कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेशबाटै निरक्षर हटाइने

बुटवल — साक्षर घोषणा नभएका जिल्लालाई साक्षर बनाउने र साक्षर घोषणा भएकामा निरन्तर साक्षरता कक्षामार्फत छुटेकालाई सिकाउने गरी प्रदेश सरकारले साक्षर प्रदेश बनाउने अभियान थालेको छ ।

प्रदेशबाटै निरक्षर हटाइने

व्यक्ति निरक्षर हुनु स्वयं व्यक्तिको मात्रै नभई ३ वटै सरकारको लाजको विषय भएकाले यसलाई हटाउन प्रदेश सरकारले अभियान थालेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । यसमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले संयुक्त रूपमा काम गर्नेे छन् ।

प्रदेशमा रहेका १२ मध्ये कपिलवस्तु र बाँके जिल्ला साक्षरता घोषणा हुन बाँकी छन् । यी जिल्लामा स्थानीय तहको समन्वयमा प्रदेशसँगै संघीय सरकारले साक्षरता कक्षा चलाउने भएको छ । साक्षरता कक्षा लिएका तर नसिकेका व्यक्तिको नाम संकलन गरी उनीहरूका लागि पुन: कक्षा चलाइनेछ । यसमा विद्यालयका शिक्षक, सामाजिक कार्यकर्तादेखि जनप्रतिनिधि खट्नेछन् । साक्षरता कक्षा चलाएर र स्रोत व्यक्ति राखेर मात्रै सबै व्यक्ति पढ्न नआउने भएकाले सबैलाई समेट्न जनप्रतिनिधि नै साक्षरता कक्षामा खट्ने योजना ल्याएको मन्त्री बरालले बताए ।

प्रदेश संसद्को सामाजिक विकास समितिका संयोजक दीर्घनारायण पाण्डेले सबै नागरिकलाई साक्षर बनाउन स्थानीय सरकारका प्रमुखहरूलाई बढी जिम्मेवार बनाउने बताए । नागरिक साक्षर हुनुको सबैभन्दा बढी फाइदा स्थानीय तहलाई हुने भएकाले उनीहरू जिम्मेबार हुनुपर्ने उनले बताए ।

९५ प्रतिशत नागरिक लेखपढ गर्न जान्ने भएपछि साक्षर पालिका वा जिल्ला घोषणा गर्न सकिन्छ । पछिल्लो तथ्यांक अनुसार कपिलवस्तुमा १६ हजार ५ सय ९४ जना निरक्षर छन् ।

प्रकाशित : भाद्र २०, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?