बाटैमा सुत्केरीको मृत्यु

मेनुका ढुंगाना

काठमाडौँ — समयमै उपचार नपाउँदा अछामको दुर्गम गाउँकी एक गर्भवतीले कलिलै उमेरमा ज्यान गुमाएकी छन् । पञ्चदेवल विनायक नगरपालिका–२ की २३ वर्षीया चन्द्रा धामीको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल हुँदै नेपालगन्ज लाने क्रममा शुक्रबार बाटैमा निधन भएको हो ।

रगतको कमी भई बिरामी धामीको जीउमा कम्पन आएको थियो । तर, परिवारले भने केही लागेको होला भन्दै सुरुमा धामीझाँक्रीलाई देखाएका थिए । कम्पन नथामिएपछि २ दिनपछि मात्र उनलाई स्वास्थ्य चौकी पुर्‍याइएको थियो ।

‘सुरुमै जिल्ला अस्पताल ल्याउन सकेको भए पनि बिरामी बच्न सक्ने थियो,’ जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत झनराज ढुंगानाले कान्तिपुरसँग भने । गर्भवती धामीको पेटभित्र जुम्ल्याहा बच्चा रहेकोमा जिल्लामा ल्याइपुर्‍याउँदा एक बालकको मृत्यु भइसकेको थियो । ‘बिरामीमा एक्लामसिया (रगत कम हुने) समस्या थियो,’ ढुंगानाले भने । जिल्लामा प्रसूति रोग विशेषज्ञ छैनन् । विशेषज्ञ चिकित्सक नहुँदा जिल्लाले पनि सामान्य उपचारपछि धनगढी वा नेपालगन्ज पठाउने गरेको छ । स्वास्थ्यका अत्याधुनिक उपकरणसहित विशेषज्ञ जिल्लामै रहे प्रसूतिका बिरामी कम जोखिममा पर्ने उनी बताउँछन् ।

‘त्यहाँमाथि गाउँमा अझै अन्धविश्वास छ । गर्भवतीको नियमित उपचार पनि हँुदैन । केही भइहाल्यो भने पनि सुरुमा डाक्टरभन्दा धामीझाँक्री खोजिन्छ,’ स्थानीय तपेन्द्र धामीले भने । मृतक धामीको उपचारका क्रममा समयमै रगत बढाउने औषधि, भेन्टिलेटरलगायत उपकरण जिल्लामा उपलब्ध भएनन् । धनगढीका सरकारी अस्पतालमा समेत भेन्टिलेटर नभएको, निजी स्वाथ्य संस्थामा महँगो हुने भएकाले सबै बिरामीको पहुँच नहुने ढुंगानाले बताए ।

उपचार खर्चसमेत जुटाउन नसक्ने अवस्था देखेपछि जिल्ला अस्पताल मंगलसेनले बिरामी धामीलाई नेपालगन्ज रिफर गरेको थियो । धनगढीको निजी स्वास्थ्य संस्थामा उपचार गराउन वा हेलिकप्टरबाट तत्काल सुविधासम्पन्न अस्पतालमा पुर्‍याउन सक्ने आर्थिक अवस्थासमेत परिवारको थिएन ।

Yamaha

प्रकाशित : भाद्र २४, २०७५ ०७:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एभरेस्ट टाइम्सको १० औं वार्षिकोत्सवमा च्यारिटी कार्यक्रम आयोजना

कान्तिपुर संवाददाता

लन्डन — बेलायतबाट प्रकाशित हुँदै आएको एभरेस्ट टाइम्सले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा च्यारिटी कार्यक्रम गरेको छ  । उक्त पत्रिकाले अल्डरसटस्थित एम्पायर हलमा शुक्रबार च्यारिटी कार्यक्रमसहित वार्षिकोत्सव मनाएको हो । च्यारिटीबाट संकलित रकम नेपालमा क्रियाशील अपांगता भएका महिला पत्रकारहरुलाई पुरस्कृत गरिने एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक दुत पुनले जानकारी दिए ।  


कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, गैरआवासीय नेपाली संघ आइसीसीका उपाध्यक्ष कुल आचार्य, बेलायतमा क्रियाशील विभिन्न संस्थाका अध्यक्ष, प्रतिनिधिहरुको सहभागिता थियो।

कुलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाको १०औं वार्षिकोत्सवको विशेष प्रकाशन विमोचन गरिएको थियो।

एभरेस्ट टाइम्स साप्ताहिकले बेलायतवासी नेपाली समुदायका गतिविधि र नेपालका समसामयिक विषयवस्तु समेट्दै आएको छ।

प्रकाशित : भाद्र २४, २०७५ ०३:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT