कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

करबाटै दर खाएपछि अर्धनग्न जुलुस

दमक — जनताको करबाट जनप्रतिनिधिले तीजको दर खान लागेको भन्दै भद्रपुर नगरपालिकामा अर्धनग्न जुलुस प्रदर्शन गरिएको छ । चौतर्फी आलोचनाबीच नगरपालिकाले तीज विशेष कार्यक्रमको आयोजना गरेपछि स्थानीय युवाले शुक्रबार विरोधमा अर्धनग्न जुलुस प्रदर्शन गरे ।

करबाटै दर खाएपछि अर्धनग्न जुलुस

भद्रपुर ३, पृथ्वीनगरका बिकेन लिम्बू नेतृत्वमा अर्धनग्न विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनमा चेतनशील युवा समूहका युवा सहभागी थिए ।

उनीहरू भद्रपुर बसपार्कबाट अर्धनग्न जुलुससहित बजार परिक्रमा गर्दै नगरपालिका कार्यालयतर्फ गएका थिए तर सुरक्षाकर्मीले उनीहरूलाई नगरपालिका कार्यालय पुग्न दिएन ।


प्रदर्शनमा युवाले नगरपालिका र प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । उनीहरूले शान्तिपूर्ण प्रदर्शन गर्न पाउनुपर्ने अधिकार सुरक्षाकर्मीले हनन गर्न नमिल्ने जिकिर गरेका थिए । उनीहरूले जनताबाट उठाएको करबाट तीजको दर खान नमिल्ने, धर्म, संस्कारका नाममा राजनीति गर्न खोजेको आरोप लगाए ।


नगरपालिकाजस्तो जिम्मेवार निकायले कुनै एउटा धर्म विशेषलाई मात्र प्राथमिकतामा राख्न नमिल्ने लिम्बूको भनाइ छ । ‘सबै धर्म, संस्कार र संस्कृति समान छन् । तीज मनाउने तर अन्य धर्मको संस्कृति नमनाउने संस्कार बसाल्नु हुँदैन,’ उनले भने, ‘त्यसैले सबै धर्म एक हो, सबै धर्मलाई सम्मान गर्न सक्नुपर्छ ।’


डीएसपी जितेन्द्रकुमार बस्नेतको पहलमा प्रदर्शनकारी र नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठबीच वार्ता भएको थियो । नगर प्रमुख श्रेष्ठले नगरपालिकाले कुनै एक जाति विशेषलाई मात्र प्राथमिकता नदिएको बताए ।

प्रकाशित : भाद्र २२, २०७५ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?