कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

देवेगौडाको काठमाडाैंमा एक दिन

काठमाडौँ — बिहानै उनी पशुपति पुगे । मूल भट्ट रावल गणेशलाई भेटे । केहीबेर कर्नाटकामा बोलिने कन्नड भाषामै कुरा गरे । त्यसपछि सुरु भयो, पशुपतिमा विशेष पूजा ।

देवेगौडाको काठमाडाैंमा एक दिन

लाखबत्तीसहितको पूजापाठपछि भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडा बिहीबार राति चेक इन गरेको होटल हायात फर्किए । त्यहाँ उनलाई भेट्न पुगेका थिए, कांग्रेस नेता प्रकाशमान सिंह, नेकपाका राजेन्द्र पाण्डे र राप्रपाका सुरेश आचार्य ।

उनीहरूसँग नेपाल–भारत दुईपक्षीय विषयमा कुराकानी भएको अन्तर्राष्ट्रियमैत्री समाज नेपालका अध्यक्ष प्रदीप खनालले बताए । सन् १९९६ देखि ९७ सम्म १० महिनाका लागि प्रधानमन्त्री भएका बेला नेपालसँग महाकाली सन्धि गरेका देवेगौडालाई होटल द्वारिकाजमा लञ्चको प्रबन्धका साथ पर्खिरहेका थिए– पूर्वप्रधानमन्त्री माधव नेपाल, लोकेन्द्रबहादुर चन्द र चुनावका लागि गठन भएको अन्तरिम सरकारका मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी । कांग्रेसनेत्री सुजाता कोइराला, नेकपाका दीनानाथ शर्मा र कृष्णगोपाल श्रेष्ठ पनि उनलाई भेट्न द्वारिकाजमै पुगे ।

‘त्यहाँ उहाँहरूबीच ४५ मिनेटजति वार्ता भयो,’ खनाल भन्छन्, ‘भारत, नेपाल, सार्क र बिमस्टेकलगायत विषयमा कुरा भए ।’ उनका अनुसार देवेगौडाले नेपालमा स्थिरता आएकामा प्रसन्नता प्रकट गर्दै नेताहरूलाई मिलेर विकास गर्न सुझाएका थिए ।

नेपालका पूर्वप्रधानमन्त्रीहरूसँगको मैत्रीपूर्ण भेटघाटपछि भारतीय दूतावासमा केही समय बिताएर साँझ ५ बजे दिल्ली फर्कने देवेगौडाको योजना थियो । ‘तर दूतावास नपुग्दै उहाँलाई प्रधानमन्त्री केपी ओलीबाट भेटघाटका लागि खबर आयो,’ खनालले भने ।

निम्तोलाई खुसीसाथ स्विकार्दै उनी ओलीसँग शिष्टाचार भेटघाटका लागि बालुवाटार पुगे । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार देवेगौडाले ओलीलाई बिमस्टेक शिखर सम्मेलन सफलतासाथ सम्पन्न गर्न सकेकामा बधाई दिएका थिए ।

जवाफमा ओलीले जलमार्ग, रेलमार्ग र कृषिमा दुई देशका प्रधानमन्त्रीको भ्रमणले ठूलो प्रगति भएको भन्दै खुसी प्रकट गरे । बिहीबार राति काठमाडौं आएका ८६ वर्षीय देवेगौडाको एक दिन पूजाआजा र बाक्लो भेटघाट गर्दागर्दै सकियो । साँझ ५ बजे उनी भारत फर्किए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक सम्मेलनमा आएको मौका पारी पशुपतिमा विशेष पूजा गरेर फर्किएको साता नबित्दै पूर्वप्रधानमन्त्री देवेगौडाले पनि त्यसै गरे ।

धर्मनिरपेक्ष भारतमा धेरै हिन्दु धर्मावलम्बी छन् र नेपालका केही धार्मिक पीठप्रति उनीहरूको अगाध आस्था छ । पशुपति, मुक्तिनाथ र रामजानकी मन्दिर आस्थाका मुख्य केन्द्र हुन् ।
प्रधानमन्त्रीका हैसियतमा चारपटक नेपाल आइसकेका मोदीले चारैपटक पशुपति दर्शन गरे भने एकपटक रामजानकी र मुक्तिनाथ पुगे ।

भदौ १६ गते मोदी भारत उड्नु केही घण्टाअघि नेपाल आएका भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धी यतिखेर मानसरोवर दर्शनमा छन् । आसन्न चुनावलाई ध्यानमा राखेर यी भ्रमण भएको विश्लेषकहरू बताउँछन् । ‘धार्मिक आस्था भएका मानिसलाई यसखालका गतिविधिले केही न केही प्रभाव अवश्यै पार्छ,’ पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य भन्छन्, ‘अहिले भइरहेको पशुपति र मानसरोवरको तीर्थ यस्तै प्रभाव पार्नका लागि हो ।’

प्रकाशित : भाद्र २३, २०७५ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?