पाँच वर्षीया छोरी कल्पना छन् । मृत्यु खबरपछि सोमबार दिनभर आफन्त उनको घरमा जम्मा भए । उनीहरूले घटनाको छानबिनका लागि दबाब दिन आन्दोलन गर्ने चेतावनी दिए । ‘यो घटनामा प्रहरीको लापरबाही देखिन्छ । छानबिन नभएसम्म शव बुझ्दैनौं,’ आमा धीरजाले भनिन्, ‘हामीलाई मृत्युको कारण चाहियो ।’

राममनोहर गाउँका अगुवा थिए । उनको मृत्युको खबरले स्थानीय आक्रोशित छन् । बर्दिया प्रहरीले भने बिरामी राममनोहरको तत्काल उपचार व्यवस्था मिलाएको जनाएको छ । सुरुमा जिल्ला अस्पतालमा उपचारपछि नेपालगन्ज ल्याइएको थियो । त्यहाँ पनि सम्भव नभएपछि काठमाडौं लगिएको थियो ।

तराई मानवअधिकार रक्षक सञ्जाल (थर्ड एलायन्स) ले प्रहरीको लापरबाही र ढिलासुस्तीले समयमा उपचार नहुँदा उनको मृत्यु भएको आरोप लगाएको छ । उच्च रक्तचापबाट पीडित उनलाई प्रहरीले ढिलो गरी अस्पताल लगेकाले मृत्यु भएको जनाएको छ । उच्च रक्तचापको औषधि पाउने आसमा रहेको यादवका परिवारलाई प्रहरीले दुई दिनसम्म भेट गर्न नदिएको आरोप छ ।

जिल्ला प्रशासन बर्दियाले पत्रकार सम्मेलन गरेर केही सञ्चारमाध्यमले हिरासतमै यादवको मृत्यु भएको भनिएकाले त्यसमा सत्यता नरहेको बताइएको छ । प्रजिअ रामबहादुर कुरुम्बाङले राउतका समर्थकले नेपालको स्वतन्त्रता, प्रादेशिक अखण्डता, राष्ट्रियतामाथि अपमान गरी नारा लगाउँदै मन्त्रीको कार्यक्रम बिथोल्न खोजेकाले पक्राउ गरी मुद्दा चलाएको बताए ।

अर्का पनि बिरामी
उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका सीके राउत समूहका बाँके इन्चार्ज इरफान अहम्मद शेष आइतबार रातिदेखि बिरामी छन् । उनलाई लगातार पखाला चलेपछि जिल्ला अस्पतालमा भर्ना गराएको छ । पखाला रोकिएपछि चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको थियो । सोमबार दिउँसो पखाला चलेपछि पुन: अस्पताल भर्ना गरिएको छ ।

प्रकाशित : भाद्र १९, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?