अब स्वास्थ्यमा पनि छाता सम्झौता

सुरेशराज न्यौपाने

नयाँदिल्ली — नेपाल र भारतबीच व्यापार, वाणिज्य, कृषि, ऊर्जाजस्तै स्वास्थ्य क्षेत्रमा पनि छुट्टै ‘छाता सम्झौता’ हुने भएको छ ।

सम्झौताअन्तर्गतै रहेर स्वास्थ्य क्षेत्रमा आवश्यक सहयोग र साझेदारी अघि बढाइने भएको छ।

Yamaha

विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वक्षेत्रीय मुलुकका स्वास्थ्यमन्त्रीहरूको बैठकमा भाग लिन नयाँदिल्लीमा रहेका उप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र भारतीय समकक्षी जगतप्रकाश नड्डाबीच भएको ‘साइड–लाइन’ भेटमा त्यस्तो सम्झौताका लागि सहमति बनेको हो।

त्यही सम्झौतामा आधारित रहेर स्वास्थ्य क्षेत्रका लागि बेग्लै द्विपक्षीय संयन्त्र गठन गर्ने सम्बन्धमा पनि समझदारी बनेको छ। सचिवस्तरीय उक्त संयन्त्रअन्तर्गत सहसचिवस्तरीय एउटा बेग्लै संयुक्त कार्य समूह (ज्वायन्ट वर्किङ ग्रुप) समेत रहनेछ।

सोही संयन्त्रले स्वास्थ्य क्षेत्रका लागि सहयोग र साझेदारीका क्षेत्रहरू पहिचान गर्ने, छलफल र अन्तिम टुंगो लगाउनेछ। भारतले विशेष गरी स्वास्थ्यअन्तर्गत महामारी नियन्त्रण, तालिम, छात्रवृत्ति, भौतिक संरचना निर्माणमा सहयोग गर्दै आएको छ।

‘स्वास्थ्य क्षेत्रमा हुन सक्ने जति पनि सहयोग र साझेदारी छन्, यही सम्झौतामा आधारित भएर संयन्त्रमार्फत अघि बढाइनेछ,’ मन्त्री यादवले भने। कुनै असमझदारी र समस्या देखिँदा पनि संयन्त्रले नै टुंगो लगाउने उनले जानकारी दिए।

सम्झौताको मस्यौदा तयार पार्न कार्यदल गठन गर्ने सहमति समेत भएको मन्त्री यादवले कान्तिपुरलाई बताए।

दुई मन्त्रीबीच लामो समयदेखि थाती रहेको भारतमा एमडी र एमएस अध्ययनरत नेपाली विद्यार्थीलाई तलब (स्टाइपेन्ड) दिने विषयमा पनि छलफल भएको थियो।

नेपाली विद्यार्थीलाई स्टाइपेन्ड दिन भारत सकारात्मक देखिएको यादवले जनाए। एमडी र एमएस अध्ययनरत विद्यार्थीलाई स्टाइपेन्ड दिने अन्तर्राष्ट्रिय अभ्यास रहे पनि भारतमा अध्ययनरत नेपाली विद्यार्थी वञ्चित छन्।

नेपालमा अध्ययन गर्ने भारतीय विद्यार्थीलाई भने त्यस किसिमको सुविधा उपलब्ध छ। नेपाली विद्यार्थीले भारतीय सरह स्टाइपेन्डलगायत सुविधा पाउनुपर्ने माग माग गर्दै आएका छन्।

दिल्ली उच्च अदालतमा मुद्दासमेत दायर गरेका थिए। अदालतले नेपाली विद्यार्थीका पक्षमा फैसला गरे पनि भारतका शिक्षण संस्थाले अटेरी गर्दै आएका छन्। चैत अन्तिम साता भारत भ्रमणमा आएका बेला प्रधानमन्त्री केपी ओलीले समेत यो विषय उठाएका थिए।

Esewa Pasal

प्रकाशित : भाद्र २१, २०७५ १४:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दिल्लीमा पुतली राजमार्ग

सुरेशराज न्यौपाने

नयाँदिल्ली — बगैंचा वा पार्कमा हिँडदा छेवैबाट हूलका हूल रंगीन र आकर्षक पुतलीको ओहोरदोहोर । पैदल यात्रुका लागि फुटपाथ भएजस्तै पुतलीलाई निर्बाध ओहोरदोहोर गर्न बेग्लै ‘बटरफ्लाई करिडोर’ अर्थात् पुतली मार्ग ।

सुन्दै मन रमाउने । तर नझुक्किनुस्, प्रकृति र जीवजन्तु संरक्षणको यस्तो लोभलाग्दो परियोजना काठमाडौंमा होइन, भारतको राजधानी नयाँदिल्लीमा सुरु हुन लागेको हो ।

हुन त दिल्लीको तुलनामा काठमाडौं र आसपासका क्षेत्रमा पाँचगुणा बढी अर्थात् ३५० भन्दा बढी पुतलीका प्रजाति पाइन्छन् । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले गरेको अध्ययनले नेपालमा ६ सय ३५ प्रजातिका पुतली रहेको देखिएको छ । जबकी बम्बे नेचुरल हिस्ट्री सोसाइटी (बीएनएचएस) ले एक वर्षअघि गरेको अध्ययनअनुुसार दिल्लीमा भने ७० प्रजातिका मात्रै पुतली छन् ।

बीएनएचएसले करिब डेढ सय वर्षदेखि पर्यावरण र वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएको छ । तर बिहानसाँझ हिँडडुल गर्न खुला चौरको समेत अभाव खेपिरहेका काठमाडौंबासीका लागि ‘पुतली मार्ग’ अहिलेका लागि कोरा सपना नै हो ।

वन्यजन्तु तथा प्रकृति संरक्षणमा काम गर्ने संस्था तथा विज्ञहरूले पुतलीलाई घुमफिर गर्न सहज बनाई सहरलाई पर्यावरणीय हिसाबले आकर्षक बनाउन यस्ता अवधारणा अघि सारेका हुन् । बीएनएचएसले जवाहरलाल नेहरू तथा दिल्ली विश्वविद्यालयका विज्ञसँग मिलेर पुतली मार्गको अवधारणा कार्यान्वयनको गृहकार्य सुरु गरेको हो ।

बीएनएचएसले दिल्लीका यमुना विविध जैविक पार्कलगायतका एक दर्जन पार्कलाई यसअघि नै पुतलीमैत्री बगैंचाका रूपमा विकास गरिसकेको छ । पुतली मार्ग निर्माणका लागि दिल्लीका पार्क, बगैंचा, वनलगायतका हरित स्थललाई एकअर्कासँग जोडिनेछ । पुतलीलाई रस चुस्न मिल्ने र अण्डा पार्न तथा झुसिलकीरा हुर्काउन अनुकूल हुने विरुवा अर्थात् ‘होस्टप्लान्ट’ चाहिन्छ । हेर्दा सानो देखिए पनि पर्यावरणीय सन्तुलनमा पुतलीको अहंभूमिका हुन्छ । त्यसबाहेक पुतलीले बोटविरुवाको परागसेचनमा पनि सक्रिय भूमिका खेल्छन् ।

विज्ञहरूको टोलीले सम्भावित पुतली मार्गको नक्सांकन पनि गरिसकेको छ । यसका साथै रोप्नुपर्ने बोटविरुवाको सूची पनि तयार पारिएको छ । होस्टप्लान्ट रोप्ने काम सुरु भइसकेको निर्देशक मादेनले जानकारी दिए । यसअघि स्थानीयसँगको सहकार्यमा पुतलीको प्रजाति र तिनको संख्या पहिचान गरिएको निर्देशक मादेनले जनाए । ‘नागरिकसँगको सहकार्यबिना यस किसिमको योजना सफल हुन सक्दैन,’ उनले भने ।

त्यसैगरी, पुतलीले फ्लाईओभर तथा सडक कसरी पार गर्छन् भन्ने अध्ययन पनि सुरु भइसकेको उनले जनाए । बीएनएचएसले हाल दिल्लीको उत्तरी छेउबाट दक्षिणी छेउसम्म पुतलीमार्ग निर्माण गर्न लागिएको र त्यसलाई ५ वर्षभित्र दिल्लीभर विस्तार गर्ने योजना बनाएको छ ।

करिडोरले पुतलीलाई दिल्लीका पार्क र बगैंचामा हिँडडुल गर्न सुरक्षित मार्ग उपलब्ध गराउनुका साथै संरक्षणमा समेत योगदान गर्ने निर्देशकको मादेनको दाबी छ । तर, केही विज्ञले भने दिल्लीको बाक्लो बस्तीले सिर्जना गरेको प्रदूषणका कारण पुतली मार्गको अवधारणा पूर्णरूपमा कार्यान्वयनमा ल्याउन सहज नहुने बताएका छन् ।

तर सहरीकरण भए पनि सडक, स्कुल तथा कलेजमा होस्टप्लान्ट लगाउन सकिने भएकाले आयोजना प्रभावकारी हुने मादेनको तर्क छ । ‘कार्यान्वयन सुरु भएपछि मात्र केकस्ता चुनौती आउँछन्भन्नेबारे थाहा हुन्छ र सम्बोधनको आवश्यक कदम चालिनेछ,’ मादेनले भने ।

प्रकाशित : भाद्र १७, २०७५ ०९:३८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT