चरा ठोकिएपछि निगमको एयरबस ग्राउन्डेड 

सुरज कुँवर

काठमाडौँ — मलेसियाको राजधानी क्वालालामपुरबाट १ सय ५८ यात्रु बोकेर आइपुगेको नेपाल वायु सेवा निगमको एयरबस ३२० (नाइनएन–एकेडब्लु) जहाजमा बिहीबार राति अवतरणका क्रममा चरा ठोकिएपछि ग्राउण्डेड भएको छ ।

नेपाली नाम ‘सगरमाथा’ दिइएको उक्त न्यरोबडी जहाज काठमाडौं उत्रिए लगत्तै दुबई जानुपर्ने तालिका रहेको थियो। तर, उक्त जहाज राति मर्मत गरी उडाउन नसकिने भएपछि १ सय ४३ जना यात्रुहरुलाई शुक्रबार अर्को विमानमा उडाउने तयारी भइरहेको निगमको एक अधिकारीले बताए।

Yamaha

दुबईकालागी राति नै अर्को विमान उडान गर्न नसकेपछि निगमले यात्रुहरुलाई गौशाला आसपासका काबेली, कल्पवृक्ष र राजस्थान नामका तीनवटा होटलमा राखेको थियो।

‘जहाजको बायाँ पखेटाको एयरफ्रेममा चरा ठोकिएको रहेछ,’ स्रोतले भन्यो, ‘पाइलटहरुले थाहै पाएनछन्।’ उक्त विमानका कमाण्डर विजय लामा थिए भने कोपाइलटमा अरविन्द पहाडी र अनुप मानन्धर थिए। ती कर्मचारीका अनुसार, जहाज पार्किङकाबेला इन्जिनियरहरुले निरीक्षण (पोष्ट ल्याण्डिङ्ग चेक) गर्दा पखेटामा प्वाल देखेका थिए। यो विमान साढे ८ बजे काठमाडौंमा अवतरण भएको थियो।

निगमले ०७१ माघमा सगरमाथा र ०७२ बैसाख लुम्बिनी नामका दुईटा न्यरोबडी विमान ल्याएको थियो। हाल निगमसग थप दुईटा वाइडबडी विमान पनि थपिएका छन्। अन्तर्राष्ट्रिय उडानमा एउटा बोइङसहित निगमसँग ५ वटा विमान छन्। यीनले भारत, मलेसिया, थाइल्याण्ड, हङ्गकङ्ग, कतार र दुवईका आठ गन्तव्यमा उडान भर्दै आएका छन्।

यसैबिच निगमका महाप्रबन्धक सुगतरत्न कशांकारले एयरबससँग छलफल गरी बिहीबार राती ग्राउन्डेड भएको विमान मर्मत गरेरमात्रै उडाउनुपर्ने भएकाले यो विमान केहिदिन ग्राउन्डेड हुने बताएका छन्।

निगमको विमान ग्राउन्डेड भएका केही घटनाहरु
निगमसँग भएका दुईटा एयरबस न्यरोबडी विमानमध्ये काठमाडौंमा चरासँग ठोकिएर जहाज ग्राउन्डेड भएको यो दोस्रो घटना हो। यसअघि ०७३ असारमा निगमको ‘लुम्बिनी’ नाम दिइएको न्यारोबडी विमानमा चरा ठोक्किँदा ११ दिन काठमाडौंमै ग्राउन्डेड हुन पुगेको थियो।

क्याप्टेनद्वय रविन्द्रपुरुष ढकाल र प्रदीप राजभण्डारीले हङकङकालागी उडाउन लाग्दा भएको उक्त घटनामपछि मर्मत गर्न कम्तीमा एक करोड खर्च लागेको थियो। विमान मर्मत गर्न एयरबसले आफ्ना इन्जिनियर काठमाडौं पठाएको थियो।

चरासँग ठोकिएको एक महिनापछि उक्त न्यरोबडी विमानको दिल्लीबाट काठमाडौं आउँदा धावनमार्गमा पांग्रा ब्रस्ट भएको थियो। क्याप्टेन विजय लामाले कमाण्ड गरेको विमानले टचडाउनपछिको रोल गरिरहेको बेला पछाडिको बाया पांग्रा ब्रस्ट भएको देखिएपछि विमानस्थलको टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलरले पाइलटलाई सावधान गराउँदै विमान रोकाएका थिए।

त्यसदिन एक घन्टा विमानस्थल बन्द गर्नुपरेको थियो भने एक दर्जन उडान डाइर्भट भएका थिए। यात्रुलाई पार्किङवेमा नल्याई टेयाक्सीवेमै ओर्लानु परेको थियो।

यसअघि ०७२ असोजमा हङकङबाट काठमाडौंकालागी तय भएको उडानमा क्याटरीङको गाडीले निगमको एयरबसको पछाडीको भागमा ठोकेर प्वाल पारिदिएपछि यो विमान हङकङमा एक साता ग्राउन्डेड भएको थियो।

यात्रु बोर्डिङ गराउनेक्रममा भएको उक्त घटना इन्जिनियरले निरीक्षण (प्रि–टेकअफ इन्सपेक्सन) का क्रममा पत्ता लगाएपछि थाहा पाइएको थियो। निगमका अनुसार, इन्जिनियरले बेलैमा जानकारी नगराएको भए ठुलो दुर्घटना हुनसक्थ्यो। उक्त उडानमा क्याप्टेन विजय लामा नै थिए भने लुम्बिनी नामकै विमानमा यो घटना भएको थियो।

क्याप्टेन लामाले ०७३ कार्तिकमा इन्जिनको काउलिङ्गमा रहने रिर्भसर लक नझिकेरै काठमाडौंबाट दुवईको उडान गरेका थिए। ‘क्याप्टेन लामाले पनि भेउ नै पाएन छन्। उताका विदेशी इन्निनियरले अटोम्यासेज हेरेर थाहा पाएपछी लक झिकियो,’ निगमका एक अधिकारीले भने, ‘यदी काठमाडौं जस्तो सानो धावनमार्ग भइदिएको भए दुर्घटना हुनसक्थ्यो।’ यसमा इन्जिनियरको पनि कमजोरी देखिन्छ।


बिहीबार चरासँग ठोक्किएको विमानमा तीनपटक इन्जिनमा गम्भीर समस्या ब्यहोर्दै कम्तीमा एक सातादेखी दुई महिनासम्म ग्राउन्डेड हुँदै आएको निगमको दोस्रो न्यारोबडी विमान सगरमाथा हो।

निगमका अनुसार, यही विमानको इन्जिनमा समस्या देखिएपछि साउनमा कतारको राजधानी दोहामा करिब दुई साता ग्राउन्डेड भएको थियो। उक्त उडानमा क्याप्टेन गौतम बेनर्जी र कोपाइलट अरविन्द पहाडी थिए।

त्यसअघि जेठमा क्याप्टेन नरबहादुर विश्वकर्मा र कोपाइलट अरविन्द पहाडीले नै दिल्लीकालागी गरेको उडानमा विमानको कम्प्रेसर भेनमा समस्या देखिएपछि एक साता त्यहाँ ग्राउन्डेड भएको थियो।

सबैभन्दा धेरै यो विमान भारतमा दुई महिना थन्किएको थियो। क्याप्टेन श्रवण रिजालले कमाण्ड गरेको विमानको इन्जिन अन्र्तगत टरबाइन कम्प्रेसर तथा भेनमै समस्या आएपछि गत वर्ष (०७४–पुस) मा दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको थियो। यी घटनाको छानबिन गर्न पर्यटन मन्त्रालयले सहसचिव सुरेश आचार्यलाई तोकेको थियो। तर, उनको समितिले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेकै छैन।

सगरमाथा नामको यो विमानमा देखिएका यी प्राविधिक घटनाअघि सबैभन्दा पहिले ०७३ भदौं २६ गते आफ्नै टायरबाट उप्किएको चोक्टा उछिट्टीएर पखेटामा हुने फ्ल्याप र अन्य सेन्सर सिस्टम ड्यामेज भएपछि क्याप्टेन सुवर्ण अवालेले काठमाडौंकालागी उडेको २५ मिनेटमै दिल्ली विमानस्थलमा आकस्मिक अवतरण गराएका थिए।

प्रकाशित : भाद्र २२, २०७५ १३:२७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

ट्रेड युनियन र मालिकलाई पनि टिप

‘हान र रेवानलाई नै थाहा छैन नयाँ व्यवस्थाबारे’
सुरज कुँवर

काठमाडौँ — होटल तथा रेस्टुरेन्टमा खानपानपछि बिलमा उठेको रकममा उपभोक्ताले तिर्दै आएको १० प्रतिशत सेवा शुल्कबाट अब ट्रेड युनियन र व्यवसायी पनि लाभान्वित हुने भएका छन् ।

मजदुरलाई लक्ष्य गरी सुरु गरिएको सेवा शुल्कबाट मजदुर संगठनका नेता र रेस्टुेन्टका मालिक पनि पालिने भएका हुन् ।

सरकारले श्रम नियमावलीमार्फत यो रकमलाई होटल/रेस्टुरेन्टका मालिक र त्यहाँ कार्यरत मजदुरबाहेक मजदुर र मालिकका संगठनलाई पनि बाँडफाँट गर्नुपर्ने बनाइदिएको छ । असार ८ गतेको राजपत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तर्फबाट जारी गरिएको सूचनामा दस प्रतिशत सेवा शुल्कलाई शत प्रतिशत मानेर चार भाग लगाइएको छ ।

यसमा आधिकारिक ट्रेड युनियनलाई साढे दुई प्रतिशत, होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूको संगठनलाइ साढे २ प्रतिशत गरी पाच प्रतिशत मालिक र मजदुर नेताका संगठनलाई भागबन्डा गनुपर्नेछ । बाँकी ९५ प्रतिशतमध्ये होटल/रेस्टुरेन्टमा कार्यरत मजदुरलाई ७१ प्रतिशत र रोजगारदाताले २४ प्रतिशत भाग लिनेछन् ।

रेस्टुरेन्ट व्यवसायीहरूको छाता संगठन (रेबान) का पदाधिकारीका अनुसार सेवा शुल्क उपभोक्ताले अनिवार्य तिर्नुपर्ने रकम होइन । छिमेकी मुलुक भारतमा रेस्टुरेस्टमा खानपानपछि कुल बिल रकमको अढाई प्रतिशत प्रदेश र अढाई प्रतिशत केन्द्रीय सरकारलाई कर तिर्नुपर्छ ।

‘भारतमा मोदी सरकारले डेढ वर्षअघि बाध्यकारी सर्भिस चार्जलाई हटाउँदै ऐच्छिक बनायो तर हाम्रो देशमा उपभोक्ताले १० प्रतिशत सर्भिस चार्ज र १३ प्रतिशत भ्याट गरी २३ प्रतिशत थप तिर्नुपर्छ,’ राजधानीमा चेन रेस्टुरेन्ट सञ्चालन गर्दै आएका ती व्यवसायीले भने ।

रेबानका अध्यक्ष प्रमोद जैसवालले आफूहरूसँग छलफल नै नगरी कानुन बनाई सेवा शुल्क ल्याएको बताए । ‘यसमा हाम्रो विरोध छ,’ ४ सय रेस्टुरेन्टहरूको संगठनका केन्द्रीय अध्यक्ष जैसवालले भने, ‘यसबारे श्रम सचिव महेश दहाल र पर्यटन सचिव कृष्ण देवकोटालाई भेटैरै विरोध जनाइसकेका छौं । जैसवालले सरकारी अधिकारीहरूले पनि यो नियम कसरी आयो, कसले ल्यायो भन्नेबारे आफूहरू अनविज्ञ भएको बताए ।

‘माओवादी र एमालेको सरकार भएकाले यी दुई दल निकट संगठनका केन्द्रीय मजदुर नेताको दबाबमा यो नियम आएको रेबानको अनुमान छ । फाइभ स्टारसहित २ सय ५० हाराहारी होटलहरूको संगठन (हान) र रेबान सर्भिस चार्जको विषयमा मजदुरहरूले नौ महिना अघिदेखि गर्दै आएका संघर्षका कार्यक्रमको समाधानका लागि सँगै थिए ।

पछिल्लोपटक एकाएक राजपत्रमै सूचना आएपछि आफूहरू हानसँगको सहकार्यबाट अलग्गिएको रेबान अध्यक्ष जैसवालले बताए । ‘यो हानका केही सीमित व्यक्तिको स्वार्थमा आएको नियम हो । हामीलाई फसाइएको छ,’ जैसवालले भने, ‘हामीले हानले नेतृत्व गरेको मजदुरसँगको वार्ता छाडेर हिँडिसकेका छौं । यसमा हाम्रो असहमति छ ।’

हानका अध्यक्ष अमरमान शाक्यले पनि श्रम ऐनमै आएको यस विषयबारे आफ्नो संगठन पनि अनविज्ञ रहेको बताए । ‘सर्भिस चार्जको पक्षमा हामी छैनौं । कसरी आयो हामीलाई नै जानकारी छैन,’ शाक्यले भने ।

नेपालमा पहिलोपटक ०६४ माघदेखि रेस्टुरेन्ट तथा होटलमा १० प्रतिशत सेवा शुल्कको नियम लागू भएको थियो । लोकतन्त्रलगत्तै माओवादी निकट मजदुर संगठनको बोलवालामा ५ वटा ट्ेरड युनियनसँग रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपालले रेस्टुरेन्ट सेवामा १० प्रतिशत सेवा शुल्क लागू गरेको थियो ।

त्यसअघि उपभोक्ताहरूले सेवाबाट सन्तुष्ट भएमा मात्रै टिप्स दिने गर्थे । त्यसै टिप्सलाई मजदुरहरूले अनिवार्य १० प्रतिशत बनाउने कागज गरेका थिए । सरकारले नियमै बनाएको भने थिएन । त्यसबेला सर्भिस चार्जबाहेक मजदुर नेताहरूले तलबमा ग्रेड, सेवा गुणस्तरलगायतका विषयमा सहमति गरेका थिए ।

प्रकाशित : भाद्र २२, २०७५ ०८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT