कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सीप परीक्षण शुल्क ४० हजार

रुकुम पश्चिम — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले लेभल २ को कुनै पनि विषयको सीप परीक्षण गर्दा १ हजार ५ सयभन्दा बढी शुल्क लिँदैन ।

सीप परीक्षण शुल्क ४० हजार

तर यहाँको एक शैक्षिक संस्थाले भने सीटीईभीटीमै लेभल २ को सीप परीक्षणका लागि भन्दै ४० हजार रुपैयाँ उठाएको पाइएको छ । मुसीकोट नगरपालिका १, मा सञ्चालित सानीभेरी एजुकेसन प्रालिले लेभल २ को सीपका लागि मात्रै प्रतिविद्यार्थी ४० हजार लिन्छ ।

वन समूहअन्तर्गत सामुदायिक वन सहजकर्ताको लेभल २ को सीप परीक्षण गराउने र त्यसपश्चात् पास गराउन भन्दै आफूहरूले ४० हजार तिरेको विद्यार्थीले बताए । सीप परीक्षणका लागि सैद्धान्तिक कक्षा, अभ्यास र सीप परीक्षणपछि पक्का पास गराउने भनिएपछि ४० हजार तिरेको एक विद्यार्थीले सुनाए । ‘४० हजार रुपैयाँ तिरेबापत १० दिन जतिमात्रै थ्यौरी र प्राक्टिकल गराइयो,’ एक प्रशिक्षार्थीले भने, ‘अन्तिममा सीप परीक्षणमा हामी कोही पास भएनौं ।’

सानीभेरी एजुकेसन प्रालिले जिल्लामै १० दिन पढाएर दाङको लालमटियामा लिएर सीप परीक्षण गराएको थियो । गत वैशाख ३ गते सीप परीक्षणको लिखित परीक्षा गरेका उनीहरूले वैशाख पहिलो सातादेखि प्राक्टिकल गरेका थिए । यसमा सहभागी ३२ जनै पास भएनन् । सामुदायिक वन सहजकर्ताको लेभल २ को सीप परीक्षणका लागि ४१ जना भर्ना भएकामा ३२ मात्र परीक्षामा सहभागी भएका थिए ।

तीमध्ये केहीले २०, ३० र ४० हजार रुपैयाँमा तिरेको अर्का विद्यार्थीले बताए । ‘एक/दुई जनाले २० हजार तिरे होलान्, ४० हजार तिर्नेमा हामी धेरै छौं,’ अर्का एक विद्यार्थीले भने, ‘हामी ३२ जनाबाट १० लाखभन्दा बढी नै सानीभेरीले उठाएको छ ।’ प्रालिले सबै विद्यार्थीलाई शुल्क लिएको रसिद पनि नदिएको गुनासो गरेका छन् ।

सानीभेरी एजुकेसन प्रालिका सञ्चालक लालबहादुर ओलीले भने विद्यार्थीले भने जस्तो प्रालिले पास गराउने पक्का नगरेको बताए । ‘विद्यार्थीले भनेजस्तो धेरै पैसा उठाइएको पनि छैन, पढाउने र सीप परीक्षण गराउने जिम्मा हाम्रो थियो,’ उनले भने, ‘पास गराउने ग्यारेन्टी थिएन, त्यसैअनुसार दाङ लिएर सीप परीक्षा गराएका हौं ।’ सीप परीक्षणमा सहभागी केही परीक्षार्थी पास नभएको पनि उनले स्विकारे ।

‘कोही पास हुनु भएन, हामी फेरि सीप परीक्षणको तयारीमा लागेका छौं, सबै विद्यार्थीलाई सीप परीक्षणका लागि अनुरोध गरिसक्यौं,’ ओलीले भने । सीप परीक्षणका लागि फेरि विद्यार्थीलाई उही शुल्कमा सैद्धान्तिक र अभ्यास गराउने उनले बताए ।

फेरि हुने सीप परीक्षणमा सहभागी हुन आग्रह गरिएको र नहुनेलाई केही गर्न नसकिने भनाइ उनको छ । सामुदायिक वन सहजकर्ताको पढाइ र सीप परीक्षणका लागि वातावरण बनाइदिन विद्यार्थी आफैं आएको पनि उनले दाबी गरेका छन् ।

प्रकाशित : भाद्र २०, २०७५ ०७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?