कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाबा बर्दगोरिया क्षेत्र नयाँ रूपमा

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीको सुनवल नगरपालिका जर्गाहास्थित ऐतिहासिक बाबा बर्दगोरिया क्षेत्र संरक्षणमा स्थानीय जुटेका छन् । पुराना संरचना जीर्ण भएपछि यसको विकास र संरक्षणमा स्थानीय जुटेका हुन् ।

बाबा बर्दगोरिया क्षेत्र नयाँ रूपमा

पूर्व–पश्चिम राजमार्गदेखि चार किलोमिटर उत्तरमा अवस्थित यस धार्मिक क्षेत्रको विकासमा नगरपालिका र स्थानीयको संयुक्त प्रयासमा जीर्ण रहेका संरचना र मूर्तिको संरक्षण सुरु गरिएको छ । बगैंचा र मनोरम वातावरण रहेको यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावना भए पनि अतिक्रमणको चपेटामा परेको छ ।

मन्दिर परिसरमा अहिले धमाधम पुरातात्त्विक महत्त्वका वस्तु फेला परेका छन् । भौतिक संरचनाका लागि जमिन खन्दा मूर्ति, पुराना इँटा र विभिन्न पुरातात्त्विक सामान भेटिएको स्थानीय उपेन्द्र प्रधानले बताए । मन्दिर नजिकैबाट बग्ने पानभार खोलाले कटान गरेको क्षेत्रमा विभिन्न प्रकारका पुरातात्त्विक वस्तु फेला परेका छन् ।

पुरातात्त्विक वस्तु फेला परे पनि त्यसको संरक्षण र व्यवस्थित उत्खनन हुन नसक्दा ती वस्तु नष्ट भइरहेको स्थानीय बताउँछन् । बुद्धकालमा यस क्षेत्रमा राजा राजारामको राज्य क्षेत्र रहेकाले यहाँ फेला परेका वस्तु त्यही समयका हुन सक्ने अनुमान गरिएको छ । स्थानीयले मन्दिर क्षेत्रलाई धार्मिक पार्क र मन्दिरको जीर्णोद्धार गर्न माग गरेपछि नगरपालिकाको पहलमा भौतिक संरचना निर्माण भइरहेको छ ।

मन्दिर क्षेत्रमा माटाका भाँडा, विभिन्न प्रकारका मूर्ति, इनार, ताम्रपत्रलगायत फेला परेका छन् । तत्काललाई व्यवस्थित गरेर पुरातात्त्विक स्थानहरूको सूचीमा सूचीकृत गर्न र थप उत्खनन गर्न नगरपालिकाले पुरातत्त्व विभागसँग आग्रह गरेपछि स्थानीय खुसी भएका छन् । ०५४ सालमा मन्दिरको ढिकमा फेला परेको एक ताम्रपत्रमा विभिन्न प्रकारका प्राचीन लिपि पाइएको थियो । मन्दिरलाई खोलाको कटानले बर्सेनि बगरमा परिणत गर्न थालेपछि तटबन्धको व्यवस्था गरिएको छ ।

मन्दिर परिसरको पीपलको ठूलो रूखको फेदमा रहेको मूर्तिमा भक्तजनले पूजा गर्ने गर्छन् । साउन महिना, दसैं र माघी पर्वका अवसरमा यहाँ मेला लाग्ने गर्छ । मन्दिरमा भाकलका लागि नेपालका विभिन्न ठाउँ र भारतबाट भक्तजन आउने गर्छन् । सुनवल नगरपालिकाका मेयर भीमबहादुर थापाले ऐतिहासिक मन्दिर भएकाले यसको तत्काल उत्खनन गरेर सोही अनुरूपको मन्दिर निर्माण गरिने बताए ।

सुनवल क्षेत्रमा बिदाको दिन घुम्ने र ज्येष्ठ नागरिकका लागि विश्राम क्षेत्रको सख्त अभाव छ । ‘यस मन्दिरलाई व्यवस्थित गरेर धार्मिक पार्कका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ,’ मेयर थापाले भने, ‘पुरातत्त्व विभागलाई पनि मन्दिरलाई प्राथमिकतामा राखेर काम गर्न पत्राचार गरिसकेका छौं ।’ धामको प्रचारका लागि बाबा बर्दगोरिया धाम परिसरमा धार्मिक महोत्सव आयोजना गरिएको छ । धामको प्रचारप्रसारका लागि भदौ २१ देखि २७ गतेसम्म धार्मिक महोत्सव गर्न लागिएको मेला आयोजक समितिका प्रवक्ता उपेन्द्र प्रधानले बताए ।

बाबा वर्दगोरिया धाम विकास संस्थाको आयोजना र सुनवल नगरपालिकाको सहआयोजनामा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा बुद्ध सर्किटलाई जोडदै लुम्बिनी, देवदह, रामग्राम, त्रिवेणीधाम हुँदै बाबा बर्दगोरियालाई पनि बुद्ध सर्किटमै जोडी धार्मिक तथा पर्यटकीय क्षेत्र विस्तार गर्ने, वैदिक सनातन धर्म, संस्कृति, परम्परा र सभ्यताको संरक्षण गर्न महोत्सव आयोजना गरिएको बाबा बर्दगोरिया धाम विकास संस्थाका अध्यक्ष नारायणप्रसाद तिवारीले बताए ।

१ सय ५० भन्दा बढी स्टल रहने मेलामा श्रीमद्भागवत् सप्ताह महायज्ञ एवं तीज महात्म्य, महिला र पुरुष दुवैको कुस्ती प्रदर्शन, तीज गीत प्रतियोगिता, राष्ट्रिय कलाकारबाट सांस्कृतिक कार्यक्रम, भजन कीर्तन र साहित्यिक कार्यक्रम आयोजना गरिने भएको छ ।

प्रकाशित : भाद्र २०, २०७५ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?