कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राजधानीका महत्वपूर्ण पार्क नै लथालिंग

‘एक नगर एक पार्क’ अभियानको सुरुवात गर्दैछौं : सहरी विकासमन्त्री 
दीपेन्द्र विष्ट

काठमाडौँ — बालाजुका ६५ वर्षीय सिद्धि मानान्धरलाई कुनै वेला बालाजु पार्क मनोरन्जन गर्ने थलो थियो । विगत २० वर्षदेखि बालाजु पार्कमा मर्निङवाक गर्दै आएका उनलाई पार्कको अवस्था हेर्दा निकै दिक्क लागेर आउँछ । उचित संरक्षणका अभावमा पार्कको अवस्था लथालिंग भएको उनले बताए । 

राजधानीका महत्वपूर्ण पार्क नै लथालिंग

‘बालाजु बाइसधारा पार्क निकै चर्चित हरित उद्यान हो,’ उनले भने, ‘अहिले त खास त्यति मानिस आउँंदैनन ।’ भूकम्पले क्षति पुगेको भन्दै उनले उद्यानको आर्कषण नै घटेको बताए । काठमाडौं महानगरपालिकाले बाइसधारालाई संरक्षण गरेर संचालनमा ल्याउनु पर्ने उनले बताए । बाइसधारा पार्कलाई संरक्षण गरेर थप आकर्षक, सुविधायुक्त र मनमोहक बनाउन महानगरले गुरुयोजना तयार पार्ने गृहकार्य सुरु भएको महानगर वातावरण विभागका प्रमुख हरि कुँुवरले बताए ।


‘पुनर्संरक्षण गरेर स्मार्ट पार्क बनाउने तयारीमा छौं,’ उनले भने, ‘अब लथालिंग अवस्थामा कुनै पनि पार्कलाई राख्दैनौं ।’ भूकम्पका कारण क्षतिग्रस्त भएको बालाजु पार्कको स्वीमिङ पुललगायतका संरचनालाई नयाँ स्वरुप दिइने उनले बताए । पिकनिक स्पटलाई पनि व्यवस्थित गरिने उनले बताए । महानगर साना-सान पार्कलाई पनि व्यवस्थित बनाउन लागेको उनले बताए ।


शंख पार्क

महानगरले यसैवर्ष भित्र बाइसधारा पार्कभित्रको पिकनिक स्पटलाई व्यवस्थित गरी सञ्चालन गर्ने तयारी गरेको छ । २०१८ सालमा तत्कालीन राजा महेन्द्रको निर्देशनमा बालाजुमा पार्कको निर्माण भएको थियो । महानगरका अनुसार बालाजुको बाइस धारा धार्मिक हिसावले महत्वपूर्ण मानिन्छ ।


२२ मध्ये २१ धारा राजा जयप्रकाश मल्ल र एउटा धारा राजा रणबहादुर शाहले निर्माण गराएका हुन् । पानीका अभावले २२ धारा सुकेका छन् । धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण भएको भन्दै कुँवरले बुढानीलकण्ठ, राधाकृष्ण, शिव पार्वती, शीतला माई, जलभैरव र वनदेवीको मन्दिर र गुम्बा रहेको बताए । ‘गुरु योजना बनाएका छौ,’ उनले भने, ‘दुई वर्षभित्र निर्माण सम्पन्न हुन्छ ।’


पार्कमा आदिकवि भानुभक्त आचार्यको शालिक, गुम्बा, राजा महेन्द्र र रानी रत्नको प्रतिमा राखिएको छ । बालाजु पार्क १ सय ५९ रोपनी जग्गामा फैलिएको छ । हाल उपत्यकामा शंख पार्क, बालाजु पार्क, रत्नपार्क, यूएन पार्क र त्रिभुवन पार्क गरी ५ वटा ठूला पार्क छन् । ३० भन्दा बढी स-साना पार्क छन् । तर तिनीहरुको संरक्षण हुन सकेको छैन । शंखमूल पुलदेखि टेकू दोभानसम्म फैलिएको संयुक्त राष्ट्रसंघीय (यूएन) पार्क अवस्था पनि लथालिंग छ । १ हजार ५६ रोपनी जग्गामा फैलिएको पार्क अव्यवस्थित छ । सरसफाइ र संरक्षण अभावमा पार्कलाई पार्कका रुपमा विकास गर्न सकिएको छैन । २०५२ चैत २६ मा यूएन पार्क स्थापना भएको थियो । यूएन पार्क


पार्कमा अहिले विभिन्न जातका बिरुवा रोपिएका छन् । उपत्यकाका मध्य भागमा हरियाली छाए पनि राम्रो व्यवस्थापन हुन सकेको छैन । चक्रपथसँगै जोडिएको शंख पार्क २२ रोपनी क्षेत्रफलमा फैलिएको छ । पछिल्लोपटक यसलाई विकसित गरेर पुन: निर्माण गर्नका लागि महानगरले गुरु योजना बनाएको छ । २०४३ मा पञ्चायत रजत जयन्ती अवसरमा यो पार्क निर्माण गरिएको थियो । त्यसपछि २०४६ मा प्रजातन्त्र पुन:स्थापनापछि ‘शंख पार्क’ को नामाकरण गरिएको हो ।


सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले खुला क्षेत्रलाई पार्कका रुपमा विकास गर्ने मन्त्रालयको नीति नै रहेको बताए । ‘उपत्यका वरिपरि पार्क निर्माण भइरहेका छन्,’ उनले भने, ‘अब पुरानाको संरक्षण र नयाँ निर्माण गर्छौ’। सरकारले ‘एक नगर एक पार्क’ नीतिअनुरूप निर्माण कार्य अघि बढाइने उनले बताए ।

काठमाडौं महानगरपालिका वडा नं. ४ का वडाध्यक्ष मोहन बिष्टले शंखपार्कलाई पुननिर्माण गर्न लागिएको जानकारी दिए । ‘व्यवस्थित पार्क बनाउँदै छौं,’ उनले भने, ‘त्यसका३ करोड २७ लाख रुपैया विनियोजन भएको छ ।’

पार्क निर्माणका अभियन्ता तथा वातावरण तथा जलसरोकार मञ्च अध्यक्ष पुष्पराज पाण्डेले करोडौं रुपैया खर्चेर निर्माण गरिएका ऐतिहासिक महत्वका पार्कहरूलाई सरकारले संरक्षण नगरेको गुनासो गरे ।


‘मुलुकभर खाली जग्गा अतिक्रमण हुने क्रम जारी छ, खाली जमिनमा साना(सान पार्क निर्माणमा जोड दिनुपर्छ,’ उनले भने, ‘जसले गर्दा खाली जमिनको संरक्षण हुन्छ ।’ उनले मुलुकभर नै पार्क निर्माण अभियानकै रुपमा अघि बढाउनु पर्ने बताए । ‘केन्द्र, प्रदेश र स्थानीय सरकारले पार्क निर्माण गर्नुपर्छ,’ उनले भने । रत्नपार्कलाई समेत व्यवस्थित बनाउने तयारी भइरहेको उनले बताए ।


प्रकाशित : भाद्र २१, २०७५ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?